उर्जामन्त्रीको आँखा सरकारी कार्यालयमा,कार्यालयमा अनावश्यक विद्युत प्रयोग रोक्न निर्देशन

    1442

    काठमाडौँ। तपाईले आफ्नो कार्यालय वा सार्वजनिक स्थानमा अनावश्यक रुपमा बत्ती बालेर छाड्नु भएको छ वा हिटर पङ्खा चलाएर ननिभाइकन छाड्नुभएको छ ? अब त्यसो नगर्नु होला ।

    सार्वजनिक स्थानमा अनावश्यक समयमा समेत विद्युत् उपयोग भइरहेको पाइएपछि ऊर्जा मन्त्रालयले परिपत्र जारी गर्दै सबै सरकारी कार्यालयलाई अनावश्यक समयमा विद्युत् प्रयोग बन्द गर्न आग्रह गरेको छ ।
    विशेष गरी सरकारी कार्यालयमा अनावश्यक रुपमा विद्युत् प्रयोग बढी भइरहेको पाइएपछि त्यसखालको परिपत्र गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल सार्वजनिक स्थानमा अनावश्यक रुपमा विद्युत् उपभोग भइरहेको पाइए त्यसलाई निरुत्साहित गर्न निर्देशन दिए ।
    सिंहदरबारभित्रैका मन्त्रालय, सरकारी भवन तथा गैरसरकारी क्षेत्रमा समेत कार्यालय समयपछि समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको भन्ने सूचनाका आधारमा मन्त्री शर्माले उक्त निर्देशन दिनुभएको उनका स्वकीय सचिव विक्रान्त शर्माले जानकारी दिए।
    यस्तै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग, अन्य आङ्गिक क्याम्पसमा समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको गुनासो मन्त्रालयको गुनासो सुनुवाइ इकाइमा प्राप्त भएको छ । सरकारी निकायले नै विद्युत् महसुल नबुझाएको भन्ने प्राधिकरणको दाबी र त्यस्तै निकायमा समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको पाइएपछि मन्त्रालयले परिपत्र गर्न लागेको हो ।
    प्राधिकरणले यसअघि नै साँझ बढी विद्युत् माग हुने समयमा पानी तान्ने पम्प, हिटर, गिजरलगायत सामग्री प्रयोग नगर्न आग्रह गरिसकेको छ । दिउँसो काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिकामा सडक बत्ती बलिरहेको भन्ने सूचनाका आधारमा त्यस्ता सडक बत्ती निभाउन समेत सार्वजनिक सूचनामार्फत आग्रह गरिसकेको छ ।
    काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त गरेको र त्यसलाई नियमित रुपमा राख्न सबैको साथ र सहयोग जरुरी रहेको भन्दै प्राधिकरणले त्यसखालको सहयोगको अपेक्षा गरेको छ । साँझ ६ बजेदेखि राति नौ बजेसम्म उपत्यकालाई मात्रै ३१५ मेगावाट विद्युतको आवश्यकता पर्छ ।
    @ Bizmandu