प्राधिकरणको आम्दानी ६ अर्ब बढ्यो

    1514

    काठमाडौंः नेपाल विद्युत् प्राधिकरणको आम्दानी पछिल्लो ६ महिनामा ६ अर्ब २ करोड ७२ लाख रुपैयाँले बढेको छ ।    आर्थिक वर्ष २०७३/०७४ को पहिलो ६ महिनामै विद्युत् प्राधिकरणको आम्दानी यसरी बढेको हो ।

    अघिल्लो वर्ष पुससम्मको आम्दानी १६ अर्ब १३ करोड १३ लाख रुपैयाँ रहेकोमा यस वर्षको पुसमा बढेर २२ अर्ब १५ करोड ८५ लाख रुपैयाँ पुगेको प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयले जनाएको छ ।

    प्राधिकरणले गत वर्ष ३२ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले यसवर्ष विद्युत् महशुलमा भएको वृद्धिका कारण आम्दानी बढेको जानकारी दिए ।

    “घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानका लागि हामीले चुहावट नियन्त्रणलगायतका अभियान सञ्चलन गरेकाले पनि आम्दानी बढेको हो,” अधिकारीले भने । कुल ग्राहकमध्ये ८० प्रतिशतभन्दा बढी घरेलु ग्राहक रहेको प्राधिकरणमा  यो वर्गबाट गत वर्षको पुससम्ममा ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी भएको थियो ।

    यस वर्ष भने पुससम्मको आम्दानी ९ अर्ब ८९ करोड रुपैयाँ पुगिसकेको छ । उद्योगधन्दाका ग्राहकबाट ४ अर्ब ७५ करोड रुपैयाँ आम्दानी हुने गरेकोमा बढेर यसवर्ष ७ अर्ब ५४ करोड पुगेको छ ।

    व्यापारिक, गैरव्यापारिक, सडक, सिँचाइ, खानेपानी, यातायातलगायतका ग्राहकबाट समेत आम्दानी बढेको प्राधिकरणले जनाएको छ । प्रवक्ता अधिकारीले ग्राहक तथा वितरण निर्देशनालयमा रहेको चुहावट तीन प्रतिशत घटाउन सफल हुँदा यसबाट मात्र झण्डै डेढ अर्ब रुपैयाँ बराबर थप आम्दानी भएको जानकारी दिए ।

    गतवर्ष ११ अर्ब रुपैयाँ घाटा बेहोरेको प्राधिकरणको हालसममको घाटा ३७ अर्ब रुपैयाँ पुगिसकेको छ । गत भदौमा भएको विद्युत् प्राधिकरणको वार्षिकोत्सवमा ऊर्जामन्त्री जनार्दन शर्माले घाटामा गएको प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका थिए ।

    गत साउनदेखि लागू हुने गरी विद्युत् महशुल निर्धारण आयोगले करिब २० प्रतिशत मूल्य बढाउन सहमति दिएपछि यसरी आम्दानी बढेको हो । विद्युत् महशुल वृद्धिपछि करिब १८ प्रतिशत आम्दानी बढ्ने अनुमान प्राधिकरणको भए पनि अहिले भने करिब १३ प्रतिशत मात्र बढेको हो ।

    घाटामा गएको प्राधिकरणलाई नाफामा लैजान भन्दै प्राधिकरणले फेरि विद्युत् महशुल वृद्धिको प्रस्ताव गरिसकेको छ । गत माघमै विद्युत् प्राधिकरणले महशुल निर्धारण आयोगमा सर्वसाधारणवाहेक औद्योगिक ग्राहकलाई २० प्रतिशत र ठूला सामुदायिक विद्युतीकरणलाई महशुल वृद्धिको प्रस्ताव गरे पनि यसबारे हालसम्म निर्णय हुन सकेको छैन ।

    विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समयमा भारतको उपस्थिती ४८ प्रतिशत पुगेको तथा ढल्केबर मुज्जफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनबाहेकका नाकाबाट ल्याएको बिजुलीको भाउ महँगो भएको छ ।

    जुरे पहिरो र भूकम्पको कारणले डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गरिएको भोटेकोसी जलविद्युत् सञ्चालन नहुँदा विद्युत् प्राधिकरणले केही राहत महसुस गरे पनि हालै निर्माण सम्पन्न भएको र डलरमा पीपीए गरिएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको कारणलाई बढी तिर्नुपर्ने अवस्था छ । सो आयोजनासँग प्रतियुनिट ७.५० रुपैयाँ बराबरको सम्झौता भएको छ ।

    स्रोत : कारोबार