Budget not address Earthquake damaged projects

    1204

    काठमाडौं/ स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले भूकम्पबाट क्षति पुगेका जलविद्युत् परियोजनालाई चालू आर्थिक वर्षको बजेटले सम्बोधन गर्न नसकेको बताएको छ । इप्पानले चालू आवको बजेटप्रति आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएको हो ।
    इपानले भूकम्प तथा बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनालाई बजेटले कुनै सहयोग एवं राहतको व्यवस्था नगरेकोप्रति आपत्ति जनाएको छ । ‘भूकम्प एवं बाढीका कारण क्षतिग्रस्त भएका जलविद्युत् आयोजनाका लागि यस वर्षको बजेटमा कुनै नीतिगत व्यवस्था, सहयोग एवं राहतको व्यवस्था नभएकामा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था असहमति व्यक्त गर्दछ,’ इपानले भनेको छ ।
    इपानले भूकम्प र त्यसपछि आएको बाढीपहिरोले विद्युत् उत्पादन गरिरहेका, निर्माणाधीन चरणमा रहेका, उत्पादन अनुमतिपत्र प्राप्त गरी वित्तीय व्यवस्थापन चरणमा रहेका र सम्भाव्यता अध्ययनको चरणमा रहेका जलविद्युत् आयोजनाहरू प्रत्यक्ष रूपमा गम्भीर असर परेको जनाएको छ ।
    यसबाट करिब १९ वटा निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरू प्रत्यक्ष रूपमा प्रभावित हुन पुगेको छ । सोही कारण १४ वटा आयोजना बन्द भई हालसम्म कुल ८० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिनबाट वञ्चित हुन पुगेको इपानको दाबी छ । पिडिएनएले भूकम्पबाट जलविद्युत्मा क्षति पुगेको उल्लेख गर्दासमेत बजेटले त्यसलाई सम्बोधन नगरेकामा इपानले असहमति जनाएको हो ।
    यद्यपि बजेटमा आएका कतिपय नीति तथा कार्यक्रम भने स्वागतयोग्य भएको इपानको धारणा छ । सरकारले गरेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीबाट निजी क्षेत्रलाई समेत सहभागी गराई निर्माण र हस्तान्तरण विधिमा प्रसारण लाइनहरूको निर्माण गरिने तथा राष्ट्रिय प्रसारण प्रणालीका केही प्रसारण लाइनहरू तत्काल राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा हस्तान्तरण गरिने प्रतिबद्धता स्वागतयोग्य भएको इपानको भनाइ छ ।
    त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्युत् व्यापारका लागि आवश्यक विद्युत् व्यापार कम्पनी स्थापना गरिने प्रतिबद्धता र जलविद्युत्मा लगानी वृद्धि गर्न जलविद्युत् लगानी तथा विकास कम्पनीलाई पुनर्संरचना गरिने व्यवस्थासमेत स्वागतयोग्य भएको इपानले बताएको छ ।

    @ नयाँ पत्रिका