Construction work halt after earthquake

यी आयोजनाको काम ठप्प

भूकम्पपछि रोकिएका दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, रसुवाको १११ मेगावाटको रसुवागढी, नुवाकोट र रसुवाको ६० मेगावाटको त्रिशूली थ्री–ए, सिन्धुपाल्चोकको १०२ मेगावाट क्षमताको चिलिमे आयोजनामा काम सुचारु भएका छैनन् । भूकम्प, परकम्प र बर्खाले काम रोकिएको थियो ।

बर्खाअघि सुचारु हुन नसक्ने
सबै आयोजनाको निर्माण तत्काल सुरु हुन सक्ने अवस्था छैन । अधिकांश आयोजनास्थलसम्म पुग्ने सडक सुक्खा पहिरोले पुरिएका छन् । केही आयोजनामा निर्माण सामग्रीमा समेत क्षति पुगेको छ । बर्खा लागेपछि लगातार पहिरो झरेकाले तत्काल काम थाल्न नसकिने आयोजनाका अधिकारीहरूको भनाइ छ ।

भूकम्पपछि कामदार फर्किएनन्
स्वदेश गएका कामदार सबै आयोजनाका मुख्य संरचना बाँध, विद्युत्गृह, सुरुङलगायतका निर्माण गर्ने ठेकेदार चिनियाँ कम्पनी छन् । भूकम्पपछि कामदार स्वदेश फर्केका कारण काम ठप्प भएको छ । ठेकेदार कम्पनीले भूकम्पबाट काबुबाहिरको परिस्थिति उत्पन्न भएको भन्दै सम्बन्धित आयोजनामा सूचना दिएर कामदारलाई स्वदेश फर्काएका थिए ।

फर्किन सकिन्न : कामदार
रसुवागढी जलविद्युत्मा काम गरिरहेका विदेशी कामदारहरू पनि भूकम्पपछि स्वदेश फर्किएका छन् । उनीहरू अझै फर्किएका छैनन् । ‘भूकम्पलगत्तै उद्धार गर्न नसक्दा तीन दिनसम्म कामदार आयोजनास्थलमै थुनिएकाले पनि उनीहरू आउन नमानेको ठेकेदार कम्पनीले बताइरहेका छन्,’ कम्पनीका प्रबन्ध सञ्चालक माधव कोइरालाले भने, ‘पुन: भूकम्प गएमा कसले उद्धार गर्छ भन्दै उनीहरू आउन मानेका छैनन् ।’

के भन्छन् आयोजना प्रमुखहरू ?

माथिल्लो तामाकोसी एक वर्ष ढिलो
आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ
पहिरोले आयोजना जोड्ने सडकमा ठूला–ठूला ढुंगा झारेको छ, खोलामा बाढी पनि आइरहेको छ । यस्तो अवस्थामा काम सुरु गर्न कसरी सकिन्छ ? यसले आयोजना करिब एक वर्ष ढिलो हुने अनुमान गरेका छौँ । सुरुङ, बाँध, विद्युत््गृहलगायतका भौतिक संरचनामा भने कुनै क्षति नपुगे पनि सडक ध्वस्त छ  ।

रसुवागढीको लागत बढ्छ
प्रबन्ध सञ्चालक माधव कोइराला
भूकम्पलगत्तै उद्धार गर्न नसक्दा तीन दिनसम्म कामदार आयोजनास्थलमै थुनिएकाले उनीहरू आउन नमानेको ठेकेदार कम्पनीले बताइरहेको छ । पुन: भूकम्प गएमा कसले उद्धार गर्छ भन्दै उनीहरू आउन मानेका छैनन् । ठेकेदार कम्पनीले आयोजनाको म्याद १७ महिना थप्न र करिब एक अर्ब ९० करोड रुपैयाँ क्षतिको दाबी गरेको छ, यस्तो अवस्थामा लागत पनि बढ्छ, ठेकेदार र परामर्शदाता कम्पनीसँग विस्तृत तालिका मागेका छौँ ।

फोर्स मेजरको क्षतिपूर्ति दिन सक्दैनौँ
माथिल्लो त्रिशूली थ्री–एका आयोजना प्रमुख उत्तम अमात्य
सरकार, विद्युत् प्राधिकरण र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री–एमा भएको क्षतिको यकिन गर्न एक्जिम बैंकको टोली आउन लागेको छ । आयोजनास्थलमा पहिरो गएकाले काम तत्काल सुरु हुन सक्ने अवस्था छैन । बर्खा सकिएपछि निर्माण सुचारु गर्न सक्ने अवस्थामा हुन्छौँ । ठेकेदारलाई फोर्स मेजरको क्षतिपूर्ति दिन सक्दैनौँ भनेर हामीले जानकारी गराएका छौँ, तर उसले मानिरहेको छैन ।

