मुआब्जाले बनायो करोडपति

    1355

    arun-3rd-muabbja-600x330

    पाथीभरा गाविस–४ का लीलाबहादुर राई हुलाकका पूर्वकर्मचारी हुन् । श्रेणीविहीन उनले गत वर्ष मात्र जागिरबाट अवकाश पाएका थिए । केही वर्षयता सपरिवार सदरमुकाम खाँदबारीमै बस्दै आएका उनी गाउँ फर्कने मनस्थितिमा थिएनन् । गाउँमा पाखोबारी त थियो, तर तीन महिना पनि खान नपुग्ने । तर, आज उनी एकाएक करोडपतिमा दरिएका छन् । बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाले डुबान तथा अन्य कारण अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा गएको बुधबारबाट वितरण गर्न थालेको छ । पाथीभरामा उनको तीन दाजुभाइको सगोलको २६ रोपनी जग्गा छ । जुन जग्गा डुबानमा पर्ने भयो र जेठा असारमान, माइला शेरबहादुर र उनले मुआब्जा पाउने भएका छन् । आयोजनाले पाखोबारीको प्रतिरोपनी आठ लाख २५ हजारका दरले मुआब्जा दिने भएको छ । त्यस्तै त्योभित्रका रूख, बिरुवा, अलैँची, घर, कटेरोको बेग्लै मूल्यांकन हुने भएको छ । ती सबैको हिसाब गर्दा तीन दाजुभाइले कम्तीमा पनि पाँच करोड पाउने निश्चित भएको छ । मुआब्जाबाट राम्रो पैसा आउने भएपछि लीलाबहादुरले खाँदबारी–१० नयाँ बजारस्थित जय चापागाईंको घर एक करोड १५ लाखमा किन्न बैना गरिसकेका छन् । त्यस्तै धरान र काठमाडौंमा पनि घर–घडेरी हेरिरहेको उनले बताए । याफुका टेकबहादुर राईले पनि मुआब्जा वितरण गरेको दोस्रो दिन तीन करोड ७१ लाख रुपैया“ बुझे । उनी पनि घर–घडेरी र जग्गा जोड्ने ध्याउन्नमा छन् । उनले केही रकम बैंक ब्यालेन्ससमेत गर्ने बताए । अरुण तेस्रोको मुआब्जामा भारी रकम पाउन थालेपछि खाँदबारीमा जग्गाको मूल्य आकासिएको छ भने बैंकले पैसा अभाव भएको भन्दै भुक्तानी मागेको जति रकम दिन सकिरहेको छैन । प्रभावितलाई २९ वर्षपछि मुआब्जा अरुण तेस्रोका प्रभावितहरूलाई २९ वर्षपछि मुआब्जा वितरण गरिएको हो । ०४४ सालमा विश्व बैंकको लगानीमा अरुण तेस्रो आयोजना निर्माण हुने तय भएको थियो । तुम्लिङटार सभाखोलादेखि आयोजनाको बाँधस्थल नुमको फ्याक्सिदा र पावरहाउस रहने स्थान दिदिङको पुखुवासम्म पुग्ने सडकखण्डअन्तर्गतका बाटोको मुआब्जा भने सोही समयमा वितरण गरिएको थियो । अहिले प्रभावित क्षेत्रमा वितरण गर्न बा“की मुआब्जा वितरण भएको हो । आयोजना निर्माणको ठेक्का पाएको भारतीय सतलज कम्पनीले अरुण तेस्रो सडक छुट्याउन माग गरेपछि पहिलो चरणमा सभाखोलादेखि खाँदबारी नयाँ बजारसम्मको सडकखण्डको जग्गासमेत छुट्याइसकेको छ । प्रभावित चार गाविस नुम, पाथीभरा, याफु र दिदिङका स्थानीयले प्रतिरोपनी १२ लाख रुपैयाँसम्म मुआब्जा पाउने भएका छन् । केही घरधुरीले १० करोडसम्म मुआब्जा पाउने देखिएको छ । बैंकमार्फत मुआब्जा वितरण आयोजनाले बैंकमार्फत प्रभावितलाई मुआब्जा वितरण गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणसँगै प्रभावितहरूको सुविधालाई मध्यनजर गर्दै बैंक खाता खोल्ने व्यवस्थासमेत गरेको छ । गाविस  र मालपोत कार्यालयबाट काम सकिएपछि प्रशासनले मुआब्जा वितरण गर्ने गरेको छ । मुआब्जा वितरण बैंक अफ काठमाण्डू लुम्बिनीबाट भइरहेको छ भने वितरणको व्यवस्थापनमा सतलजले पनि सघाइरहेको छ । प्रभावितलाई खाँदबारी आउन गाडीको व्यवस्थासमेत मिलाइएको छ । मुआब्जा लिन श्रीमान्–श्रीमती नै आउनुपर्ने भएकाले दैनिक एक हजार रुपैयाँ खान बस्न भत्तासमेत दिइने गरेको सतलज कम्पनीले जनाएको छ ।

    Posted by: Naya Patrika