‘माथिल्लो कर्णाली’ परियोजना रोक्न वैद्यसँग आग्रह

    1225
    Upper Karnali HEP
    Karnali River

    काठमाडौं, फागुन १२- माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता देशहितअनुकूलको नरहेकाले त्यसलाई रोक्नका लागि पहल गरिदिन आग्रह गर्दै कर्णाली जलाधार संरक्षण समाजले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई स्मरणपत्र बुझाएको छ।

    माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा समाजका अध्यक्ष इ लोकबहादुर रावतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले दिएको स्मरणपत्र बुझ्दै अध्यक्ष वैद्यले माथिल्लो कर्णली सम्झौतामा राष्ट्रघात भएको र सम्झौता गर्दा राज्यले गम्भीर गल्ती गरेको बताउनुभएको संरक्षण समाजका सचिव दीपेन्द्र रोकायाले जानकारी दिए।
    समाजको स्मरणपत्रमा भनिएको छ, “यो परियोजनास्थलको अधिकतम उत्पादन क्षमता चार हजार १८० मेगावाट रहेकामा हालको सम्झौताले ९०० मेगावाटमा सङ्कुचन गराएको छ, यो सहमति खारेज हुनाको विकल्प देखिँदैन, यथास्थितिमा परियोजनालाई निरन्तरता दिँदा त्यसबाट आउने परिणाम कसैका लागि पनि सुखदायी नहुने यथार्थ स्पष्ट पार्न चाहन्छौं।”
    परियोजना बनाउने जिम्मा भारतीय कम्पनी जिएमआरलाई दिन नहुने र स्वदेशी लगानीमै निर्माण गरिनुपर्ने समेत स्मरणपत्रमा उल्लेख छ। समाजले गत महिना राष्ट्रपतिलाई भेटी स्मरणपत्र बुझाएको थियो भने प्रमुख दलका नेताहरुलाई समेत पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ।

    रासस