परीक्षण थाल्दै ३ मेगावाटको मिदिम करापु

    1793

    लमजुङ : जडित क्षमता ३ मेगावाट रहेको लमजुङस्थित मिदिमखोला (करापु) जलविद्युत् आयोजनाले निर्माणकार्य सम्पन्न गरेको छ । प्रवद्र्धक कम्पनी युनियन हाइड्रोपावरले नाकाबन्दी र भूकम्पका कारण आयोजना निर्माणकार्य तोकिएको समयभन्दा ६ महिना ढिला गरी सम्पन्न गरेको हो ।

    आयोजना निर्माणकार्य सम्पन्न भएसँगै प्रवद्र्धक कम्पनी युनियन हाइड्रोपावर यतिबेला परीक्षणमा जुटेको आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार निर्माणकार्य सकिएसँगै आयोजनाको सुरुङ, पेनस्टक पाइप र विद्युत्गृहको परीक्षण भइरहेको छ । “हामीले पहिलो चरणमा सुरुङ, पेनस्टक पाइप र सेट्लिङ बेसिनमा पानी पठाएर परीक्षण गरिरहेका छौं ।” अधिकारीले भने, “यो परीक्षण एक सातासम्म चल्नेछ ।”

    निर्माण सम्पन्न यो आयोजनामा जडित टर्बाइनलगायतका उपकरणको केही काम भएकाले विद्युत्गृहको परीक्षण दोस्रो चरणमा गर्ने आयोजनाका प्रमुख आवासीय इन्जिनियर दिपबहादुर सिंहले बताए । उनका अनुसार आयोजनाको पेनस्टक पाइप जडान भएको ठाउँमा र सुरुङमा चुहावट भए नभएको परीक्षण भइरहेको छ ।

    आयोजनामा ११२१.२४ मिटर लामो भूमिगत सुरुङ, ३४३.५ मिटर पेनस्टक पाइप र १५५.६ मिटर लामो कल्भर्टको निर्माण गरिएको छ । प्रवद्र्धक कम्पनी युनियनले आयोजनाको परीक्षण र प्रसारणलाइनको निर्माणकार्यलाई एकसाथ अघि बढाइरहेको छ ।

    आयोजनामा प्रसारणलाइन निर्माणकार्य बाँकी रहेकाले सबै परीक्षण एकसाथ गर्न नपाएको इन्जिनियर सिंह बताउँछन् । “आयोजनाको विद्युत्गृहदेखि भोर्लेटारसम्मको ९ किमि लामो प्रसारणलाइनको निर्माणकार्य भइरहेको छ ।” जनसम्पर्क अधिकृत अधिकारीले भने, “प्रसारणलाइन निर्माणको काम ५ किमि सकिएको छ । १० दिनभित्र लाइन निर्माणकार्य सकिनेछ ।”

    आयोजनाको विद्युत्गृह रहेको स्थान मध्यनेपाल–८ (करापु) पत्तरीबाट भोर्लेटारसम्मको ९ किमि लामो प्रसारणलाइन निर्माणको काम प्रवद्र्धक कम्पनी आफंैले गरिरहेको छ । आयोजनासँगको सम्झौतामा नेपाल विद्युत् प्राधिकरणले भोर्लेटारमा सवस्टेसन निर्माण गरेर आयोजनाको विद्युत् सबस्टेसनमा जोड्ने र ग्रिडमा पठाउने भए पनि अहिलेसम्म त्यसको निर्माणकार्य भने हुन सकेको छैन ।

    आयोजनाका जनसम्पर्क अधिकृत अधिकारीका अनुसार आयोजनाको विद्युत्लाई भोर्लेटारबाट नेपाल विद्युत् प्राधिकरणको ३३ केभी लाइनमार्फत दमौली पठाउने तयारी भइरहेको छ । यसका लागि प्रवद्र्धक कम्पनी र नेविप्राको संयुक्त प्रयासमा भोर्लेटार–दमौली प्रसारणलाइनको निर्माणकार्य अघि बढिरहेको छ ।

    प्रवद्र्धक कम्पनी युनियन र प्राधिकरणसँग विद्युत् जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) मा आयोजना निर्माण सम्पन्न हुनु अगावै भोर्लेटारमा सबस्टेसन निर्माण गर्ने सहमति भएको थियो । तर सोअनुरुपको काम भने हुन सकेन ।

    प्रवद्र्धक कम्पनी युनियन हाइड्रोपावरले ३ मेगावाट विद्युत् उत्पादन गर्ने गरी पश्चिम लमजुङको करापु र नाल्मा गाउँको सिमानामा यो आयोजना निर्माण गरेको हो । आयोजनाको सुरुको लागत ५४ करोड रहे पनि इन्धन अभाव, भूकम्प र मजदुर अभावका कारण आयोजनाका समय र लागत दुवै बढेको जनसम्पर्क अधिकृत अधिकारीले बताए ।

    “सुरुङमा कमजोर चट्टान भएका कारण अलि समय लाग्यो ।” अधिकारीले भने, “सुरुङमा धेरै ‘रिप’ हाल्नुपर्ने अवस्था आएकाले पनि हामी ढिला भयौं ।”
    आयोजनाको प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच २०६७ माघमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । साविकको करापु र नाल्मा गाविसको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध बाँधिएको छ ।

    आयोजनाको मुख्य प्रभावित क्षेत्र नेटा, करापु, नाल्मा, इशानेश्वर, भोर्लेटार, बाँग्रे र सिन्दुरेलगायतका स्थानमा विभिन्न सचेतनामूलक कार्यक्रम तथा सडक मर्मत, मठमन्दिर, विद्यालय निर्माणलगायतका काम भइरहेको स्थानीय समाजसेवी डम्बरबहादुर गुरुङले बताए ।

    उनले स्थानीयको आयोजनामा जनसहभागिता बढाउन प्रभावित स्थानका लागि १० प्रतिशत सेयरसमेत वितरण गरेको बताए । पानीको बहावमा आधारित स्वदेशी लगानीको यो आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरी पीपीए सम्झौता भएको हो ।

    स्रोत: कारोबार