
सिन्धुपाल्चोक, पुस १९ (नागरिक) – विद्युतको राष्ट्रिय प्रसारण लाइनमा ३ दसमलव ३ मेगावाट विद्युत थपिएको छ। चाकु जलविद्युत आयोजनाले निर्माण सकेर परीक्षण उत्पादन सुरु गरेपछि पाँच दिनदेखि यो क्षमताको उत्पादन थपिएको हो। १ दशमलव ८ मेगावाट क्षमताको मध्यचाकु पुरानो चाकुको १ दशमलव ५ मेगावाट थप उत्पादनको शनिबारबाट परीक्षण थालिएको आयोजनाले जनाएको छ।
पुरानो चाकुले २०६३ बाट १ दशमलव ५ मेगावाट उत्पादन गरिरहेकोमा सोही संरचानलाई परिवर्तन गरेर थप विद्युत उत्पादन गरिएको हो। लाफिङ बुद्ध हाइड्रो पावर कम्पनी लिमिटेडले मध्यचाकु निर्माण गरेको हो। मध्यचाकु निर्माण २०६४ बाट थालिएको थियो। पुरानो चाकु एलाइन्स पावर नेपाल लिमिटिडले बनाएको हो। चाकुखोलामै लाफिङ बुद्धले नै १ दशमलव ७ मेगावाट क्षमताको अर्को आयोजना पनि निर्माण गरिरहेको छ। अन्तिम चरणमा पुगेको यो आयोजना दुई महिनाभित्र पूरा हुने कार्यकारी निर्देशक समन मानन्धरले बताए।
तीनवटै आयोजना चाकुखोलामै बनेका हुन्। परीक्षण उत्पादन गरिरहेका आयोजनाले माघ पहिलो साताबाट व्यावसायिक उत्पादन थाल्ने मानन्धरले बताए। उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको लामोसाँघुस्थित सबस्टेसनमार्फत नेसनल ग्रिडमा जोडिएको छ।
तीनवटै आयोजनाका लागि ट्रान्समिसन लाइन निर्माण समेत भइसकेको छ। यही २४ किमी दोहोरो सर्किटको ट्रान्समिसन लाइन तातोपानीमा निर्माणाधीन भैरवकुण्ड जलविद्युत आयोजनाको उत्पादन पनि जोडिने छ।
चाकु र भैरवकुण्डले संयूक्त रुपमा ट्रान्समिसन लाइन बनाएका हुन्। तीनवटै चाकुमा नबिलसहित ६ बैंकले ऋण लगानी गरेका छन्। एक वर्षअघि नै सबै चाकुको निर्माण सक्ने लक्ष्य लिइए पनि स्थानीयको अवरोधले ढिलाइ भएको हो।
प्रस्तुति: नागरिक