काबेली ‘बी–१’ अन्तिम चरणमा

    1368

    ताप्लेजुङ, फागुन ६ गते । ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली खोलाबाट उत्पादन गर्न लागिएको काबेली ‘बी–१’ आयोजना अन्तिम चरणमा पुगेको छ । २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भएसँगै अन्तिम चरणमा पुगेको हो ।

    आयोजना २०७२ मङ्सिरदेखि अरुण काबेली पावर लिमिटेड कम्पनीद्वारा निर्माण भइरहेको छ । यहीँ फागुन मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको कामलाई तीव्रता दिएसँगै हालसम्ममा उक्त प्रगति हासिल गरेको आयोजनाका जनसम्पर्क अधिकृत डिल्ली सुवेदीले जानकारी दिनुभयो ।

    जनसम्पर्क अधिकृत सुवेदीका अनुसार आयोजना निर्माणको हालसम्म बाँध निर्माणको कार्य करिब ९६ प्रतिशत सम्पन्न भइसकेको छ । यस्तै पाइपलाइनमा पाँच हजार मिटरमध्ये चार हजार आठ सय मिटर जति पाइप बिछ्याउने कार्य सम्पन्न भएको र विद्युत्गृह निर्माणको कार्य पनि करिब सम्पन्न भइसकेको सुवेदीले जानकारी दिनुभयो । उहाँले हाल विद्युत्गृहमा मेसिन जडानको कार्य भइरहेको बताउनुभयो । बाँध निर्माण, पाइप बिछ्याउने कार्य, विद्युत्गृह लगायत आयोजनाको मुख्य काम करिब सम्पन्न भएको उहाँले बताउनुभयो ।

    यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले हाल निर्माण गरिरहेको काबेली कोरिडोर १३२ केभीए डबल सर्किट लाइनमा जडान गरिने छ । त्यसका लागि पाँचथरको हिलिहाङ–१ स्थित अमरपुरमा रहेको सब–स्टेसनसम्म ट्रान्समिसन लाइनको १६ मध्ये १० वटा टावर निर्माण गरिसकिएको आयोजनाले जनाएको छ । बाँकी कार्य भइरहेको र काबेली करिडोरको कार्य सम्पन्न भएमा आगामी वैशाखमा आयोजनाको परीक्षण गर्ने सोच रहेको जनसम्पर्क अधिकृत सुवेदीले बताउनुभयो ।

    कुल चार अर्ब रुपियाँको लागतमा निर्माण गर्न लागिएको आयोजनाका लागि कम्पनीको स्वमित्वसहित संस्थापक सेयरधनीको ७० प्रतिशत, स्थानीय तथा परियोजना प्रभावित क्षेत्रका जनताको १० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको २० प्रतिशत लगानी रहेको छ ।

    सुवेदीका अनुसार संस्थागत सेयरवालामा नबिल बैङ्क लिमिटेड, लक्ष्मी बैङ्क लिमिटेड, ग्लोबल आईएमई बैङ्क लिमिटेड,  एभरेस्ट बैङ्क लिमिटेड र जलविद्युत् विकास तथा लगानी कम्पनी रहेका छन् । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. १, थुम्बेदिन र पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ४, थर्पू पुछार त्रिवेणी दोभानमा आयोजनाको मुहान अर्थात बाँधस्थल र पाँच हजार एक सय मिटर (५.१ किमी) टाढा पाँचथरको याङ्वरक–६, नागीको पिपलबोटेमा पावरहाउस (विद्युत्गृह) रहेको छ ।

    स्रोत:गोर्खापत्र