नेपालमा अब लोडसेडिङ टर्‍यो, उद्योगमा आपूर्ति बढाउने प्राधिकरणको तयारी

    1922

    काठमाडौं ।  विभिन्न शंका र चर्चाबीच नेपाल विद्युत् प्राधिकरणको कुशल व्यवस्थापनले गर्दा यो वर्ष विद्युत्भार कटौती (लोडसेडिङ) टरेको छ ।

    अर्को वर्षदेखि विभिन्न आयोजनाबाट उत्पादित बिजुली थप हुने भएकाले पनि नेपालमा लोडसेडिङ अब टर्दै गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    तिहारदेखि प्राधिकरणले काठमाडौं उपत्यकालगायत वनेपा, धुलिखेल र पाँचखाललाई लोडसेडिङमुक्त बनाउने अभियान सुरु गरेको थियो ।
    विस्तारै मुलुलकभर नै आधारभूत रुपमा लोडसेडिङ हटाउन सफल भएको छ ।

    उपत्यका बाहिर पनि अहिले दैनिक बढीमा २ घण्टासम्म मात्र लोडसेडिङ भएको छ ।

    विद्युत् प्राधिकरणको कुशल व्यवस्थापन, आपूर्ति प्रणालीमा सुधार, आयोजनाको उत्पादनमा वृद्धि र विद्युत् आपूर्तिमा सन्तुलन कायम गर्दा प्रणालीमा अझै ३८० मेगावाट अपुग हुँदा पनि मुलुक आधारभूत रुपमा लोडसेडिङमुक्त भएको छ ।

    लोडसेडिङ हुने अनुमान गरिएका महिना पनि सकिन लागेकाले अब यो वर्ष लोडसेडिङ टरेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।

    बाह्रखरीसँग कुरा गर्दै उनले भने “मध्य फागुन जस्तो जटिल महिनामा पनि सहज रुपमा पार भएकाले अब लोडसेडिङको संभावना छैन र हुँदैन पनि ।” आउँदो चैत १५ गतेदेखि तापक्रम वृद्धिसँगै हिउँ पग्लन थाल्ने र यसले कालिगण्डकी, मर्स्याङ्दी लगायत अन्य हिमनदीमा पानीको वहाब बढ्दै जाने भएकाले बिजुली उत्पादनमा सुधार आई सहज वातावरण बन्न लागेको उनले स्पष्ट पारे ।

    नियमित रुपमा आपूर्ति हुन थालेपछि बिजुलीको मागमा पनि कमी आएको उनले जानकारी दिए । अधिकारीका अनुसार हाल विद्युतको माग साँझ (पिक आवर) मा १ हजार २३५ मेगावाट छ । भारतबाट समेत गरी हाल ८५५ मेगावाट आपूर्ति भइरहेको छ ।

    उनका अनुसार प्रणालीमा अझै ३८० मेगावाट अपुग छ । यस्तै काठमाडौं उपत्यकामा साँझको बेला बिजुलीको माग ३०६ मेगावाट छ । विद्युत प्राधिकरणका आयोजनाबाट ३४०, भारतबाट ३७८ र निजी आयोजनाबाट १३७ मेगावाट आपूर्ति भइरहेको छ । आउँदो एसएलसी परीक्षालाई दृष्टिगत गरी ऊर्जाको माग व्यवस्थापन गरेको प्राधिकरणले जनाएको छ ।

    यो वर्ष १४२ मेगावाट बिजुली थप हुँदैछ । यसमध्ये ९७ मेगावाट थप भइसकेको छ । जसअनुसार ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए, ३५ मेगावाटको मादी, १५ मेगावाटको हेवा खोला ए, ६ मेगावाटको दरौदीलगायत आयोजना सम्पन्न भइसकेका छन् ।

    यस्तै अर्को वर्ष ४५६ मेगावाटको तामाकोसीबाहेक प्रणालीमा २४५ मेगावाट थप हुँदैछ । तामाकोसीको पहिलो युनिटबाट आगामी ०७५ को असार अन्त्यसम्ममा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ ।

    पछिल्लो समयमा नियमित रुपमा ऊर्जा आपूर्ति भएपछि यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा पर्ने भएको छ । नियमित रुपमा ऊर्जा आपूर्तिले चालु आर्थिक वर्षमा औद्योगिक उत्पादन बढ्ने नेपाल राष्ट्र बैंकले बताईसकेको छ ।

