चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजना : स्थानीयद्वारा अत्यधिक बढी मुआब्जा माग

    1152

    काठमाडौं, २० असोज
    चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न जग्गाधनीले चलनचल्तीको खरिद–बिक्री रेटभन्दा अत्यधिक बढी मुआब्जा माग गरेका छन् ।

    रसुवाको गोल्जुङ गाविस थम्बुचेटका ६ जना जग्गाधनीले खेतका लागि प्रतिआना पाँच लाख (८० लाख प्रतिरोपनी) र भिरालो बारीका लागि प्रतिआना चार लाख (६४ लाख प्रतिरोपनी) माग गरेका हुन् । आयोजनाले सबस्टेसनका लागि उनीहरूबाट करिब ५० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।

    करिब दुई वर्षअघि सोही स्थानमा सान्जेन जलविद्युत् कम्पनीले प्रतिरोपनी पाँच लाख रुपैयाँ मुआब्जा दिएर जग्गा अधिग्रहण गरेको थियो । आयोजनाले भने खेत र बारीका लागि सान्जेनले दिएको रेटमा ५० हजार रुपैयाँ थप गरी मुआब्जा निर्धारण गरेको थियो । खेत र बारीका लागि प्रतिआना क्रमशः ५ लाख ५० हजार र ६ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको आयोजना प्रमुख केदार सिलवालले बताए ।

    ‘मुआब्जा निर्धारणप्रति असहमति जनाउँदै ६ जना जग्गाधनीले मुआब्जा बुझेका छैनन्,’ उनले भने, ‘समस्या सल्टाउन पटक–पटक वार्ता गरिरहेका छौँ, तर उनीहरूले अत्यधिक महँगो दर माग गरिरहेका छन्, जुन हामी दिनै सक्दैनौँ ।’

    सर्वोच्चले भन्यो– न्यायोचित मुआब्जा निर्धारण गर
    मुआब्जा निर्धारणप्रति असन्तुष्ट जनाउँदै जग्गाधनीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले रिट खारेज गर्दै सम्बन्धित जग्गाधनीसँग बुझी न्यायोचित निर्णय गर्न आयोजनाका नाममा परमादेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको मुआब्जा निर्धारण समितिले जग्गाधनीसँग छलफल गरिरहेको छ । तर, सहमति अझै नजुटेको आयोजना प्रमुख सिलवालले बताए । ‘फेरि पनि संयुक्त निवेदनमार्फत जग्गाधनीले अत्यधिक मुआब्जा माग गरेकाले जग्गा प्राप्ति जटिल बनेको छ,’ उनले भने, ‘गाविस, मालपोत कार्यालय, रसुवामा रहेका बैंकहरूको जग्गाको रेट लिएर मुआब्जाबारे थप छलफल गर्न लागिरहेका छौँ ।’

    बिजुली खेर जाने अवस्था
    सबस्टेसन र प्रसारण लाइन नबनेमा चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन ११० मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेनलगायतका आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था छ । आर्थिक वर्ष ०७५÷७६ मा प्रसारण लाइनको निर्माण सक्ने लक्ष्य राखिएको छ । ‘यो प्रसारण लाइन अत्यन्त आवश्यक छ,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘प्रक्षेपित मितिमा लाइन बनाउन सकेनौँ भने त्यस करिडोरमा निर्माण भइरहेको आयोजनाको करिब १७० मेगावाट बिजुली खेर जानेछ ।’

    प्रसारण लाइन आयोजना सुरु
    चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजनाको सुरु भएको छ । राजधानीमा बुधबार कार्यक्रम गरी आयोजना सुरु भएको घोषणा गरिएको हो । कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले आयोजना समयमै सम्पन्न गर्न प्राधिकरणलाई निर्देशन दिए । ‘नेपाली जनता, मुलुकभित्रका लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास साझेदारको लगानीमा ठूला जलविद्युत् तथा प्रसारण लाइन आयोजना अगाडि बढाउँदै छौँ,’ उनले भने, ‘यसमा दातृ निकायको पनि सहयोग रहने अपेक्षा गरेका छौँ ।’

    ३ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब ५० लाख रुपैयाँ) अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैंक (केएफडब्लु) र युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी)को लगानी रहनेछ । प्रसारण लाइनको लम्बाइ २७ किमी छ।

    स्रोत : नयाँ पत्रिका