जलविद्युत् आयोजनालाई अवरोध नगर्ने दलहरुको प्रतिबद्धता

    2751

    ४ माघ, म्याग्दी । म्याग्दीमा क्रियाशील राजनीतिक दलहरुले जलविद्युत् आयोजना निर्माणमा अवरोध नगर्ने प्रतिबद्धता जनाएका छन् । देशका विभिन्न स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनबाट तोडफोड र अवरोध भइरहेका बेला म्याग्दीका राजनीतिक दलहरुले भने लिखितरुपमै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    म्याग्दीमा जलविद्युत् आयोजना निर्माण गर्न अवरोध नगर्ने प्रतिबद्धतासहित स्थानीय तहमा सुरक्षाको वातावरण बनाएर लगानीकर्तालाई आकषिर्त गर्न बुधबार जिविसमा बसेको सरोकारवालाको बैठकले तत्काल जलविद्युत्सम्बन्धी घोषणापत्र जारी गर्ने निर्णय गरेको हो । करिब एक हजार २०० मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको अनुमान गरिए पनि खोला दर्ता गरेकाले काम नगर्नु, काम गर्न खोज्नेले पनि सुरक्षा तथा भौतिक पूर्वाधारको कारण देखाउँदै पछि हट्नु र सरकारको लगानीमा बन्न लागेको ३२ मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण हुने नहुने अन्यौल बढेकाले सरोकारवालाले घोषणापत्र जारी गर्ने तयारी गरेका हुन् ।

    राजनीतिक दलहरुले निजी क्षेत्र अथवा सरकारी लगानीमा जिल्लामा निर्माण हुने आयोजनालाई स्थानीयस्तरमा अवरोध नगर्ने र अवरोध उत्पन्न भए समाधान गर्न आवश्यक वातावरण बनाउने प्रतिबद्धता जनाएपछि जिविसको अनुवाइमा घोषणापत्र तयार गर्न लागिएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । बैठकमा राहुघाट जलविद्युत् आयोजनाको निर्माणको काम हुन नसकेको र काम अघि बढाउन भएका पहलको विषयमा पनि छलफल भएको थियो । बैठकले आइभिआरसिएलले क्षतिपूर्ति र नयाँ दरको विषयमा गरेको मागका सम्बन्धमा सरकारले वार्ता गर्न ढिलाइ गर्न नहुने बताएका थिए ।

    विद्युत् प्राधिकरणले साना आयोजनामा लगानी गर्ने नगर्ने विषयमा अध्ययन गरिरहेकाले राहुघाटको विषयमा पनि अन्यौल बढेकाले राहुघाट आयोजनालाई फिर्ता हुन नदिने विषयमा पनि छलफल भएको बैठकमा सहभागी नेकपा -एमाले)का नेता बालकृष्ण सुवेदीले बताउनुभयो । राहुघाट जलविद्युत् आयोजनाको काम अघि बढेमा म्याग्दीमा लगानीकर्ता आकषिर्त हुने, आवश्यक वातावरण बनाउन सहयोग मिल्ने र अन्य आयोजनाको निर्माण कार्यले पनि तीव्रता पाउने भएकाले स्थानीयस्तरबाट दबाबका लागि सक्रियता बढेको छ ।

    स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माको अध्यक्षतामा बसेको जिल्लास्तरीय निर्माण समन्वय समितिको सो बैठकमा एकीकृत नेकपा (माओवादी)का जिल्ला संयोजक गोविन्द पौडेल, नेपाली काँग्रेसका सभापति रेशम बानिया, एमालेका बालकृष्ण सुवेदी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रमेशकुमार पुन, नेकपा -एकीकृत)का सचिव धु्रवलाल शर्मा, राप्रपाका अध्यक्ष एकेन्द्र रावल, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष नरबहादुर थापा र राप्रपा नेपालका अध्यक्ष पहलबहादुर खत्रीको उपस्थिति रहेको थियो ।

    रासस