मध्यमोदी जलविद्युत्‌को ५५ प्रतिशत सुरुङ निर्माण

    1484

    कुश्माः चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । २०७१ मंसिर ७ मा उद्योगपती विनोद चौधरीले २ अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाको कुल २ हजार ६ सय ९३ मिटर लामो सुरुङ्ग मध्ये हालसम्म ४५ प्रतिशत सम्पन्न भएको हो । शनिवारसम्म १ हजार पाँच सय ४६ मिटर सुरुङ्ग निर्माण सकिएको छ ।

    मुहानदेखि १ हजार १ सय २५ र पावरहाउसतर्फबाट ४ सय २१ मिटर सुरुङ्ग निर्माण कार्य सकिएको हा । बाँकी रहेको झण्डै साढे ११ सय मिटर सुरुङ निर्माणको काम आगामी जुन महिनासम्म सम्पन्न हुने निर्माण कम्पनी हिमाल हाईड्रका डेपुटी प्रोजेक्ट म्यानेजर एलबी थापाले जानकारी दिए ।

    उनका अनुसार अहिले काम तदारुकताका साथ भैरहेको छ । सुरुङ्गभित्र बढि मात्रामा कमेरे माटो भएकोले सुरुङ्ग निर्माणमा ढिलाई भएको उनले बताए । कमै मात्रामा पत्थर छ धेरैजसो लेदो माटो भएकाले ढिलाई भएको छ थापाले भने । सुरुङ्ग निर्माणसँगै मुहानतर्फको काम समेत धमाधम भैरहेको छ भने पावरहाउस निर्माण कार्य समेत यसै सातादेखि शुरु भएको छ ।

    आगामी मंसिरभित्र उत्पादन दिने आयोजनाको तयारी रहेपनि भुकम्प, नाकावन्दी लगायतका कारणले दुई वर्ष ढिलाई हुने देखिएको हो । तर अहिले काम गर्नका लागि कुनै अवरोध नरहेको पनि आयोजनाले जनाएको छ ।

    ‘अहिलेसम्म ७० प्रतिशत प्रगति हुनुपर्ने हो,’ उनले भने, अपेक्षा अनुसारको प्रगति देखाउन सकिएको छैन। पछिल्लो समय टनेल, पावरहाउस र बाँधको काम भएको छ।

    यही गतिमा जाँदा ०७५ असार मसान्तसम्ममा मात्रै उत्पादन दिन सकिने अवस्थामा पुग्ने अनुमान गरिएको आयोजना प्रमुख हरि देवकोटाले जानकारी दिएका छन्।

    आयोजनाको शिलान्यास लगत्तैका केही महिना कामअघि बढ्न सकेको थिएन। चौधरी ग्रुपसँग मिलेर निर्माणमा साझेदारी गर्न प्रतिबद्धता जनाएको भारतीय कोस्टर कम्पनी प्रालिले पछि लगानीमा चासो नदेखाउँदा करिब चार महिना ढिला काम सुरु भएको थियो।

    अहिले भइरहेको काम द्रुत गतिमा देखिए पनि लागत र समय त्यत्तिकै बढ्ने देखिएको छ। कन्स्ट्रक्सन निर्माणको जिम्मा लिएको हिमाल हाइड्रोपावरले पछिल्लो समय फेवा कन्स्ट्रक्सनलाई सब-कन्ट्याक्टमा केही भागको काम जिम्मा लगाएको छ। हाल टनेल, बाँध र पावरहाउस निर्माणको काम धमाधम भइरहेको छ।

    कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर २ बेतेनीसम्म २ हजार ६ सय ९३ मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ।

    अहिले सर्फेसअन्तर्गत हेडवक्र्स र पावरहाउसको कामलाई प्राथमिकता दिइएको छ। आयोजनासम्म सामान ओसार्न मोदीखोलामा पुल र आवश्यक पर्ने कंक्रिटका लागि क्रसर उद्योग सञ्चालन भइसकेका छन्।

    चौधरी ग्रुपले आयोजनाको सर्वेक्षण सकेर निर्माणको अन्तिम टुंगोअघि नै विद्युत् प्राधिकरणसँग विद्युत् खरिद समझौता (पीपीए) गरेको थियो। सम्झौताअनुसार प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनुअघि नै विद्युतगृहदेखि देउपुरसम्म ४ किलोमिटर लामो प्रसारण लाइन बनाइसक्नुपर्छ।

    तर, अहिलेसम्म प्रसारण लाइन निर्माणमा चासो देखाएको छैन। प्राधिकरणको ढिलाइका कारण आयोजना सकिए पनि उत्पादित विद्युत् प्रसारणमा समस्या हुने देखिएको आयोजनाले जनाएको छ।

    उक्त पावरहाउसमा दुई साता अघि मजदुरहरुले सेवा सुविधा बृद्धिको माग गर्दै साता काम समेत ठप्प पारेका थिए।मजदुर र निर्माणकर्ताबीचको बार्तापछि एक सातादेखि काम निरन्तर भैरहेको छ।

    स्रोत:अन्नपूर्ण पोस्ट