पुस र माघमा पनि लोडसेडिङ हुन नदिइने, जनस्तरबाटै सहयोग पाएको प्राधिकरणको ठम्याइ

    2149

    माग ५० मेगावाट घटिसक्यो

    काठमाडौं । विद्युत् प्रयोगकर्ताले इन्भर्टरको ब्याट्री चार्ज गर्न नपरेको र पिक आवरमा बढी बिजुली खपत हुने उपकरणको प्रयोग नगरेकाले अहिले विद्युत्को माग ५० मेगावाट कम भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    विद्युत् प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त गर्ने आफूहरूको योजनालाई जनस्तरबाटै सहयोग प्राप्त भएको निष्कर्ष निकालेको छ । भारतबाट ल्याउने भनिएको विद्युत् जनवरी १ मा ल्याउन सकिए पुस र माघमा पनि लोडसेडिङमुक्त राख्न सकिने प्राधिकरणको ठम्याइ छ । निरन्तर विद्युत् आपूर्ति भइरहेपछि उपभोक्ताले इन्भर्टरको ब्याट्री चार्जलगायत ‘पिक आवर’मा बढी बिजुली खपत हुने उपकरणको प्रयोग गर्न छाडेपछि प्रणालीमा ५० मेगावाट विद्युत् माग घटेको छ । आइतबार ५० मेगावाट घटेर १ हजार ३ सय मेगावाटको हाराहारीमा बिजुलीको माग रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।

    विद्युत् प्राधिरकणले बढी बिजुली माग हुने समय साँझ हिटर, आइरन, पानी तान्ने पम्प नचलाउन गरेको अनुरोधलाई सर्वसाधारणले स्वीकार गरेको उनको भनाइ छ । त्यसले गर्दा पनि बिजुलीको माग घटेको हो । आइतबारसम्मको अवस्था हेर्दा विद्युत् खपत पनि घट्दै गएको पाइएको अधिकारीको भनाइ छ । यसरी बिजुली खपत घट्दै गएमा विद्युत् प्राधिकरणलाई माग व्यवस्थापन गर्न सहज हुने उनले बताए । चुहावट नियन्त्रण र आन्तरिक खपत घटेका कारण माग व्यवस्थापनमा सहजता आएको अधिकारीको भनाइ छ । यसमा पनि भारतबाट ल्याउने भनिएको थप बिजुली आयात गर्दा आगामी दिनमा मुलुकभर लोडसेडिङ गर्नुनपर्ने प्राधिकरणले जनाएको छ । अहिलेको अध्ययनलाई हेर्दा आउँदो सुख्खायाममा बढीमा साढे ५ सय मेगावाट मात्र बिजुली अपुग हुने सम्भावना रहेको अधिकारीले बताए । “अहिले नै दैनिक साढे ४ सय मेगावाटसम्म बिजुली अपुग हँुदा काठमाडौं उपत्यका लोडसेडिङमुक्त र बाहिर २ घण्टामात्र लोडसेडिङ भएको छ,” अधिकारीले भने, “भारतबाट थप २ सय मेगावाटमात्र आपूर्ति गर्न सफल भएमा चुहावट घटाएर र माग व्यवस्थापन गरेर लोडसेडिङलाई अहिलेको अवस्थामा राख्न सकिन्छ । भारतबाट सहमतिअनुसार थप बिजुली आयात भएमा लोडसेडिङ बढ्ने सम्भावनै छैन ।”  भारतसँग भएको सम्झौताअनुसार समयमै विद्युत् उपलब्ध गराउन ताकेताका लागि अधिकारीसहितको टोली फेरि भारत जाँदैछ । कात्तिक १४ गतदेखि काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको छ भने उपत्यकाबाहिर पनि दुई घण्टाभन्दा बढी लोडसेडिङ भएको छैन ।  अधिकारीका अनुसार टनकपुरबाट शुक्रबारदेखि ३० मेगावाट बिजुली आउँदैछ । सो बिजुली भारतको पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) लिमिटेडबाट प्रतियुनिट ५ रुपैयाँ (३ रुपैयाँ ४४ पैसा भारु) मा खरिद गर्न लागिएको हो । चुहावट नियन्त्रणमा प्रगति भएको बताउँदै यसबाट थप बिजुली आपूर्ति हुने उनले बताए । दैनिक २ देखि ३ घण्टामात्रै बढी बिजुली आवश्यक पर्ने उनको भनाइ छ । विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझको बेला दैनिक ४ घण्टामात्र लोडसेडिङ गरेको छ । अधिकारी माघमा बिजुलीको माग बढ्ने र फागुनमा उत्पादन घट्ने भएकाले यी दुई महिना माग व्यवस्थापन गर्न केही जटिलता आए पनि भारतबाट सम्झौताबमोजिम बिजुली आयात भएमा लोडसेडिङ गर्न नपर्ने बताउँछन् । गत वर्ष माघ र फागुनमा दैनिक १४ घण्टासम्म लोडसेडिङ भएको र वर्षात्मा पूर्ण क्षमतामा आयोजना सञ्चालन हँुदा पनि दैनिक ७ घण्टासम्म लोडसेडिङ भएको थियो । प्राधिकरणका उच्च अधिकारीले नै विद्युत् गृहबाट कम उत्पादन देखाएर लोडसेडिङ घण्टा बढाएर बचत बिजुली आर्थिक चलखेल गरी उद्योगलाई आपूर्ति गरेको पाइएको प्राधिकरणले बताइसकेको छ ।  यस्तै, ऊर्जामन्त्री जनार्दन शर्माले पनि लोडसेडिङ गर्ने कर्मचारीको पहिचान गरी कारबाही गर्ने संकेतसमेत गरिसकेका छन् ।

    स्रोत : १२ खरी