साञ्जेन खोला जलविद्युतमा १५ अर्ब चिनियाँ लगानी स्वीकृत

    1213

    सन् २०२२ भित्र ७८ मेगावाटको आयोजना सम्पन्न गर्ने लक्ष्य

    साञ्जेन खोला जलविद्युत् आयोजना निर्माणमा १५ अर्ब ३८ करोड ७० लाख रुपैयाँ चिनियाँ लगानी स्वीकृत भएको छ । चीनको चाइना हार्वोर इन्जिनियरिङ कम्पनीले ७८ मेगावाटको सो आयोजनामा लगानी गर्न लागेको हो । रसुवा जिल्लाको पार्वतीकुण्ड गाउँपालिका– ५ मा बन्ने आयोजना विदेशी लगानी औद्योगिक प्रवद्र्धन बोर्डको २२५औँ बैठकले स्वीकृत गरेको हो ।

    नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानीमा बन्ने आयोजनामा ८ प्रतिशत नेपाली र ९२ प्रतिशत विदेशी लगानी हुने आयोजनाका प्रवद्र्धक विष्णुराज अधिकारीले जानकारी दिए । ‘ड्यु डेलिजेन्स अडिट (डिडिए)मार्फत आयोजनामा हालसम्म भएको लगानी ३५ करोड देखियो, त्यसलाई ८ प्रतिशत कायम गरी आयोजनाका लागि आवश्यक ९२ प्रतिशत विदेशी लगानी ल्याउने गरी स्वीकृति प्राप्त भएको हो,’ अधिकारीले जानकारी दिए । आयोजना २० प्रतिशत इक्विटी र ८० प्रतिशत ऋण लगानी गरी निर्माण गरिने जानकारी पनि उनले दिए ।

    आयोजनामा ऋण लगानी गर्न नेदरल्यान्ड्स डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ) सँग सहमति भइसकेको जानकारी उनले दिए । ऋणसमेत विदेशबाटै लिने भएकाले साञ्जेन खोला जलविद्युत् आयोजना सञ्चालन गरी जलविद्युत् उत्पादन गर्ने उद्देश्यले सालासुंगी पावर कम्पनीले बोर्डमा वैदेशिक लगानी स्वीकृतिका लागि निवेदन दिएको थियो ।

    सालासुंगी पावर कम्पनीको चुक्ता पुँजी ३५ करोड तथा अधिकृत र जारी पुँजी ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ रहेको छ । ‘कम्पनीमा अहिले अनुमान गरेभन्दा बढी लगानी गर्नुपरेको अवस्थामा पनि नेपाली लगानीकर्ताको सेयर अनुपात ८ प्रतिशतमा नघट्ने गरी विदेशी लगानीकर्ताले नै रकम लगानी गर्नुपर्ने गरी सम्झौता गरिएको छ,’ नेपाली प्रवद्र्धक अधिकारीले जानकारी दिए ।

    चाइना हार्वोर इन्जिनियरिङ कम्पनीलाई खरिदबिक्री सम्झौता (एसपिए) अनुसार ३२ लाख २० हजार कित्ता सेयर बिक्री र बाँकी आयोजनामा थप लगानी गर्ने गरी उक्त लगानीलाई स्वीकृत गरिएको हो । विदेशी लगानीकर्ताले लगानी गर्न प्रतिबद्धता व्यक्त गरेको रकम बैंकिङ च्यानलमार्फत ३ महिनाभित्र नेपाल ल्याइसक्नुपर्ने सर्त पनि लगानी स्वीकृति गर्दा राखिएको छ ।

    आयोजनाको विद्युत् खरिद सम्झौता भइसकेको छ भने कम्पनीले उत्पादन अनुमतिसमेत प्राप्त गरिसकेको जनाएको छ । त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकन (इआइए)समेत स्वीकृत भइसकेको कम्पनीले जनाएको छ । आयोजनास्थलसम्म पुग्न ३२ किलोमिटर पहुँचमार्ग बनाउनुपर्नेमा १५ किलोमिटर बाटोसमेत बनाइसकेको अधिकारीले जानकारी दिए ।

    आयोजना निर्माणका लागि इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा १५ जुलाईभित्र निर्माण कम्पनी पनि छनोट गरिने उनले जनाए । ‘अगस्टभित्रमा निर्माण कम्पनीले आयोजनाको निर्माण नै सुरु गर्नेछ,’ उनले भने । आयोजनाको सन् २०२२ भित्र सम्पन्न हुने लक्ष्य रहेको जानकारी पनि उनले दिए ।

    – नयाँ पत्रिका