चमेलियाबाट ३ महिनाभित्रै उत्पादन

    940

    भाद्र १०, २०७४- चमेलिया जलविद्युत् आयोजनाले आगामी ३ महिनाभित्र बिजुली उत्पादन गर्ने भएको छ । सिभिलतर्फको काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन छिट्टै हुने आयोजनाले जनाएको छ ।

    शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माणाधीन उक्त आयोजनाबाट ३० मेगावाट बिजुली उत्पादन हुनेछ । हालकै गतिमा काम भए यसअघिको तालिकाभन्दा १ महिना अगाडि विद्युत् उत्पादन हुनेछ । ड्राई टेस्टको काम सकेर अडिट बन्द गर्ने कार्य चलिरहेको आयोजनाले जनाएको छ ।

    साढे ४ किलोमिटर सुरुङका ३ टनेलमध्ये १ र ३ नम्बर बन्द गरिसकेको र २ नम्बर बन्द गर्ने कार्य भइरहेको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । हाल टनेल प्लकिङ र सुरुङ सरसफाइको काम भइरहेको छ । ‘यो सबै सकिएपछि सिभिलतर्फको काम सकिन्छ, त्यस लगत्तै सुरुङमा पानी छाड्ने गरी काम हुनेछ,’ उनले भने, ‘सुरुङमा पूरै नदी लगाउन नमिल्ने हुँदा पानी भर्न १०/१२ दिन लाग्छ, सँगै सुरुङ परीक्षण हुने र त्यसपछि पावर हाउसमा जडित मेसिन परीक्षण गरिन्छ ।’आयोजनाको १ सय ३३ केभी ट्रान्सफर्मरको एकातिरको लाइनमा पर्ने रूख कटान गरी अत्तरियासम्मको १ सय ३० किलोमिटर प्रसारण लाइन क्लियर गरेको आयोजना प्रमुख दाहालले बताए । कात्तिकबाट उक्त प्रसारण लाइनमा पर्ने दुवैतिरका रूख कटान गरिनेछ । परीक्षण सकिएपछि नोवेम्बरमा बत्ती बाल्ने गरी काम भइरहेको उनले जनाए ।

    नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको आयोजना समयमै सम्पन्न नहुँदा महँगो बन्दै गएको छ । आयोजनाको कुल लागत हालसम्म १५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । समयै निर्माण हुँदा ८ अर्ब रुपैयाँ लागतमा पूरा हुने थियो । निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, सम्झौताको फितलो कार्यान्वयन र कमजोर भू–बनोटलगायतले आयोजनाको लागत बढेको हो ।

    स्रोत: कान्तिपुर