नलगाड जलविद्युतकाे मुआब्जा दिन जग्गाधनी खोज्दै गाउँगाउँमा बैंक

1353

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, सिटिजन्स बैंक, ज्योति विकास बैंक र एनआइसी एसिया बैंकका कर्मचारीहरू गाउँगाउँमा बैंकिङ सेवा दिन पुगेका छन्

फाल्गुण २२, २०७६

जाजरकोट: नलगाड जलविद्युत् आयोजनाबाट प्रभावित हुने स्थानीय जग्गाधनी खोज्दै बैंकहरू गाउँगाउँमा पुग्न थालेका छन् । मुआब्जा वितरणका लागि जग्गाधनीको  खाता खोल्न बैंकहरू गाउँ धाउन लागेका हुन् ।

नलगाड हाइड्रोपावरले जिल्ला प्रशासन कार्यालयमार्फत अधिग्रहण गरिने जग्गाको मुआब्जा २ अर्ब ७३ करोड रकम जग्गाधनीलाई वितरण गर्न लागेको हो । सो रकम भुक्तानी लिन स्थानीयवासीहरू सदरमुकाम धाउनुपर्ने झन्झटबाट मुक्ति दिलाउन जिल्लाका सबै बैंकहरू जग्गाधनी खोज्दै ग्रामीण भेगमा पुगेका हुन् ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, सिटिजन्स बैंक, ज्योति विकास बैंक र एनआइसी एसिया बैंकका कर्मचारीहरू अहिले गाउँमा बैंकिङ सेवा दिन पुगेका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार जग्गा प्राप्ति ऐन–२०३४ को दफा १३ (२) अनुसार फागुन ५ गते बसेको मूल्य निर्धारण समितिको बैठकले प्रतिरोपनी ६ लाख मूल्य निर्धारण गरिएको छ ।

बैंकहरूले स्थानीय गाउँलेलाई वित्तीय साक्षरतासम्बन्धी कक्षा पनि चलाएको बारेकोट गाउँपालिका वाणिज्य बैंकका प्रबन्धक इलम खड्काले बताए । उनका अनुसार वित्तीय साक्षरतासम्बन्धी कक्षा चलाउने पहिलो वाणिज्य बैंक हो ।

आफ्नै गाउँमा बैंकको खाता खोल्ने सुविधा पाएपछि स्थानीयवासीहरू खुसी भएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले बताए । वित्तीय साक्षरतासम्बन्धी कक्षा लिन पाउँदा विद्यार्थी खुसी भएको सीता माध्यमिक विद्यालय कार्कीज्युलाका प्रधानाध्यापक तिलक खत्रीले बताए ।

कर्णाली प्रदेशकै महत्वपूर्ण ४१७ मेगावाटको आयोजनाको डिपिआरको काम आगामी असारमा सकिने बताइएको छ । नलगाड हाइड्रोपावरका साइट इन्चार्ज इन्जिनियर पदम थापाले जग्गा प्राप्ति ऐन–२०३४ को दफा १८ (१) अनुसार नै मुआब्जा वितरण हुने बताए । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार आयोजनाबाट प्रभावित बारेकोट गाउँपालिका १, २, ५, ६, ७, ८ र ९ का तीन हजार ९ सय ३३ जनाले मुआब्जाबापतको रकम प्राप्त गर्नेछन् । ४ हजार ६ सय ५० रोपनी जग्गाको मुआब्जा वितरण केही दिनबाट हुनेछ ।

विस्तृत आयोजना प्रतिवेदन (DPR )को जिम्मा अस्ट्रेलियाको स्मेक इन्टरनेसनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेसनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् ।

केही महिनाअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गरेको थियो । जापानी व्यवसायी एवं जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छासमेत देखाएको छ । आयोजना निर्माणका लागि १ खर्ब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

वातावरणीय व्यवस्थापनको अनुमानित लागत ५६ अर्ब रुपैयाँ लाग्ने आयोजनाले बताएको छ । साढे ६ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाको बाँध भरिँदा ४ सय ७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । यो समुद्री सतहदेखि १ हजार ५ सय ८० मिटरको उचाइमा पुग्नेछ ।

 

स्रोत:नयाँपत्रीका