मिर्मीमा नयाँ सबस्टेसन

1877

माघ १७, २०७६

काठमाडौँ:  नेपाल विद्युत् प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणको योजना तथा प्राविधिक सेवा विभागअन्तर्गतको विस्तारित विद्युत् वितरण आयोजना र वितरण प्रणाली सुदृढीकरण आयोजनाको संयुक्त प्रयासमा उक्त सबस्टेसन बनाइएको प्राधिकरणले जनाएको छ ।

कालीगण्डकी जलविद्युत् केन्द्रको बाँधस्थल नजिक रहेको कर्मचारी आवास क्षेत्रको छेउमा रहेको पुरानो सबस्टेसन जीर्णोद्धार गरी नयाँ सबस्टेसन बनाइएको हो । पुरानो सबस्टेसनमा ३३ र ११ केभी १.५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमार्फत विद्युत् आपूर्ति गर्ने गरिएको थियो । उक्त सबस्टेसनको स्तरोन्नति गरी ३३ र ११ केभी, ६ र ८ एमभीएको पावर ट्रान्सफर्मर जडान गरिएको हो । साथै १२ किलोमिटर ११ केभी लाइनसमेत निर्माण गरिएको
प्राधिकरणले जनाएको छ ।

एसियाली विकास बैङ्कको सहयोगमा २०६८ सालदेखि सो सबस्टेसन निर्माण थालिएको थियो तर भारतीय निर्माण कम्पनी अरावली इन्फ्रा पावर लिमिटेडले निर्धारित समयमै काम गर्न सकेको थिएन । प्राधिकरणले बाँकी कामका लागि बङ्गलादेशको इनर्जी प्याक इन्जिनियरिङ लिमिटेडलाई जिम्मा दिएको थियो । सोही कम्पनीले सबस्टेसन निर्माण सम्पन्न गरेको हो । नयाँ सबस्टेसनबाट स्याङ्जाको मिर्मीलगायत सेतीबेनी, बिर्घा र गल्याङको केही भाग, गुल्मी र पर्वतका केही भागलगायत रुरु क्षेत्रमा समेत विद्युत् सेवाको गुणस्तरमा सुधार भएको स्याङ्जा वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताउनुभयो ।

यसबाट करिब नौ हजार घरधुरीले गुणस्तरीय र भरपर्दो विद्युत् प्रयोग गर्न पाएको उहाँको भनाइ छ । नयाँ सबस्टेसनबाट बिर्घा र सेतीबेनी फिडर सञ्चालन गरिएको छ भने थप अर्को ११ केभी फिडरका लागि लाइन वितरण गर्ने संरचनासमेत तयारी अवस्थामा राखिएको आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताउनुभयो ।

 

स्रोत:गोर्खापत्र