काबेली आयोजनाबाट विद्युत् प्रसारण सुरु

    1387

    फाल्गुन १, २०७३- काबेली करिडोर आयोजनाअन्तर्गत नवनिर्मित विद्युत् सव–स्टेसनबाट विद्युत् प्रसारण सुरु गरिएको छ । काबेली करिडोर १३२ केभी क्षमताको विद्युत् सव–स्टेसनमा भर्खरै सम्पन्न हेवाखोला ए जलविद्युत् आयोजना समावेश गरी प्रसारण गरिएको हो ।

    पाँचथर सदरमुकाम फिदिम नगरपालिका–४ थापाटारस्थित सव–स्टेसनमा १५ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् समावेश गरिएको हो । तर, निर्माणाधीन काबेली करिडोर आयोजनाअन्तर्गत इलामको गोदकदेखि पाँचथर हुँदै अमरपुर खण्ड पूरा नभएकाले नेपाल विद्युत् प्राधिकरणले यहाँ उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनबाट ११ केभीमा परिणत गरी स्थानीयस्तरमा मात्र वितरण गरिएको छ ।

    भारतीय ठेकेदार कम्पनी एबीबी प्रालिद्वारा निर्माण पूरा भएको सव–स्टेसन लामो समय रिचार्ज नहुँदा नवनिर्मित विद्युत् समावेश गर्न कठिन भएको थियो । एबीबीले पाँचथरको थापाटार, अमरपुर र गोदकमा ६० करोड रुपैयाँ लगानी तीनवटा सव–स्टेसन निर्माण गरेको काबेली करिडोर आयोजना प्रमुख इन्जिनियर दीपेन्द्रराज द्विवेदीले बताए ।

    पाँचथर पावर कम्पनीद्वारा उत्पादित हेवा खोला जलविद्युत् आयोजनाबाट इलाम, पाँचथर र ताप्लेजुङबासी लाभान्वित छन् । तर, प्रसारण लाइन क्षमता कम हुनाले क्षमताभन्दा कम विद्युत् उत्पादन गर्दा मासिक ४ करोड ५० लाख रुपैयाँ घाटा बेहोर्नुपरेको उत्पादक कम्पनी पाँचथर पावर कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगानाले बताए ।

    पाँचथर पावर कम्पनीले करिब दुइ अर्ब ५६ करोड रुपैयाँ लगानीमा निर्माण पूरा गरेको १५ मेगावाट क्षमताको नवनिर्मित हेवाखोला जलविद्युत् आयोजनाले यति बेला सरदर ५ मेगावाट मात्र उत्पादन गरिरहेको छ । उनले यो घाटा विद्युत् प्राधिकरणले बेहोर्नुपर्ने बताए । पाँचथरको भारपा र याङनाम गाविसको सिमाना हुँदै बग्ने हेवाखोलाबाट अर्को माउन्टेन हाइड्रोपावर कम्पनीको समेत २१ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणाधीन छ । यहाँ उत्पादित विद्युत् आयोजनाहरू ठेकेदार भरतीय जग्वर एन्ड एस्तर कम्पनीले काबेली करिडोर १३२ केभी प्रसारण लाइन निर्माण पूरा गरेपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछन् ।

    पाँचथर पावर कम्पनी २०६८ साउन ३० मा विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार विद्युत् विभागले २०७२ साउन १ गते सम्पन्न गर्नुपर्ने अनुमति दिए पनि महाभूकम्प, नाकाबन्दीलगायत विभिन्न प्राविधिक कठिनाइको कारण एक वर्ष ढिलो गरी निर्माण सम्पन्न गरेको हो । विद्युतगृहदेखि फिदिमको थापाटार सव–स्टेसनसम्म १३ वटा हाइटेन्सन टावर निर्माण गरी ट्रान्समिसन लाइन विस्तार गरेको छ ।

    स्रोत:कान्तिपुर