असोजबाट निर्माण सुरु गरिने : माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजना

    1250

    रसुवा – ६.४२ मेगावट क्षमताको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य आगामी असोजदेखि सुरु हुने भएको छ।

    वर्षाका कारण असारबाट निर्माण कार्य रोकिएको आयोजनाको निर्माण कार्य असोज पहिलो सातादेखि सुरु हुनेछ । ८५ प्रतिशत निर्माण कार्य भइसकेको आयोजनामा सामग्री सर्भिसिङ गर्नुपर्ने बेला भएको छ।

    धुन्चे–स्याफ्रु सडक मर्मत नसकिँदासम्म सामग्री तथा प्राविधिक लैजान नसकिने भएकाले तत्काल काम सुरु गर्न नसकिने आयोजनाले जनाएको छ । ‘आयोजनामा वर्षाको समयमा काम हुँदैन,’ आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले भने, ‘अहिले बाटो बन्द भएका कारण काम सुरु हुन सकेको छैन।’

    आउँदो असोजबाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेपछि दोस्रो पटक म्याद थप गरिएको थियो । वर्षा, नाकाबन्दी, बाढीपहिरोका कारण आयोजनाको काम पछि धकेलिएको प्रोजेक्ट इन्चार्ज जोशीको भनाइ छ।

    यो आयोजना रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको छ । बर्खाको समयमा र हिउँ पर्ने समयमा आयोजनाको निर्माण कार्य ठप्प हुने गरेको छ  ।  असारदेखि भदौसम्म र पुसदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ।

    यस वर्ष मनसुन चाँडै सुरु भएका कारण निर्माण कार्य प्रभावित बनेको थियो । आयोजनाका अनुसार अहिले पावर हाउस निर्माण, प्रसारण लाइन निर्माण र पेनस्टक जोड्ने कार्य भइरहेको छ।

    नौ सय ३० मिटरमध्ये करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ । ‘पेनस्टक जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ,’ प्रोजेक्ट इन्चार्ज जोशीले भने, ‘तीन हजार आठ सय ४० मिटर हेडरेसमध्ये ६० मिटर मात्रै निर्माण बाँकी छ।’

    २०६९ सालदेखि निर्माण सुरु भएको आयोजना ‘रन अफ रिभर’ प्रणालीमा निर्माण भइरहेको छ । आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने बताइएको छ।

    ‘हिउँदको समयमा हिउँ पग्लने भएकाले आयोजनाको उत्पादन घट्दैन,’ प्रोेजेक्ट इन्चार्ज जोशीले भने, ‘उत्पादित विद्युत् खेर जान नदिन प्रसारण लाइन निर्माणमा पनि काम भइरहेको छ।’

    स्रोत : नागरिक दैनिक