कालीगण्डकीको उत्पादन घटयो

    1263

    फाल्गुन १, २०७३- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घटेको छ । हिँउद लागेसँगै कालीगण्डकी नदीमा पानीको बहाव कम भएपछि विद्युत् उत्पादनमा पनि कमी आएको आयोजनाले जनाएको छ । १ सय ४४ मेगावाट विद्युत् उत्पादन क्षमता भएको आयोजनामा पानीको कमीसँगै जम्मा ३७ मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ ।

    आयोजनाका प्रमुख राजेश पाण्डेले पानीको कमीले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न नसकिएको बताए । आयोजनामा ३ टर्वाइनमध्ये एउटा मात्रै नियमित सञ्चालनमा छ । बिहान–बेलुकी पानी जम्मा गरी एकदेखि डेढ घन्टासम्म भने तीनवटै टर्वाइन सञ्चालन गरिन्छ ।

    आयोजनाबाट स्याङ्जाको श्रीकृष्णगण्डकी, जगत्रदेवी, मालुङ्गा, पिडीखोला, निवुवाखर्क, पाल्पाको यमगाउँ, पर्वतको शालिग्राम र गुल्मीको अर्बेनी र हर्मिचौर गाविस प्रभावित छन । ०५८ चैतदेखि उत्पादन सुरु गरेको आयोजनाले ३ हजार रोपनी क्षेत्रफल ओगटेको छ । उत्पादनगृहमा विद्युत् लिकेज भइरहने समस्याले पनि उत्पादनमा कमी आएको एक कर्मचारीले बताए ।

    स्रोत:कान्तिपुर