२ करोड एलईडी बल्ब प्राधिकरण आफैँले बेच्ने, बिक्री व्यवस्थापनको तयारी सुरु

    1474

    काठमाडौं । भारतबाट खरिद गरिने भनिएको २ करोड थान एलईडी बल्ब नेपाल विद्युत् प्राधिरकण आफैँले बिक्री गर्ने भएको छ ।

    निजी कम्पनीलाई बिक्रीको जिम्मेवारी दिँदा अनियमिता हुने र उपभोक्ता ठगिने सम्भावना भएकाले प्राधिरकण आफैँले एलईडी बल्ब बेच्ने तयारी थालेको हो । यसअघि वितरण गरिएको सीएफएल चिमको पनि प्रभावकारी वितरण हुन नसकेपछि असफल भएको थियो ।

    बल्ब कसरी र कहाँकहाँबाट वितरण गर्ने भन्ने विषयमा छलफल भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । १ महिनाभित्र भारतको इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएससी) बाट एलईडी बल्ब आउन सुरु हुने भन्दै उनले यसअघि बिक्रीका लागि तयारी सुरु भएको जानकारी दिए । भारतबाट आयात हुन लागेको एलईडी बल्बमा ९५ प्रतिशत पावर फ्याक्ट भएको जानकारी दिँदै उनले एलईडीमा योभन्दा कम रहेको बताए ।

    नेपालमा विद्युत् खपत कम गर्ने  र ऊर्जाको बचत गर्नका लागि ठूलो परिमाणमा ईईएससीबाट एलईडी बल्व खरिद गर्न लागिएको हो । गत बिहीबार विद्युत् प्राधिकरण र ईईएससीका अधिकारीबीच भएको वार्तापछि विद्युत् खपत कम गर्ने एलईडी बल्ब खरिदको प्रक्रिया अघि बढेको हो । बल्ब खरिदको प्रस्ताव तयार भइसकेको र सरकारले स्वीकृति दिएपछि आपूर्तिको काम सुरु हुने अधिकारीले बताए ।

    ९ वाट क्षमता भएको २ करोड बल्व जडान भएपछि विद्युत् माग दैनिक १८० देखि २ सय मेगावाटसम्म बिजुली बचत हुने प्राधिकरणको अनुमान छ ।  कम्पनीले भारतमा प्रतिबल्ब ७५ भारुमा बिक्री गरिरहेको जानकारी दिएको छ ।  नेपालमा बल्बको मूल्य बढीमा १३० रुपैयाँसम्म पर्ने देखिएको उनले जानकारी दिए ।

    वितरणको खाका र मूल्य निर्धारणको काम बाँकी रहेको अधिकारीले बताए । बल्बमा ३ वर्षको वारेन्टी हुनेछ ।
    केही महिनाअघि काठमाडौंमा भएको नेपाल–भारत सचिव स्तरीय संयुक्त स्थायी समिति (जेसीडब्ल्यूआर) बैठकमा भएको सहमतिबमोजिम एलईडी बल्ब खरिदको काम अघि बढेको हो ।

    विद्युत प्राधिकरणले नियमित रूपमा बिजुली आपूर्ति गर्न थालेपछि माग घटेर साँझ (पीक आवर)मा १ हजार २१२ मेगावाटमा झरेको छ । आपूर्ति भने भारतबाट समेत गरी ९०२ मेगावाट आपूर्ति भइरहेको छ । विद्युत प्राधिकरणले यो वर्ष माग बढेर १ हजार ६ सय मेगावाट पुग्ने अनुमान गरेको थियो ।
    हाल विद्युत प्राधिकरणका आयोजनाबाट ४०१, निजी उत्पादकबाट १६३ र आयात ३३८ मेगावाट भइरहेको अधिकारीले बताए । पछिल्लो समयमा विद्युत् माग घटेपछि प्रणालीमा ३१० मेगावाटमात्र अभाव भएको छ ।

    स्रोत: बाह्रखरी