नेपाल भारत संयुक्त बैठक काठमाडौंमा हुदै :- प्रसारण लाइन नै प्रमुख प्राथमिकता

    1295

    २९ माघ,काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेण्डाका रुपमा पेश हुने भएको छ ।

    दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभी वा ४०० केभीमा चार्ज गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

    यस्तै हालै सम्पन्न भएको कुशाहा–कटैया र रक्सौल परवानीपुर प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने बारेमा समेत छलफल गर्ने कार्यसूची तयार भएको छ । कुशाहा कटैया र रक्सौल परवानीपुर प्रसारण लाइनको क्षमता १३२ केभी रहेको छ । यस्तै लामो समयदेखि चर्चामा रहेको न्यू बुटबल–गोरखपुर प्रसारण लाइन निर्माणको बारेमा समेत छलफल गरिने ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

    प्रवक्ता घिमिरेकाअनुसार सञ्चालनमा रहेका अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि तथा नयाँ प्रसारण लाइन निर्माणका विषयमा नै बैठक केन्द्रित हुने छ । बैठक आगामी फागुनको पहिलो साता काठमाडौँमा आयोजना गरिएको छ ।

    दुई वर्षअघि भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित सचिव नेतृत्वको समिति र सहसचिव नेतृत्वको समितिको चौथो बैठक काठमाडौँमा आयोजना गरिएको हो ।

    Source: Sadawahar