प्रतिस्पर्धाद्वारा विद्युत् आयात गर्ने ऊर्जामन्त्रीको प्रस्ताव

    1059

    जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले भारतबाट आयात भइरहेको विद्युत्लाई थप प्रतिस्पर्धा गराई नेपालमा विद्युत् आयात गर्ने प्रस्ताव गरेका छन् । मन्त्री पुनले भारतीय राजदूतलाई भारतबाट आयात भइरहेको पावर ट्र्रेडिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत् आयात गर्न नेपाल इच्छुक रहेकोले अझ सस्तोमा बिजुली दिनका लागि आग्रह गरेका छन् ।

    बुटवल–गोरखपुर ४०० केभिए अन्तरदेशीय प्रसारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न राजदूत पुरीसँग उनले आग्रह गरेका छन् । भेटमा राजदूतले मन्त्री पुनको प्रस्तावप्रति भारत सरकार सकारात्मक रहेको र मोडालिटीका बारेमा छलफल गर्नुपर्ने बताएका थिए । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको पहिलो भेटवार्तामा ऊर्जालगायत अन्य द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ ।

    भेटमा राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पञ्चेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिए । ऊर्जामन्त्री पुनले पनि पञ्चेश्वर जलविद्युत् आयोजना नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

    यसअघि लोअर शारदाको पानीको विषयमा नेपाल र भारतबीच कुरा नमिल्दा बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) फाइनल गर्न बसेको ज्वाइन्ट स्टेरिङ कमिटीको दोस्रो बैठक पनि टुंगोमा नपुगी स्थगित भएको थियो । त्यस्तै अरुण तेस्रोको काम सुरु भएको छ भने वित्तीय व्यवस्थापनको काम हुन बाँकी रहेको छ ।