अरुण कावेलीको आईपीओ कात्तिक ९ गते

    2996

    arun-ipo

    कात्तिक ४, काठमाडौं । अरुण कावेली पावर लिमिटेडले कात्तिक ९ गतेदेखि ३० लाख कित्ता प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्दै छ । कम्पनीले सोमध्ये ९० हजार कित्ता कम्पनीको कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याएको छ । १ सय रुपैयाँ प्रतिशेयर मूल्य रहेको कम्पनीको शेयरमा सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको शेयर विक्री छिटोमा कात्तिक १२ गते र ढिलोमा २३ गते बन्द हुनेछ । कम्पनीको संस्थापक शेयरधनी र आयोजना प्रभावित क्षेत्रका शेयरधनीबाट गरी हाल उक्त कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २० करोड रहेको छ । आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ ।

    कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले अरुण कावेली, शेयर रजिष्ट्रार र सिद्धार्थ बैङ्कका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ प्राप्त गरेको छ ।

    यस रेटिङले कम्पनीको आईपीओको अवस्था आधारभूत पक्षभन्दा कमजोर रहेको देखाउँछ । जलविद्युत् कम्पनीमध्ये प्रायले यस्तो रेटिङ पाउँदै आएका छन् । कम्पनीका प्रमोटर र व्यवस्थापक जलविद्युत् क्षेत्रमा अनुभवी रहेकाले यसलाई रेटिङमा सकारात्मक पक्षका रूपमा लिइएको छ । सन् २००३ मा कम्पनीले पहिलो १४ दशमलव ४ मेगावाटको जलविद्युत् आयोजना शुरू गरेको थियो । त्यसैगरी, अरुण कावेलीको पाँचथरमा स्थापना भइरहेको २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना नेपालकै ठूलो निजी जलविद्युत् परियोजनामध्ये एक हो । कम्पनीका संस्थापकहरूले आयोजनाका लागि आवश्यक रू. १ अर्ब २० करोडमध्ये रू. १ अर्ब ५ लाख रकम जम्मा गरिसकेका छन् । त्यसैगरी, कर्जाका लागि पनि फाइनान्सियल क्लोजर भइसकेको छ ।

    सन् २०१६ मार्चसम्म आयोजनाको २५ प्रतिशत काम सम्पन्न भइसकेको छ । त्यसबेलासम्म कम्पनीको कुल पूँजीको ५० प्रतिशत खर्च भइसकेकोलाई भने इक्रा नेपालले नकारात्मक पक्षका रूपमा लिएको छ । कम्पनीले आयोजना समयमा नै पूरा गर्न सक्यो भने पनि १ सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न ढिला हुन सक्ने सम्भावना र त्यसले निम्त्याउने जोखीमलाई पनि इक्रा नेपालले रेटिङमा समावेश गरेको छ । अरुण कावेलीले एष्टर टेलिसर्भिसलाई प्रसारण लाइनको केही भाग निर्माण गर्न जिम्मा दिएर सम्झौता गरिसकेको छ । कम्पनीको यस आयोजनाबाट हुने आम्दानी प्रसारण लाइन निर्माणमा लाग्ने समयले पनि प्रभावित गर्ने इक्राले उल्लेख गरेको छ । अरुण कावेलीले सन् २०१२ जुलाईमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद विक्री सम्झौता गरिसकेको छ । कम्पनीले  विद्युत् उत्पादन गर्ने लाइसेन्स सन् २०१३ जुलाई १२ मा ऊर्जा मन्त्रालयबाट प्राप्त गरेको थियो । विद्युत् खरीद मूल्य वर्षात्का महीनाहरूमा प्रतियुनिट ४ दशमलव ८० र हिउँद महीनामा ८ दशमलव ४० रुपैयाँ हुने सम्झौतामा उल्लेख छ ।

    यो आयोजनाको कुल लागत रू. ४ अर्ब रहेको छ । त्यसमध्ये रू. २ अर्ब ८० करोड बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिइएको छ भने रू. १ खर्ब २० करोड इक्विटीद्वारा उठाइनेछ । इक्विटीमा रू. १ अर्ब ५ करोड संस्थापक शेयरधनीले लगानी गरेका छन् भने रू. ४५ करोड सर्वसाधारणबाट आईपीओ जारी गरी जम्मा गर्न लागिएको हो ।

    ९ कम्पनीको आईपीओ प्रस्ताव
    आईपीओ जारी गर्न ९ कम्पनीले सेबोनमा आवेदन बुझाएका छन् । तीमध्ये ७ जलविद्युत् कम्पनी छन् भने बाँकी २ विकास बैङ्क हुन् । गर्जाङ उपत्यका हाइड्रोपावर, हिमालयन पावर पाटर्नर, नेपाल हाइड्रो डेभलपर, आँखुखोला जलविद्युत्, च्याङ्गडी हाइड्रोपावर, मैलुङखोला जलविद्युत्, राधी विद्युत् कम्पनीहरूले पनि स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्न सेबोनमा निवेदन दिएका छन् । यीमध्ये नेपाल हाइड्रो डेभलपरलाई सेबोनले कात्तिक २ गते स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरिसकेको छ । बोर्डबाट विवरणपत्र, विक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृति भएको मितिदेखि २ महीनाभित्र धितोपत्र निष्कासन गर्नुपर्ने प्रावधान रहेको छ । यी ७ कम्पनीले कुल ३९ लाख १३ हजार ५ सय ६० कित्ता साधारण शेयर स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्न लागेका छन् ।

    फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र समता माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि आईपीओ जारी गर्न सेबोनमा निवेदन पठाइसकेका छन् । फरवार्ड कम्युनिटीले ६ लाख कित्ता र समताले ९४ हजार ८ सय कित्ता साधारण शेयर जारी गर्न लागेका छन् । राष्ट्र बैङ्कको निर्देशनअनुसार चालू आवको अन्त्यसम्ममा वाणिज्य बैङ्कको चुक्तापूँजी रू. ८ अर्ब पु¥याउनु पर्ने भएको छ । सोहीअनुसार नेपाल एसबीआई बैङ्कले चुक्तापूँजी वृद्धिका लागि ६७ हजार ७ सय ६७ दशमलव ८७ कित्ता फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्न सेबोनमा असोज १८ गते आवेदन बुझाएको छ । बैङ्कले रू. १ सय अङ्कित मूल्य रहेको प्रतिशेयर रू. ८ सय ८० प्रिमियममा एफपीओ जारी गर्ने आवेदन बुझाएको हो । अधिकांश बैङ्क तथा वित्तीय संस्थाले चुक्तापूँजी वृद्धिका लागि हकप्रद, बोनस शेयर र मर्जर/एक्वीजिशनको विकल्प राखेका छन् । एभरेष्ट बैङ्कले रू. ४५ करोड र एनएमबी बैङ्कले रू. ८८ करोड ८० लाखको एफपीओ जारी गर्ने आफ्नो पूँजी योजनामा उल्लेख गरेका छन् ।

    Source : Abhiyan