एभरेष्ट चीनी उद्योगले विद्युत उत्पादन थाल्यो

1812

माघ १४, २०७७

काठमाडौं । नेपालमा सञ्चालित चिनी उद्योगमध्ये पहिलोपटक एभरेस्ट सुगर मिल्स तथा केमिकल इन्डस्ट्रिजले को–जेनेरेशनका रूपमा विद्युत् उत्पादन शुरू गरेको छ । महोत्तरीस्थित उक्त चिनी मिल्सले परीक्षणका लागि उत्पादन गरेको विद्युत् सोमवारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली र उद्योगका प्रतिनिधिहरूको सहभागितामा सोमवारदेखि १ हप्ताका लागि परीक्षण उत्पादन शुरू गरिएको हो । १ हप्तापछि भने व्यावसायिक रूपमै विद्युत् उत्पादन शुरू हुने एभरेस्ट सुगर मिल्सका कार्यकारी निर्देशक सरेस सर्राफले बताए ।

उक्त उद्योगबाट उत्पादित विद्युत् प्राधिकरणको औराही सबस्टेशनमा जोडिएको हो । सबस्टेशन र उद्योगबीचको दूरी भने १२ किलोमीटर छ । यससँगै चिनी उद्योगबाट प्राधिकरणलाई विद्युत् विक्री गर्ने एभरेस्ट सुगर मिल्स पहिलो चिनी मिल बनेको छ ।

उक्त उद्योगले ३ मेगावाट विद्युत् उत्पादन गर्ने गरी गत पुस ८ गते विद्युत् विकास विभागबाट उत्पादनको अनुमतिपत्र लिएको थियो । यद्यपि अनुमतिपत्र अनुसार हाल ३ मेगावाट विद्युत् नै उत्पादन भएको छैन । अहिले करीब २ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको कार्यकारी निर्देशक सर्राफले बताए ।

‘अहिले पर्याप्त मात्रामा उखु पाइएको छैन । त्यसको असरले ३ मेगावाट नै विद्युत् उत्पादन गर्न सकिएको छैन,’ उनले भने । व्यावसायिक उत्पादन शुरू भएपछि दैनिक ७५ हजार युनिट विद्युत् प्राधिकरणलाई दिन सकिने उनको भनाइ छ । परीक्षण अवधिमा ५० हजार युुनिटसम्म विद्युत् उत्पादन भइरहेको उनले बताए ।

विद्युत् उत्पादन शुरू गरेसँगै कम्पनीको आम्दानीको स्रोत पनि बढेको कार्यकारी निर्देशक सर्राफले बताए । ‘पहिला चिनी नै कम्पनीको मुख्य आम्दानीको स्रोत थियो । अब विद्युत् पनि आम्दानीको बलियो आधार बन्नेछ,’ उनले भने ।

यसअघि नै प्राधिकरण र उद्योगबीच प्रतियुनिट ८ रुपैयाँ ४० पैसाको दरमा विद्युत् किनबेच गर्नेगरी सम्झौता भइसकेको छ । अब प्राधिकरणले सोहीअनुसार नै उक्त उद्योगलाई विद्युत् महसुल भुक्तानी गर्नेछ ।

हाल उक्त उद्योगबाट ११ दशमलव ५ मेगवाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमा ६–७ मेगावाट विद्युत् भने उद्योगमै खपत हुने गर्छ । खपत भएर बाँकी भएको विद्युत् प्राधिकरणलाई विक्री गर्न लागिएको हो ।

यसका अलावा रिलायन्स सुगर मिल्स र इन्दुशंकर सुगर मिल्सले पनि ३/३ मेगावाट विद्युत् उत्पादन गर्नेगरी २ वर्षअघि नै विभागबाट अनुमित लिएका छन् । यी उद्योगबाट पनि यही सिजनबाट विद्युत् उत्पादन हुने बताइएको थियो । तर, प्रसारणलाइनलगायत पूर्वाधार तयार नहुँदा उनीहरूको विद्युत् उत्पादन अन्योलमा परेको छ ।

चिनी मिलमा उखु पेलेपछि बाँकी हुने खोस्टा प्रयोग गरेर विद्युत् निकालिन्छ । हाल अधिकांश चिनी मिलहरूले त्यही खोस्टा प्रयोग गरेर विद्युत् निकाली आफै खपत गर्दै आएका छन् । कतिपय उद्योगको विद्युत् उत्पादन बढी भएर खेर पनि जाने गरेको छ । यसरी खेर जाने विद्युत् विक्री गर्न उद्योगीहरू पहिलेदेखि नै अग्रसर देखिएका थिए ।

साथै, सरकारले पनि मुलुकमा लोडशेडिङ भएको बेला २०७२ सालमा चिनी उद्योगहरूलाई पनि विद्युत् उत्पादनमा सहभागी गराउने नीति ल्याएको थियो । तर, लामो समयसम्म पनि त्यसको प्रभावकारी कार्यानन्वयन भएको थिएन । अब भने चिनी मिलबाट पनि व्यावसायिक रूपमा विद्युत् उत्पादन सम्भव रहेको संकेत देखिएको छ ।

चिनी मिलहरू उखु पाइने सिजन अर्थात् पुसको पहिलो सातादेखि चैत/वैशाखसम्म सञ्चालनमा आउँछन् । यही समयमा नेपालमा जल प्रवाह कम हुँदा विद्युत् उत्पादन पनि घट्छ । त्यो अवस्थामा हिउँदको समयमा चिनी मिलबाट पनि विद्युत् उत्पादन हुनुलाई महत्त्वका साथ हेरिएको छ ।

एभरेस्ट सुगर मिल्सका कार्यकारी निर्देशक सर्राफले यो सिजनमा फागुनको दोस्रो÷तेस्रो हप्तासम्म मात्र मिल सञ्चालन गर्न सकिने बताए । विद्युत् उत्पादन पनि सोही अवधिसम्म मात्र गरिने उनको भनाइ छ ।

 

स्रोत:आर्थिक अभियान