हेवा ए बाट विद्युत् उत्पादन सुरु, ट्रान्समिसन लाइन नबन्दा वार्षिक १७ करोड घाटा हुने

    2556

    पाँचथर पावर कम्पनीद्वारा हेवा खोलामा निर्माणाधीन ‘हेवा ए’ जलविद्युत् आयोजनाको काम सकिएको छ । १४.९ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ २०६९ मंसिरदेखि सुरु गरिएको आयोजना हालै सम्पन्न भएकोे आयोजना प्रमुख पुष्पज्योती ढुंगानाले जानकारी दिए ।

    “मुख्य काम सबै सकियो,” ढुंगानाले भने, “अहिलेसम्म ९९.५ प्रतिशत काम सकिएको हो ।” ड्राई टेस्टको काम पनि सकिएकाले काम सम्पन्न भएको बताइएको छ ।  झण्डै एक वर्ष अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको काम सक्न १० महिना ढिलो भएको हो ।

    निर्धारित समयमा आयोजनाको काम नसकिँदा आयोजना निर्माणमा लागत बढेको छ । “निर्माण अवधि लम्बिदा स्वाभाविक रुपमा लागत पनि बढेको हो,” ढुंगानाले भने ।

    दुई अर्ब २४ करोडको लागतमा काम सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको काम दुई अर्ब ५० करोडमा सम्पन्न भएको हो । समयमै काम सम्पन्न गर्न नसक्दा ३६ करोड लागत बढेको छ ।

    “भूकम्प र नाकाबन्दीका कारण समयमै काम सम्पन्न गर्न सकिएन,” ढुंगाना भन्छन्, “निर्माण अवधि बढेपछि लागत बढ्नु स्वाभाविक हो ।” भारतले लगाएको नाकाबन्दीका कारण इन्धन र निर्माण सामग्रीको अभावले काम प्रभावित भएको थियो । त्यस्तै भूकम्पले पनि काममा असर पारेको थियो । जसका कारण आयोजनाको काम सम्पन्न गर्न लागत बढेको हो ।

    बिक्री गर्न नपाउँदा वार्षिक १७ करोड घाटा 

    हेवा ए बाट विद्युत् उत्पादन सुरु भए पनि उत्पादित सबै विद्युत् बिक्री नहुने भएको छ  । १३२ केभीए क्षमताको कावेली करिडोरको काम नसकिएकाले हेवा ए बाट उत्पादन भएको सम्पूर्ण विद्युत् बिक्री गर्न नसकिने भएको हो ।

    ३३ केभीए प्रसारण लाइनबाट बिजुली बिक्री गर्नुपर्ने भएकाले नौ मेगावाट मात्र विद्युत् बिक्री गर्न सकिने ढुंगाना बताउँछन् । “काबेली करिडोरको काम सम्पन्न नहुँदा हामीले नोक्सानी बेहोनुपर्ने स्थिति छ,” उनले भने, “करिडोरको काममा ढिलासुस्ती गर्दा पाँचथरमा उत्पादित बिजुली बिक्री गर्न नसक्ने स्थिति आएको हो ।”

    यहाँ उत्पादित बिजुली तत्कालका लागि ३३ केभीए प्रसारण लाइनमा जोडेर इलाबाट मात्र १३२ केभीए प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । आयोजनाबाट उत्पादान भएको सम्पूर्ण विद्युत् बिक्री गर्न नपाउँदा वार्षिक १७ करोड घाटा हुने बताइएको छ ।

    कावेली करिडोरको काम नसकिएकाले ३३  केभीएबाट विद्युत् बिक्री गर्नुपर्ने भएकाले समस्या भएको हो । “नौ मेगावाट मात्र विद्युत् बिक्री गर्न सकिने भएको छ,” ढुंगानाले भने “क्षमताअनुसारको विद्युत् बिक्री गर्न नपाउँदा करोड नोक्सानी बेहोर्नु पर्ने भएको हो ।”

    उक्त आयोजना निर्माणका लागि आयोजना निर्माणका लागि स्थानीय मानिसको तीन करोड लगानी छ । त्यस्तै आयोजनामा कार्यरत कर्मचारीको दुई करोड र बाँकी रकम सानिमा बैंकको नेतृत्वमा अन्य ११ ओटा बैंकले लगानी गरेका छन् ।

    ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्थानीय बासिन्दा र अन्य लगानीकर्ताले लगानी गरेका हुन् ।  ३५ प्रतिशत यूबी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको, ३० प्रतिशत एक्सेस इन्भेस्टमेन्ट कम्पनी लिमिटेड काडमाडौंको, २० प्रतिशत मेगा भेन्चर प्रालिको र १५ प्रतिशत स्थानीय आगेजुङ विद्युत् कम्पनी लिमिटेडले लगानी गरेका हुन् ।

    स्रोत : कारोबार