बिजुली किन्दाको ‘हिउँद’ अवधि बढाइयो, निजी उत्पादकलाई फाइदा

    1281

    सरकारले निजी क्षेत्रका उत्पादकसँग खरिद गर्ने विद्युतको मूल्य र गणना गर्ने हिउँद-वर्षा अवधिलाई समायोजन गरेको छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ऊर्जा मन्त्रालयले मूल्य र हिउँद-वर्षा अवधिलाई वैज्ञानिक बनाएको ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बताए ।

    अब विद्युत खरिद सम्झौता (पीपीए)मा हिउँद र वर्षायामको समय हेरफेर गरिएको छ । अहिलेसम्म मंसिरदेखि चैतसम्म हिउँद र बाँकी ८ महिना वर्षायाम कायम थियो ।

    अब  भने ६-६ महिना वर्षा र हिउँद कायम भएकाले निजी उत्पादकलार्इ फाइदा हुनेछ । हिउँदमा बिजुलीको मूल्य बढी तिरिन्छ भने बर्षामा कम ।

    अब मंसिर १६ देखि जेठ १५ सम्म ६ महिनालाई हिउँद र जेठ १६ देखि मंसिर १५ सम्म बर्षायाम कायम गरिएको छ । पीपीए सम्बन्धी नयाँ कार्यबिधिले यो ब्यवस्था गरेको हो । अब यसैका आधारमा विद्युत खरिद गरिनेछ ।

    हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र वर्षामा प्रतियुनिट ४.८० रुपैयाँ पीपीए गर्दै आएका उत्पादकले चार महिनामात्र हिउँदको दरमा भुक्तानी पाउँथे ।

    कति कायम भयाे रेट ?

    अब रिजर्भ्वाएर आयोजनाबाट जेठ १६ देखि मंसिर १५सम्म विद्युत किन्दा प्रतियुनिट ६.३५ रुपैयाँ विद्युत किनिनेछ । ६ महिनाको अवधिमा कुल उर्जा खपतको ६५ प्रतिशत भएमा यो रेट कायम हुनेछ ।

    यदि उर्जा खपत ५० प्रतिशत भएमा प्राधिकरणले ७.१० रुपैयाँ तिर्ने भएको छ । ६ महिनामा कुल वाषिर्क ऊर्जा खपतको ३५ प्रतिशत विजुली उत्पादन भएमा १२.४० रुपैयाँ दिने कार्यबिधिमा उल्लेख छ ।

    पिकिङ रन अफ दि रिभर बेसका अायोजनाबाट विद्युत खरिद गर्दा १ घण्टादेखि २ घण्टासम्म ८ रुपैयाँ ५० पैसा, २ देखि ३ घण्टा भए ८ रुपैयाँ ८० पैसा, ३ देखि ४ घण्टा भए ९ रुपैयाँ ४० पैसा र ४ देखि ६ घण्टा भए १० रुपैयाँ ५५ पैसा भुक्तानी गरिने भएको छ ।

    नन पिकिङमा सुख्खायामा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

    रिजर्भ रन अफ दि रिभर बेसका आयोजनाबाट मंसिर १६ देखि जेठ १५ सम्म ८.४० रुपैयाँमा विजुली किनिने भएको छ । ६ महिनाको अवधिमा कुल वाषिर्क ऊर्जा खपतको ३० प्रतिशत भएमा यो रेट कायम हुनेछ । जेठ १६ देखि मंसिर १५ सम्म ४.८० रुपैयाँ तिर्ने भएको छ ।

    कुल वाषिर्क खपतको ३० प्रतिशत नपुगेमा वैशाखदेखि मंसिरसम्म ४.८० रुपैयाँ र पुसदेखि चैतसम्म ८.४० रुपैयाँमा बिजुली किन्ने गरी कार्यबिधि बनेको छ ।

    Source: Online Khaber