ठेकेदारले काम गर्न मानेको छैन
चिलिमेका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी
कुल अनुमानित लागत १२ अर्ब २८ करोड रुपैयाँको यो आयोजनाको निर्माण कार्य १६ पुस ०७३ मा सक्ने लक्ष्य थियो । तर, भूकम्पपछि मध्यभोटेकोसीको ठेकेदार चिनियाँ कम्पनीलाई परिचालन गर्न सकिएको छैन । हामी तत्काल परिचालन गर्न खोजिरहेका छौँ, तर भूकम्पको जोखिम देखाउँदै ठेकेदार कम्पनीले काम सुरु गर्न मानेको छैन ।

उत्पादन पनि बन्द
भूकम्पअघि सञ्चालनमा रहेका केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा रहेको करिब ४५ मेगावाटको भोटेकोसी, २.५ मेगावाटको सुनकोसी, १० मेगावाटको सुनकोसीलगायतका आयोजनाको उत्पादन बन्द छ । बन्द आयोजना सञ्चालन गर्ने काम अझै सुरु भएको छैन ।

काठमाडौं, ३ साउन
भूकम्प प्रभावित जिल्लामा निर्माणाधीन ठूला विकास आयोजनाको काम ठप्प भएको छ । काम सुचारु नहुँदा आयोजनाको लागत र निर्माण समय दुवै बढ्ने भएको छ । १२ वैशाखको भूकम्प र त्यसपछिको निरन्तर परकम्प र बर्खाले निर्माणाधीन जलविद्युत् आयोजनाको काम रोकिएका हुन् । सबै आयोजनाको निर्माण तत्काल सुरु हुन सक्ने अवस्था छैन ।
दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, रसुवाको १११ मेगावाटको रसुवागढी, नुवाकोट र रसुवामा पर्ने ६० मेगावाटको त्रिशूली थ्री ए, सिन्धुपाल्चोकको १०२ मेगावाट क्षमताको रसुवागडी आयोजनामा काम सुचारु भएको छैन । कामदार काम रोकेर स्वदेश फर्किएका छन् । यी सबै आयोजनाको मुख्य संरचना बाँध, विद्युत्गृह, सुरुङलगायतका निर्माणको ठेकेदार चिनियाँ कम्पनी छन् ।
ठेकेदार कम्पनीले भूकम्पबाट काबुबाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएको भन्दै सम्बन्धित आयोजनामा सूचना दिएर कामदारलाई स्वदेश फर्काएका थिए । भूकम्प भोगेका कामदार आएर पुन: काम थाल्ने सम्भावना कम छ ।
रसुवागढी जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक माधव कोइरालाले भूकम्पअघि काम गरिरहेका कामदारले पुन: आएर काम गर्न नसक्ने बताएको जानकारी दिए । ‘भूकम्पलगत्तै उद्धार गर्न नसक्दा तीन दिनसम्म कामदार आयोजनास्थलमै थुनिएकाले पनि उनीहरू आउन नमानेको ठेकेदार कम्पनीले बताइरहेका छन्,’ कोइरालाले भने, ‘पुन: भूकम्प गएमा कसले उद्धार गर्छ भन्दै उनीहरू आउन मानेका छैनन् ।’
भूकम्पले रसुवागढी आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको मृत्यु भएको थियो । आयोजनामा भूकम्प आएको दिन साढे दुई सयभन्दा बढी चिनियाँ मजदुरले काम गरेका थिए । सो आयोजना चिनियाँ सीमानजिकै पर्छ । नेपालका तर्फबाट तत्काल उद्धार हुन नसकेपछि चीनको टोलीले उनीहरूको उद्धार गरेको थियो । सो आयोजनामा काम गर्ने अधिकांश कामदारको पासपोर्ट हराएकाले झनै समस्या भएको छ । ठेकेदार कम्पनी सिडब्लुईका निर्माण उपकरणमा पनि क्षति पुगेको छ ।
रसुवागढी जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक कोइरालाले पहिरोको क्रम नरोकिएकाले निर्माण तत्काल सुरु गर्न सक्ने अवस्था नरहेको बताए । ‘ठेकेदार कम्पनीले आयोजनाको म्याद १७ महिना थप्न र करिब एक अर्ब ९० करोड रुपैयाँ क्षतिको दाबी गरेको छ, यस्तो अवस्थामा लागत पनि बढ्छ,’ कोइरालाले भने, ‘ठेकेदार र परामर्शदाता कम्पनीसँग विस्तृत तालिका मागेका छौँ ।’
करिब १४ अर्ब रुपैयाँ अनुमानित लागत रहेको सो आयोजना ०७४ जेठको दोस्रो साताभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको काम करिब २५ प्रतिशत मात्र भएको छ । माथिल्लो तामाकोसी आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले पनि आयोजनाको काम तत्काल सुचारु हुने सम्भावना नरहेको बताए । पहिरोले आयोजनास्थलसम्म पुग्ने सडक क्षतिग्रस्त बनाएकाले बर्खा नरोकिएसम्म काम सुचारु गर्न नसकिने उनको भनाइ छ ।
