कालीगण्डकी प्रसारण करिडोरको निर्माण सुरु

    1434

    पर्वत : पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण करिडोरको काम सुरु भएको छ ।

    kaligandaki_trl

    आयोजनाकोे २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दाना खण्डको काम शनिबारदेखि सुरु भएको छ । आयोजनाको पर्वतको कुश्मा नगरपालिका ४ खुर्कोटस्थित २२०/१३२/३३ केभी सबस्टेसनको शिलान्यास भएको छ ।

    खुर्कोटमा आयोजित कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले एक कार्यक्रमबीच शिलान्यास गरे । आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दाना खण्ड ३९ किमि लामो हुनेछ ।

    विद्युत्  प्रसारण लाइनका साथै सबस्टेसन निर्माणका लागि २ अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण करिडोर आयोजनाको खुर्कोट–कुस्मा खण्डको काम २८ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी निर्माण कार्यको थालनी भएको प्रमुख घोषले बताए ।

    आयोजनाको खुर्कोट–दाना प्रसारण लाइन तथा खुर्कोट र दाना सबस्टेसनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ ।

    आयोजना  र ठेकेदार कम्पनीबीच ३० मे २०१६ मा सम्झौता भएको थियो । वि.सं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । खुर्कोटदेखि दानासम्म ११० वटा टावर रहने छन् ।

    म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका १४ मेगावाट क्षमताको थापाखोला, ४  मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेघावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् ।

    सबस्टेसन निर्माणका लागि दानामा सय र खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण भएको छ भने नवलपरासीमा पनि पनि सबस्टेसनका लागि जग्गा अधिग्रहण सकिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।

    खुर्कोटदेखि पर्वत, स्याङजा, पाल्पा र रुपन्देहीसम्मको प्रसारण लाइनका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको उनले बताए । कालीगण्डकी प्रसारण करिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    स्रोत : कारोबार