जलविद्युत् आयोजनामा सुरक्षाको प्रत्याभूति दिलाउन इपानको आग्रह

    1124

    काठमाडौँ, १६ वैशाख । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले जलविद्युत् आयोजनामा सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले आइतबार जारी गर्नुभएको विज्ञप्तिअनुसार जलविद्युत् आयोजना निर्माणमा रहेका लमजुङ, संखुवासभा, दैलेख, सुर्खेत्लगायतका जिल्लामा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको बताउनुभएको छ ।

    संखुवासभा जिल्लामा जलविद्युत् आयोजनमा आतंकित पार्ने गतिविधिले आयोजनालाई अप्ठ्यारोमा पारेको छ । शनिबार राति अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण स्थलमा नचिनेका मान्छेको समूहले बम विस्फोट गराएको थियो । विस्फोटबाट आयोजनाको कार्यालयमा सामान्य क्षति पुगेको छ ।

    इपानले सुरक्षाको प्रतयाभूति हुनेगरी जलविद्युत् आयोजना भएका र निर्माणमा रहेका जिल्लामा सुरक्षाको प्रत्याभूतिका लागि सरकारसमक्ष आग्रह गरेको छ । विज्ञप्तिमा इपानले विकास विरोधी तथा आतंक फैलाउने क्रियाकलापको घोर निन्दा एवम् भत्सर्ना गरेको छ ।

    यस्तै नेपाल चेम्बर अफ कमर्शले अरुण तेस्रो आयोजनाको कार्यालयमा शनिबार राति भएको विस्फोटको भत्सर्ना गरेको छ । चेम्बरले आइतबार विज्ञप्ति प्रकाशित गरी विस्फोट गराउनेको तत्काल खोजी गरी कारबाही गर्न माग गरेको छ । स्थायी सरकार बनेर मुलुक समृद्धिको बाटोतर्फ लम्किरहेको बेला भएको यस्तो घटनाप्रति निन्दा गर्दै चेम्बरले त्यस्तो जघन्य अपराध गर्ने जुनसुकै समूहमाथि अविलम्ब कडा कारबाही गर्न माग गरेको छ । –रासस