द्वारीखोला जलविद्युत् आयोजना सञ्चालनमा

    1463

    दैलेख लोडशेडिङमुक्त

    चैत १३, दैलेख । दैलेखको द्वारीमा ३ दशमलव ७ मेगावाट क्षमताको द्वारीखेला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले शनिवार उक्त आयोजनाको उद्घाटन गरे । आयोजनाबाट उत्पादित विद्युत् जिल्लामा ३३ केभी प्रसारण लाइन नभएकाले जिल्ला सदरमुकामस्थित सबस्टेशनमा जोडिएको छ ।

    आयोजना निजीक्षेत्रको भूगोल इनर्जी प्रालिले ६५ करोड रुपैयाँको लागत बनाएको हो । निर्माण शुरू भएको १८ महीनामा काम सम्पन्न भएको कम्पनीले बताएको छ ।

    आयोजना सम्पन्न भएपछि दैलेख लोडशेडिङमुक्त भएको छ । उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जडान नभएकाले जिल्लामा लोडशेडिङ नहुने जिल्ला विद्युत् कार्यालयका प्रमुख जगदीश पाण्डेले बताए । ३३ केभी लाइन जिल्लामा पुगेपछि मात्र आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जडान हुने उनले जानकारी दिए ।

    द्वारी खोलाबाट २६ सय मिटर पाइप लाइनमार्फत १ किलोमिटर तल पानी झारेर विद्युत् निकालिएको छ । उत्पादित विद्युत् पोलहरू गाडेर ३२ किलोमिटर टाढा सदरमुकामस्थित सबस्टेशनमा पुर्‍याइएको कम्पनीले बताएको छ । आयोजना निर्माणको काम तीन चरणमा विभाजित गरी एकैपटक शुरू भएकाले छिट्टै सम्पन्न भएको हो । कम्पनीले प्रभावित क्षेत्र द्वारी गाविसमा १ करोड रकम खर्च गरेर गाउँसम्म मोटरबाटो पुर्‍याएको छ ।

    कम्पनीले आयोजना प्रभावित स्थानीय जनतालाई १० प्रतिशत शेयर दिइने बताएको छ । यसअनुसार करीब ७ लाख ५० हजार किस्ता शेयर स्थानीयले पाउनेछन् । विद्युत् उत्पादन भइसकेकाले शेयर खोल्ने प्रक्रिया छिट्टै शुरू हुने जानकारी कम्पनीले दिएको छ । नौमुले गाउँपालिका र नारायण नगरपालिकाका स्थानीयले सो आयोजनाको शेयर पाउनेछन् ।

    यसैबीच, आयोजना उद्घाटनका लागि द्वारी पुगेका नेकपा एमालेका सांसद अम्मरबहादर थापाको भूमिका शङ्कास्पद रहेको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीयको माग कम्पनीले पूरा गर्नुपर्ने भए पनि थापाले ती माग आफूले पूरा गरिदिने भनेपछि आयोजनाको पक्ष लिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका हुन् । द्वारीवासीले यसअघि सडक, शेयर र मुआब्जाको विषयमा टुङ्गो नलगाई आयोजना उद्घाटन गर्न नदिने बताउँदै आएका थिए ।

    स्रोत : अभियान