नेपालले भारतसँग विनाभेदभाव विद्युत व्यापार गर्न पाउनुपर्ने विषय उठाउने

    2686
    काठमाडौं । विद्युत व्यापार सम्झौता (पीटीए) विपरित भारतले नेपालसँग विद्युत व्यापार गर्न नोडल एजेन्सी तोकेपछि यसलाई हटाउने विषयमा नेपालले कुरा उठाउने भएको छ ।
    आउदो साता भारतको नयाँदिल्लीमा बस्ने नेपाल–भारत परराष्ट्रमन्त्री स्तरिय संयुक्त आयोगको चौथो बैठकमा नेपालले विनाभेदभाव जुनसुकै कम्पनीबाट बिजुली खरिद गर्ने पीटीएमा भएको व्यवस्था कार्यान्वयनका लागि कुरा उठाउन ऊर्जा मन्त्रालयले सुझाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत र भारतीय टोलीको नेतृत्व विदेशमन्त्री सुष्मा स्वराजले गर्नेछन् ।
    बैठकमा नेपालले उठाउने विषय तय गर्न बिहीबार बसेको विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित बैठकमा ऊर्जाले पीटीएमा भएको व्यवस्था अनुसार भारतले कार्यन्वयवन गर्न नमानेको भन्दै यसलाई गम्भीर रुपमा उठाउन सुझाएको छ । दुई देशबीच २ वर्षअघि भएको पीटीएमा विनाभेदभाव नेपाले विद्युत व्यापार गर्न पाउने व्यवस्था कार्यन्वयनमा जोड दिन परराष्ट्रमन्त्रालयलाई  सुझाएको छ । २ वर्षअघि दुई देशबीच सहज रुपमा विद्युत आदनप्रदान गर्नका लागि पीटीए भएको थियो । पीटीएको दफा २ को बीमा विनाभेदभाव दुबै देशका अधिकार प्राप्त र अनुमतिपत्र (लाइसेन्स) प्राप्त संस्थाले विद्युत व्यापार गर्न सक्ने भनेपनि भारतले गत वर्ष नेपालसंग विद्युत व्यापार गर्नका लागि एनभीभीएन विद्युत व्यापार कम्पनीलाई तोकेको छ ।
    भारतले अन्तरदेशिय विद्युत व्यापारको नीति र निर्देशिका नबनेको भन्दै तत्कालका लागि भन्दै एनभीभीएनमार्फत व्यापार गर्ने एजेन्सी तोकेको हो । विद्युत प्राधिकरणले सोही अनुसार नेपालले एनभीभीएनबाट बिजुली खरिद गरिरहेको छ । नेपाल–भारतबीच ग्रीड जोड्ने विषयमा कुरा उठाउन ऊर्जाले परराष्टमन्त्रीको ध्यानकर्षण गरेको छ ।  बैठक आउँदो बुधबारदेखि बिहीबारसम्म २ दिन चल्नेछ । मन्त्रीस्तरिय बैठकअघि दुई देशका परराष्ट्रसचिवको बैठक बस्ने छ । यसअघि दुई देशबीच भएको सम्झौता कार्यन्वयनमा बैठक केन्द्रीत हुने भएको छ । यसअघि काठमाडौमा संयुक्त आयोगको बैठक बसेको थियो ।
    • बाह्रखरी