माथिल्लो मस्र्याङ्दी–‘ए’ ले दुई महिनामा उत्पादन गर्ने

    1425

    यहाँ निर्माणाधीन ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए, जलविद्युत आयोजनाबाट दुई महिनाभित्र विद्युत उत्पादन गर्ने तयारी गरिएको छ ।
    आगामी अगष्ट ३० मा विद्युत उत्पादन थाल्ने लक्ष्यका साथ आयोजनाले निर्माण कार्यलाई तिब्रता दिएको छ । मुलुकमा अहिलेसम्म निर्माण गरिएका अन्य जलविद्युत् आयोजनाहरु भन्दा निकै तीव्र गतिमा निर्माण भएको यो आयोजना नाकाबन्दी र भूकम्पको अल्झन झेल्दै तोकिएकै समयमा काम सक्न लागेको हो ।
    आयोजनाबाट यसअघि नै विद्युत उत्पादन थाल्ने लक्ष्य थियो । तर बैशाख १२ को भूकम्प र भारतीय नाकाबन्दीले आयोजनालाई पाँच महिना पछि धकेलिदिएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो ।
    भूकम्पका कारण निर्माणमा समस्या भएको भन्दै निर्माण कम्पनी सिनो हाइड्रो रिसोर्सेसले प्रवद्र्धक कम्पनी सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीसँग पाँच महिनाको थप समय माग गरेको थियो ।
    ‘भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण निर्माणमा निकै समस्या भयो,’ निर्माण कम्पनी सिनो हाइड्रो सगरमाथका कम्पनीका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले भन्नुभयो, ‘अब अगष्ट ३० सम्म एउटा टर्वाइन चलाउने गरि तयारी गरेका छौं ।’
    चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले सुरुङ, विद्युतगृह, बाँध क्षेत्र र प्रसारण लाइनको कामलाई तीब्र रुपमा अघि बढाएको छ । प्रवद्र्धक कम्पनी सिनोले अहिलेसम्म बाँधको सिभिलतर्फको काममा ९८ प्रतिशत काम सम्पन्न गरिसकेको छ । यस्तै सुरुङको ९६ प्रतिशत, विद्युत गृहको सिभिलतर्फ ९५ प्रतिशत, मेकानिकलतर्फ ८५ प्रतिशत र इलेक्ट्रामेकानिकलतर्फ ६० प्रतिशत निर्माणको कार्य सम्पन्न गरिसकेको छ ।
    आयोजनामा चिनियाँ बहुराष्ट्रिय  कम्पनी  सिनो हाइड्रोको ९० र  नेपाली  सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी छ. । प्रवद्र्धक सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीका जनसम्पर्क अधिकृत अधिकारीले  आयोजनाको  ८५  प्रतिशत काम सकिएको बताउनुभयो ।
    प्रवद्र्धक  कम्पनीले  २०७३  असोजदेखि व्यापारिक रूपमा विद्युत उत्पादन गर्ने लक्ष्य लिएर नेपाल विद्युत प्राधिरणसँग २०५२ सालमै विद्युत खरिद बिक्री सम्झौता (पीपीए)  गरेको  थियो ।  निर्माण कम्पनी र आयोजनाले आन्तरिक रूपमा सन् २०१५ भित्रमा काम सकेर  २०१६ को जनवरीदेखि विद्युत उत्पादन गर्ने योजना बनाएको थियो । रन अफ रिभर प्रविधिमा निर्माणाधीन यो आयोजना निर्माणकालागि करिब १२ अर्ब रुपियाँ लाग्ने कम्पनीले जनाएको छ. । भूकम्प र नाकाबन्दीले थप एक अर्ब बढी लाग्न सक्ने आयोजना स्रोतले बताएको छ ।
    निर्माण कम्पनीले  आयोजनाको  सिभिल  संरचना सकिन लागेपछि  कामदारको  संख्या पनि घटाउँदै गएकोे छ । आयोजनाको  सबै  निर्माणकार्य एकैपटक तीव्र गतिमा हुँदा आयोजनामा १३ सय जनाले काम गर्थे । अहिले करिब ६ सय जनाले काम गरिरहेकाछन् । माथिल्लो मस्र्याङ्दी ‘ए’ का जनसम्पर्क अधिकृत अर्जुन गुरुङका अनुसार हाल ८० जना चिनियाँ कामदारलेसमेत काम गरिरहेका छन ।
    पहिले २ सय ५० जना चिनियाँ कामदार थिए । आयोजनामा  २५÷२५  मेगावाटका दुई वटा टर्बाइन रहने छन् । भुलभुले–५ ङादीमा बाँध बनाएर भुलभुले–३ को मस्र्याङ्दी  तटमा  निर्माण  गरिएको  विद्युत गृहबाट विद्युत निकालिने छ । यसका लागि ६ दशमलव ५ किलोेमिटरको सुरुङ निर्माण गरिएको छ ।

    स्रोत : गोरखपत्र