    नियमित रुपमा विद्युत आपूर्ति भएपछि उत्पादन लागत घटेको, डिजेल खपतमा कमी र उत्पादकत्व बढेकाले देशको आर्थिक वृद्धिमा औद्योगिक क्षेत्रको योगदान केही बढ्ने प्रक्षेपण राष्ट्र बैंकको छ ।

    उद्योगमा आपूर्ति बढाउने तयारी 

    विद्युत् प्राधिकरणले सर्बसाधारणलाई लोडसेडिङमुक्त गर्न सफल भएपछि अब उद्योगलाई नियमित रुपमा विद्युत् आपूर्ति बढाउने तयारी गरेको छ ।

    हाल विराटनगर औद्योगिक क्षेत्रमा दैनिक ६, वीरगन्ज हेटौंडा औद्योगिक करिडोरमा दैनिक ८ र भैरहवा औद्योगिक क्षेत्रमा दैनिक ७ घण्टा लोडसेडिङ भइरहेको छ ।

    काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा लोडसेडिङ भएको छैन् । नेपालगन्ज औद्योगिक क्षेत्रमा दैनिक २ घण्टा हाराहारीमा मात्र लोडसेडिङ भइरहेको छ ।

    परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनबाट बिजुली आयात गरेर वीरगन्ज–हेटौडा औद्योगिक करिडोरलाई लोडसेडिङमुक्त बनाउने तयारी भएको प्रवत्ता अधिकारीले जानकारी दिए ।

    यस्तै कटैया–कुसाह १३२ केभी नयाँ प्रसारणलाइनबाट पनि थप ५० मेगावाट बिजुली आपूर्ति गरी विराटनगर औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त बनाउने उनले योजना सुनाए ।

    यसका लागि भारतको एनभीभीएन विद्युत व्यापार निगम लिमिटेडसँग छिटै छलफल गरी व्यापारिक मूल्यमा थप बिजुली खरिद गरिने उनले स्पष्ट पारे ।

    कटैया–कुसाहबाट ५० मेगावाट बिजुली आपूर्ति बढाउन सकिए पनि परवानीपुर–रक्सौल क्षेत्रमा कम आपूर्ति हुने उनले जानकारी दिए । हाल त्यस क्षेत्रमा विद्युतको प्रणाली सुधारको काम भइरहेकाले कम आपूर्ति हुने भएको छ ।

    ऊर्जामन्त्री जनार्दन शर्माले वीरगन्ज हेटौंडा औद्योगिक करिडोरलाई छिट्टै लोडसेडिङमुक्त बनाउने घोषणा गरिसकेका छन् । काठमाडौ उपत्यका, पोखरा, चितवनलगायत धेरै क्षेत्र लोडसेडिङमुक्त भएको छ ।

    गत वर्ष भारतबाट ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । सरकारले लोडसेडिङ अन्त्य गर्न भारतबाट ५६० मेगावाटसम्म बिजुली आयातको लक्ष्य लिएको थियो ।

    खिम्ती–ढल्केबर २२० केभी र हेटौडा–कुलेखानी –स्युचाटार १३२ केभी प्रसारणलाइन सञ्चालनमा आएपछि माग व्यवस्थापन गर्न विद्युत प्राधिकरणलाई सहज भएको छ ।  काठमाडौमा बढी भएको बिजुली हेटौडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ  ।

    यो लाइन सञ्चालन भएपछि राजधानीमा थप बिजली आपूर्ति गर्न र बढि भएको बिजुली बाहिर पठाउन सहज हुनेछ । यस्तै राजधानी जोड्ने खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइन पनि सञ्चालनमा आएपछि तराइका वीरगञ्जलगायत अन्य शहरमा देखिएको भोल्टेजको समस्या समाधान भएको छ ।

    यसैबीच लगातार बिजुली आपूर्ति हुन थालेपछि उदयपुर सिमेन्ट नाफामा गएको छ ।  अन्य उद्योगको अवस्था पनि विस्तारै सुधार हुँदै गएको छ । अर्कोवर्ष देखि लोडसेडिङ नहुने निश्चित भएको प्राधिकरणले जनाएको छ ।

    स्रोत:बाह्रखरी