ट्रान्समिसन लाइन विस्तारमा एडिबीको १५ अर्ब सहयोग

    1336

    एसियाली विकास बैंकले नेपालको विद्युत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि गर्न १५ अर्ब ४६ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । एडिबीले जापान फन्डअन्तर्गतको गरिबी निवारण कोषबाट दिने ऋण सहयोगको रकममध्ये २१ लाख रुपैयाँ अनुदान र बाँकी सहुलियत ऋण उपलब्ध गराउने भएको हो ।

    अर्थ मन्त्रालयमा आइतबार ऋण सहायतासम्बन्धी कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र एडिबीका निमित्त प्रमुख शरद भण्डारीले सो सम्झौतापत्रमा हस्ताक्षर गरे । त्यस्तै आयोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरे । काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रलगायत विभिन्न स्थानको प्रसारण प्रणाली सुधार तथा वितरण प्रणालीलाई विकास गर्न यो रकम खर्च गरिनेछ ।

    त्यस्तै विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारणलाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सबस्टेसन’को स्तरोन्नति गर्नुका साथै प्रसारण प्रणाली सुदृढ गरिनेछ । एडिबीले साढे ४ वर्षमा योजना सम्पन्न गर्ने गरी यो रकम नेपाललाई सहुलियत ऋण सहयोग गरेको हो । त्यस्तै दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत व्यापार सहजीकरण गर्न भन्सार सुधार तथा आधुनिकीकरण कार्यक्रम कार्यान्वयनमा बैंकले २ अर्ब १३ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने सम्झौता भएको छ ।

    स्रोत:नयाँपत्रीका