दुई वर्षमा लोडसेडिङ अन्त्य नभए यो सरकार जिम्मेवार

    1929

    दुई वर्षभित्र लोडसेडिङ अन्त्य हुने कुनै सम्भावना नरहे पनि सरकारले हावादारी घोषणा गरेको भन्दै सांसदहरुले राखेको जिज्ञासामा अर्थमन्त्री विष्णु पौडेलले यदि त्यस्तो नभए यो सरकार जिम्मेवा हुने बताउनुभएको छ

    उहाँले आगामी दुई वर्षभित्र विद्युत् भार कटौतीको अन्त्य गर्न बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा बजेट कम हुन नदिने र बजारमा तरलताको अवस्था आउन नदिन लगानीको वातावरणमा सुधार ल्याउन करको दायरा बढाएको पनि स्पष्ट पार्नुभयो ।

    शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री पौडेलले सो दावी गर्नुभएको छ । त्यस क्रममा उहाँले बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनको लक्ष्मण रेखालाई आत्मसात् गरी बजेट प्रस्तुत गरेको बताउनुभएको छ ।

    त्यस क्रममा अर्थमन्त्री पौडेलले विकास निर्माणको कार्यलाई जोड दिन ठूलो आकारको बजेट प्रस्तुत गरेको बताउनुभयो । उहाँले बजेट निर्माण गर्दा विषय विशेषज्ञसँगको छलफल र राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको सिलिङलाई आधार मानेको तथा प्राप्त स्रोत र साधनलाई मध्यनजर गरी न्यायपूर्ण समतामुलुक समाज निर्माणमा न्यायोचित बजेट विनियोजन गरेको दाबी गर्नुभयो ।

    मन्त्री पौडेलले सन्तुलित विकासका लागि सरकारले तराईका १८ जिल्लामा रु नौ अर्ब बजेट विनियोजन गरेका, काठमाडौँ द्रुतमार्ग, कृषि उद्योग, जलस्रोत कृषिको आधुनिकीकरण, सडक, विमानस्थल, सहरी विकास आयोजना, जलविद्युत्, कृषि सहकारी क्षेत्रको विकासमा सरकार सन्तुलित रहेको बताउनुभयो ।

    उहाँले आवमा ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने गरी रकम र कार्यक्रमको व्यवस्था गरेको बताउनुभयो ।

    अर्थमन्त्री पौडेलले चालु वर्षको तुलनामा शिक्षा, स्वास्थ्य इन्धन, कृषिलगायतका मन्त्रालयमा विनियोजन वृद्धि गरेको र स्थानीय निकायमा बजेट बढाएको बताउनुभयो ।

    उहाँले प्रशासनिक सुधारबाट राजस्व वृद्धि गरिने, कर सहुलियतको व्यवस्था, राजस्व चुहावट नियन्त्रण गर्ने, २३ प्रतिशत राजस्व सङ्कलन वृद्धि गर्ने, निजी क्षेत्रलाई प्रभाव नपर्ने गरी आन्तरिक ऋण उठाउने व्यवस्था गरेको र हिमाल, तराई पहाडको सन्तुलित विकासमा कटिबद्धता बजेटमार्फत अघि सारेको बताउनुभयो ।

    अर्थमन्त्री पौडेलले खोपः विश्वविद्यालय स्थापना, हेटौँडा अस्पातालाई ५० श्ययामा विस्तारका लागि बजेट विनियोजन भएको उल्लेख गर्दै आगामी दिनमा बजेट फ्रिज हुन नदिन अधिकृत स्तरको जनशक्ति परिचालन गर्ने व्यवस्था गरेको बताउनुभयो ।

    यसअघि व्यवस्थापिका–संसद्को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा आज संयन्त्र वान्तवा, पशुराम तामाङ, अनुराधा थापामगर, आशा चतुरवेदी दीपक गिरी, सुरेन्द्र पाण्डे, हितराज पाण्डे, मनमोहन भट्टराई, केशव बडाल, सीता नेपाली, नवीन्द्रराज जोशी, धनराज गुरुङ, रामेश्वर फुयाल, रोमी गौचन थकालीलगायतका सभासद्ले उठाउनुभएको जिज्ञासालाई मन्त्री पौडेलले जवाफ दिनुभएको हो ।

    बजेटको आकारमाथि चिन्ता नगर्न अर्थमन्त्रीको आग्रह