आगामी आर्थिक वर्षदेखि भारतबाट बिजुली आयात घट्ने

    1356

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वर्षदेखि भारतबाट हुँदै आएको विद्युत आयात क्रमशः घट्दै जाने बताएका छन् ।

    आगामी वर्षदेखि आन्तरिक विद्युत उत्पादन बढ्नुका साथै ऊर्जा दक्षता भएका एलईडी, पंखालगायत अन्य विद्युतीय उपकरणमा जोड दिने भएपछि माग व्यवस्थापन गरेर आगामी वर्षदखि भारतबाट हुँदै आएको बिजुली आयात कम हुदै जाने बताएका हुन् । कालिगण्डकी, मर्स्याङ्दी र मध्यमर्स्याङ्दी आयोजनाहरु साँझमा पूर्ण क्षमतामा सञ्चालन  गर्न सफल भएकाले लोडसेडिङ व्यवस्थापन गर्न सहज भएको उनले बताए । पहिलो पटक सुख्खायाममा पनि पिकिङ आयोजना पूर्ण क्षमतामा सञ्चालन भएको उनले बताए ।

    ऊर्जा मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको नियमित विद्युत् आपूर्तिको अर्थतन्त्रमा प्रभाव विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले आगामी वि.स ०७५ देखि निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि सुख्खायाममा केही महिना पिक आवरमा बिजुली कम हुने भएकाले आवश्यक परे मात्र केही घण्टालाई मात्र बिजुली आयात हुने उनले जानकारी दिए ।

    सकेसम्म आन्तरिक उत्पादन बढाएर र माग व्यवस्थापन गरेर आपूर्ति बढाउने उनको भनाई छ । उनले ऊर्जा दक्षता बढाएर र बेगनास र रुपा तालमा पम्प स्टोरेज आयोजना सञ्चालन गरेर सुख्खायामको पिक आवरको लोडसेडिङ व्यवस्थापन गर्ने योजना रहेको उनले सुनाए ।

    लोडसेडिङ हटाउनमा उपभोक्ताको अपार सहयोग रहेको बताउँदै उनीहरुको सहयोगले गर्दा माग व्यवस्थापन गर्न सहज भएको घिसिङको भनाई छ । यो वर्ष विद्युत माग बढेर १ हजार ६ सय मेगावाट पुग्ने प्रक्षेपण रहेकोमा माग व्यवस्थापनका कारणले गर्दा बढीमा १ हजार ३ सय मेगावाटमा सिमित भएको उनले जानकारी दिए ।
    उनले आउँदो वर्ष चमेलिया र कुलेखानी आयोजना सञ्चालनमा आउने बताए । यस्तै चिलिमे हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी र ५८ मेगावाटको माथिल्लो र तल्लो सान्जेन जलविद्युत आयोजनको काम तीव्र गतिमा अघि बढेको बताए ।

    ऊर्जा मन्त्रालयका सहसचिव चिरन्जीवी चटौतले हाल बिजुलीको माग दैनिक १ हजार २४५ मेगावाट रहेको बताए । विद्युत प्राधिकरणका आयोजनाबाट ५०६, भारतबाट ३६९ मेगावाट रहेको छ । प्रणालीमा अझै ३७० मेगावाट अपुग रहेको उनले जानकारी दिए ।

    लोडसेडिङ हटाउन प्राधिकरणले यो वर्ष यो वर्ष १४ अर्ब २० करोड रुपैयाँ खर्चेर १ अर्ब ९७ करोड २० लाख युनिट बिजुली आयात हुने अनुमान गरेको छ । यो गत वर्षको तुलनामा यो वर्ष बिजुली आयात २० करोड रुपैयाँ मात्र बढी हो । गत वर्ष प्राधिकरणले १४ अर्ब रुपैयाँ खर्चेर १ अर्ब ७३ करोड युनिट बिजुली आयात गरेको  थियो । आयात १३ प्रतिशत बढेपनि सस्तो मूल्यमा बिजुली खरिद गरेकाले यो वर्ष बिजुली खरिदको भुक्तानी रकम २० करोड रुपैयाँ मात्र बढेको हो ।

    तामाकोसी अर्धजलासययुक्त आयोजना भएकाले साँझको मागलाई पुरा गर्नेछ ।  यस्तै कुलेखानी चमेलिया जस्ता अर्धजलासययुक्त आयोजना पनि सम्पन्न हुने चरणमा रहेका छन् । आगामी वर्ष निजी क्षेत्र र सार्वजनिक गरी २४५ मेगावाट बिजुली थप हुँदै छ । आउँदो ३ वर्षमा १ हजार २ सय मेगावाट बिजुली थप भई कुल जडित क्षमता २ हजार १ सय मेगावाट नाघ्ने छ ।

    स्रोत:बाह्रखरी