‘पहिरोले पहुँच सडकमा ठूला–ठूला ढुंगा झारेको छ, खोलामा बाढी पनि आइरहेको छ । यस्तो अवस्थामा काम सुरु गर्न कसरी सकिन्छ ?’ श्रेष्ठले भने, ‘यसले आयोजना करिब एक वर्ष ढिलो हुने अनुमान गरेका छौँ ।’ सो आयोजना निर्माण ३० असार ०७३ भित्र सक्ने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवको यो आयोजना माथिल्लो तामाकोसीको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ छ ।
आयोजनाका चारवटै ठेकेदार कम्पनीले ‘फोर्स मेजर’को सूचना दिँदै काम रोकेका छन् । आयोजनामा १२ वैशाखको भूकम्पबाट खासै क्षति पुगेको थिएन । २९ वैशाखको दोस्रो भूकम्पपछि पहिरो गएकाले सबै त्रसित भएका थिए । प्रमुख श्रेष्ठले आयोजनाको इन्टेक १७ सेन्टिमिटर भासिएको जानकारी दिए । ‘सुरुङ, बाँध, विद्युत््गृहलगायतका भौतिक संरचनामा भने कुनै क्षति नपुगे पनि सडक बिग्रिएको छ,’ उनले भने ।
भूकम्पअघि सिभिल, हाइड्रो मेकानिकल, मेकानिकल तथा इलेक्ट्रिकल र प्रसारण लाइन तथा सबस्टेसन निर्माण तीव्र रूपमा भएको थियो । आयोजनाको ठेकेदारमा सिभिलतर्फ चिनियाँ कम्पनी सिनो हाइड्रो, हाइड्रो मेकानिकलतर्फ भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ, मेकानिकल तथा इलेक्ट्रिकलतर्फ अस्ट्रियाको एन्ड्रिज हाइड्रो जिएमबिएच र प्रसारण लाइन तथा सबस्टेसनतर्फ भारतीय कम्पनी केइसी इन्टरनेसनल हुन् ।
विद्युत् प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ एको काम पनि तत्काल सुरु हुनसक्ने अवस्था छैन । यो आयोजना नेपाल सरकार, प्राधिकरण र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माणाधीन हो ।
आयोजना प्रमुख उत्तम अमात्यले क्षतिको यकिन गर्न एक्जिम बैंकको टोली आउन लागेको जानकारी दिए । ‘आयोजनास्थलमा पहिरो गएकाले काम तत्काल सुरु हुन सक्ने अवस्था छैन । विज्ञ टोली आएपछि विस्तृत अध्ययन हुन्छ । बर्खा सकिएपछि निर्माण सुचारु गर्न सक्ने अवस्थामा हुन्छौँ,’ अमात्यले भने, ‘ठेकेदारलाई फोर्स मेजरको क्षतिपूर्ति दिन सक्दैनौँ भनिरहेका छौँ, तर उसले मानिरहेको छैन ।’
सो आयोजना निर्माणको ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) हो । भूकम्पसँगै गएको पहिरोले ठेकेदारको स्काभेटर, डोजर, हेभी इक्विपमेन्ट, प्रयोगशालालगायतमा पूर्ण रूपमा क्षति पुगेको छ । पहिरोले बालुवा थिग्य्राउने बेसिनमा पनि क्षति भएको प्राधिकरणले जनाएको छ । आयोजनाको प्रवेशमार्ग पनि पहिरोले थुनेको छ ।
आयोजना निर्माण १६ असार ०७३ सक्ने लक्ष्य छ । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलअनुसार सिभिल संरचना विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न सिजिजिसीसँग ८ करोड ९१ लाख ८० हजार अमेरिकी डलरमा निर्माण ठेक्का सम्झौता भएको थियो । आयोजनाको निर्माण ८० प्रतिशत सकिएको छ ।
चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले भूकम्पपछि मध्यभोटेकोसीको ठेकेदार चिनियाँ कम्पनीलाई परिचालन गर्न नसकिएको बताए । ‘हामी तत्काल परिचालन गर्न खोजिरहेका छौँ, तर भूकम्पको जोखिम देखाउँदै ठेकेदार कम्पनीले काम सुरु गर्न मानेको छैन,’ उनले भने । सिन्धुपाल्चोकमा पर्ने सो आयोजनाको निर्माण १६ पुस ०७३ मा सक्ने लक्ष्य छ । आयोजनाको कुल अनुमानित लागत १२ अर्ब २८ करोड रुपैयाँ छ ।
सिन्धुपाल्चोकमा निर्माणाधीन २२ मेगावाटको माथिल्लो चाकु–ए आयोजना पनि भूकम्पबाट क्षतिग्रस्त भएको छ । सो आयोजनाको निर्माणको काम पनि हुन सकेको छैन ।

प्रकाशित : सचेन गौतम/नयाँ पत्रिका