आयोजनाको जडित क्षमता घट्ने, हिउँदमा उत्पादन बढ्ने

    1635

    विद्युत् आयोजना अनुमतिपत्रसम्बन्धी निर्देशिका संशोधन

    सरकारले जलविद्युत् आयोजनाको निर्माण गर्दा अधिकतम जडित क्षमता कम गर्न निर्देशन दिएको छ । अब, जलविद्युत् कम्पनीहरूले आयोजनाको डिजाइन गर्दा वर्षभरिमा ४५ प्रतिशत समयमा आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने (क्यू ४५) गरी गर्नुपर्नेछ । यसअनुसार अब १ वर्षमा साढे ५ महिना जलविद्युत् आयोजनाबाट जडित क्षमताअनुसार नै विद्युत् उत्पादन हुनुपर्छ ।

    विद्युत् आयोजना अनुमतिपत्रसम्बन्धी निर्देशिका २०७३ संशोधन गर्दै ऊर्जा मन्त्रालयले नयाँ व्यवस्था गरेको हो । यसअघि ४० प्रतिशत समयमा मात्रै पूर्ण क्षमतामा विद्युत् उत्पादन गरे पुग्ने थियो । नयाँ व्यवस्थाअनुसार अब वर्षमा १ सय ६४ दिन जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन हुनुपर्छ । यसअघि १ सय ४६ दिन पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने व्यवस्था थियो ।

    प्रवद्र्धकहरूले भने सरकारले सही मनसायले निर्देशिका संशोधन नगरेको आरोप लगाएका छन् । ‘विद्युत् प्राधिकरणले वर्षभरिमा ३० प्रतिशत विद्युत् उत्पादन भए खरिद गर्ने भनेको अवस्थामा फेरि क्यू फ्याक्टर बढाउनु राम्रो होइन,’ एक ऊर्जा उत्पादकले भने ।

    हिउँदमा जलविद्युत् उत्पादनमा दबाब
    सरकारले हिउँद याममा धेरै विद्युत् उत्पादन गर्ने नीति लिएको छ । सुक्खा याममा विद्युत्को आपूर्ति कम भई वितरणमा समस्या हुने गरेपछि हिउँदमा उत्पादन बढाउने नीति सरकारले लिएको हो । नयाँ व्यवस्थाले जलविद्युत् आयोजनाको डिजाइन गर्दा कम क्षमतामा गर्नुपर्ने हुन्छ । यस्तै हिउँदमा जलविद्युत् उत्पादन वृद्धिमा प्रवद्र्धकलाई दबाब बढ्नेछ । उनीहरूले थप समय जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन गुर्नपर्ने हुन्छ । यस्तै आयोजनाको डिजाइन गर्दा नै सुक्खा याममा पनि धेरै बत्ती उत्पादन हुने गरी गर्नुपर्छ ।

    ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरे भन्छन्
    जलविद्युत् आयोजनालाई कडाइ गरेको भन्दा पनि ऊर्जा बढाउन भनेर क्यू ४५ को व्यवस्था गरिएको हो । हामीलाई सुक्खा याममा धेरै ऊर्जा चाहिएको छ । सुक्खा याममा विद्युत् धेरै आउने गरी डिजाइन गर है भनेको हो । डिस्चार्ज कम गरेर डिजाइन गरेपछि वर्षभरि उत्पादन हुने ऊर्जा पनि बढ्छ । वर्षभरिमा जति विद्युत् उत्पादन हुन्छ, त्यसको ३० प्रतिशत विद्युत् उत्पादन भयो भने सुविधा पाउँछौ भनेर उत्पादकलाई भनेका छौँ । ६ महिना सुक्खा याम बनाइएको छ । ६ महिनासम्म ८ रुपैयाँ ४० पैसाका दरले पैसा उत्पादकले पाउँछन् । यसअघिको क्यू ४० लाई आधार बनाउँदा सुक्खा याममा ३० प्रतिशत विद्युत् उत्पादन हुँदैन । त्यसैले यो आधारलाई बढाइएको हो ।

     स्रोत:नयाँपत्रीका