कुलेखानी तेस्रो अन्तिम चरणमा

1778
दुई महिनाभित्र विद्युत् उत्पादन थाल्ने दावी

हेटौंडा-२०६४ सालदेखि निर्माण सुरु भएको १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ४ वर्षभित्र सक्ने लक्ष्यका साथ सुरु भएको आयोजनाको काम ११ वर्षपछि सम्पन्न हुने क्रममा पुगेको हो ।
दुई चिनियाँ निर्माण कम्पनीलाई ठेक्का दिइएकोमा उनीहरूले ढिलाई गर्दा निर्माणको काम पर धकेलिएको जलविद्युत् आयोजनाको आरोप छ । आयोजना प्रमुख सुभाष मिश्रले जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनाभित्रै उत्पादन थाल्ने दावी गरे । एकवर्षअघिदेखि नै परीक्षण उत्पादन थाल्ने भनिए पनि अझै काम भने पूरा भइसकेको छैन । आयोजनाको सिभिलतर्फको सबै काम सम्पन्न भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अन्तिम चरणमा रहेको आयोजना प्रमुख मिश्रले बताए । “परीक्षण उत्पादन थाल्ने भनेर मिति तोक्दा तोक्दा हैरान भइसकेका छौं, अब हामी विद्युत् उत्पादन थाल्ने मिति नै त तोक्दैनौं तर, बढीमा दुई महिनाभित्रमा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेका छौंm” आयोजना प्रमुख मिश्रले भने, “सिभिलतर्फको काम ७ महिनाअघि नै सकिएको हो, अब इलेक्ट्रोमेकानिकलतर्फको काम पनि ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकको छ ।”

पछिल्लो पटक आयोजनाले पुस मसान्तसम्मा परीक्षण उत्पादन थाल्ने बताएको थियो । हेर्दा काम धेरै नदेखिए पनि गर्दै गर्दा धेरै समय लागेको आयोजनाका एक इन्जिनियरले बताए । अहिले केबुल तार तान्ने, बाँकी रहेको एउटा टावर ठड्याउने र वेल्डिङको काम भइरहेको छ । भैंसेस्थित मुख्य सुरुङ छिर्ने गेट बनाउने काम पनि तीव्र गतिमा भइरहेको आयोजनाले बताएको छ । केही चिनियाँ प्राविधिकहरू नयाँ वर्ष मनाएर केहीदिनमा फर्कने र उनीहरू आएपछि काम झनै तीव्र गतिमा अघि बढ्ने आयोजनाले विश्वास लिएको छ ।
इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङले काममा ढिलासुस्ती गरेपछि उसलाई हर्जना तिराएरै काम गराइरहिएको छ । तीन पटकसम्म म्याद थप्दा पनि काम नभएपछि सन् २०१५ देखि उक्त कम्पनीको म्याद थपिएको छैन । सन् २०१४ सेप्टेम्बर, सन् २०१५ जुन र सन् २०१५ अक्टोबरमा उसको म्याद थप गरिएको थियो । पछिल्लोपटक थपिएको म्याद पनि गुजारेपछि उसबाट हर्जना पनि भराइरहिएको छ ।
अहिले निर्माण कम्पनीले दैनिक सयभन्दा बढी कामदार र प्राविधिकहरू खटाएर काममा तीव्रता दिएको जनाइएको छ । २०६८ सालमा सम्पन्न गर्नेगरी २०६४ चैतदेखि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको थियो । जेजियाङले विद्युत् निकाल्न जेनेरेटर आपूर्ति, जडान र प्रशारण लाइनसम्म पहुँच विस्तारको काम जिम्मा लिएको थियो । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले विद्युत् गृह निर्माणको ठेक्का लिएको थियो । विद्युत् गृहभित्र टर्वाइन, जेनेरेटर, कन्ट्रोलर उपकरण जडान गर्ने काम उसले सम्पन्न गरिसकेको छ ।
आयोजना निर्माणमा ढिलाई भएसँगै लागत पनि झण्डै दोब्बरले बढेको छ । २ अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोमा काम लम्बिँदै जाँदा हालसम्म ४ अर्ब ६३ करोड खर्च भइसकेको आयोजनाका प्रमुख मिश्रले बताए । निर्माण सम्पन्न गर्दासम्म अझै लागत बढ्ने उनले अनुमान गरे ।

 

स्रोत : कारोबार