खिम्तीको स्वामित्व हस्तान्तरण प्रक्रिया सुरु

1467

प्रतियुनिट विद्युत् लागत २१ रुपैयाँ पर्दै आएको प्राधिकरणको विश्लेषण

फाल्गुन २३, २०७६

काठमाडौँ — ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा ल्याउन आयोजना प्रवर्द्धक र प्राधिकरणबीच नेगोसिएसन (वार्ता) जारी छ । आगामी असार २६ (जुलाई १०, २०२०) भित्र खिम्तीको आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने प्रावधान विद्युत् खरिद सम्झौता (पीपीए) मा छ । आयोजना प्रवर्द्धक हिमाल पावर लिमिटेड र प्राधिकरणबीच स्वामित्व हस्तान्तरणका लागि छलफल सुरु भएको वार्तामा सहभागी स्रोतले जानकारी दिएको छ ।

स्वामित्व हस्तान्तरणको प्रावधानअनुरूप आयोजना प्रवर्द्धक र प्राधिकरणबीच संयुक्त कम्पनी स्थापना गरी आधाआधा स्वामित्व कायम हुनेछ । संयुक्त कम्पनी स्थापना गरी आधा स्वामित्व कायम भएपछि आयोजनासँग पुनः अर्को पीपीए हुनेछ । पीपीएमा समावेश हुने सैद्धान्तिक विषयबारे पनि छलफल भइरहेको प्राधिकरण स्रोतको भनाइ छ । सैद्धान्तिक विषयमा सहमति भएलगत्तै पीपीएको दरमा सहमति हुनेछ । प्राधिकरण र खिम्ती आयोजना प्रवर्द्धकबीच भएको पीपीएमा सञ्चालनमा आएको २० वर्षपछि स्वामित्व आधाआधा हुने र नयाँ पीपीए दर बजार मूल्यअनुसार कायम हुने प्रावधान छ । ‘बजार मूल्यको परिभाषा नभएकाले आगामी पीपीएमा यही दर कायम हुन्छ भन्ने छैन,।’

वार्तामा संलग्न स्रोतले जानकारी दियो, ‘खर्च, आम्दानी र प्रतिफल कति लिने भन्ने विषयका छिनोफानो भएपछि पीपीए दर टुंगो लाग्छ ।’ खिम्तीको स्वामित्व हस्तान्तरण प्रक्रियाका लागि प्राधिकरणमा चार वटा समिति र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा एउटा समिति गठन भएको र सबै समितिले काम गरिरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । खिम्ती आयोजनाका लागि नेपाल सरकारसँग भएको प्रोजेक्ट एग्रिमेन्ट (पीए) संशोधनदेखि आयोजनाको सम्पत्ति मूल्यांकनसम्मका काम भइरहेको भए पनि निष्कर्ष नआइसकेको उनको भनाइ छ ।

‘हस्तान्तरण गर्नुपर्ने मिति नजिकिँदै छ, फरकफरक समितिले आआफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्,’ उनले भने, ‘प्रवर्द्धक कम्पनीसँग पनि निरन्तर वार्ता भइरहेको छ ।’ आधाआधा स्वामित्व भएको संयुक्त कम्पनी (जेभी) गठन गर्दा सर्त कस्तो हुने भन्ने विषयमा समेत छलफल भइरहेको उनले बताए ।

खिम्ती आयोजनाको सम्पत्ति नयाँ गठन हुने कम्पनीमा हस्तान्तरण हुने भएकाले आयोजनास्थलमा सम्पत्ति मूल्यांकनको काम भइरहेको अधिकारीको भनाइ छ । अहिले आयोजनाको आम्दानी कति भइरहेको छ, आगामी दिनमा कति हुन सक्छ भन्ने वित्तीय विश्लेषणको काम भइरहेको छ ।

‘सम्पत्तिको मूल्यांकन र वित्तीय विश्लेषणपछि पीपीएको दरमा छलफल सुरु हुन्छ,’ उनले भने, ‘अहिले पीपीए दरमा छलफल सुरु भएको छैन ।’ सरकारलाई तिर्नुपर्ने इनर्जी र क्यापासिटी रोयल्टीसमेत खिम्तीका तर्फबाट प्राधिकरणले बेहोरिरहेको छ । प्राधिकरणलाई खिम्तीबाट उत्पादित विद्युत्को प्रतियुनिट मूल्य औसतमा २१ रुपैयाँ पर्ने प्रवक्ता अधिकारीले बताए ।

‘खिम्तीबाट उत्पादित ९७ प्रतिशत ऊर्जाको मूल्य अमेरिकी कन्जुमर प्राइस इन्डेक्सअनुसार वृद्धि हुन्छ,’ उनले भने, ‘बाँकी ३ प्रतिशत ऊर्जाको मूल्य राष्ट्र बैंकको तथ्यांकअनुसार बढ्छ ।’ पीपीए दरमा हुने वृद्धि र अमेरिकी डलरको भाउ बढ्दा खिम्तीको विद्युत्मा प्राधिकरणलाई दुईतर्फी मार परेको उनले बताए । गत वर्ष प्राधिकरणले खिम्तीबाट विद्युत् खरिद र रोयल्टीबापत ५४ अर्ब रुपैयाँ खर्च गरेको अधिकारीले बताए । खिम्ती निजी र विदेशी लगानीमा निर्मित पहिलो विद्युत् आयोजना हो ।

प्राधिकरणले आयोजनाबाट किनेको विद्युत्बापत डलरमा भुक्तानी गर्दै आएको छ । प्राधिकरणले खिम्तीबाट उत्पादित बिजुली आयोजनालाई प्रतियुनिट ५ दशमलव ९ सेन्ट भुक्तानी गर्ने सहमति गरेको थियो । डलरमा भएको वृद्धि र पीपीए दरमा कायम भएको वृद्धिदरका आधारमा आयोजनाबाट उत्पादित विद्युत्बापत प्राधिकरणले तिर्ने मूल्य धेरै बढेको छ ।
स्रोत:कान्तिपुर