३१ अर्ब ८४ करोड खर्च, ६ अर्ब ४३ करोड लागत बढ्यो

    1180

    दोलखामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य करिब ८२ प्रतिशत पूरा भएको छ । असोज मसान्तसम्म आयोजनाको निर्माण कार्य ८१ दशमलव ९ प्रतिशत पूरा भएको र अहिलेसम्म ३१ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले आइतबार विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन् । आर्थिक वर्ष ०७२÷७३ को अन्त्यसम्म भएको भौतिक प्रगतिलाई आधार लिई ८२ दशमलव ३ प्रतिशत भौतिक लक्ष्य लिएकोमा चालू वर्षको पहिलो तीन महिनासम्ममा ८१ दशमलव ९ प्रतिशत भौतिक प्रगति भएको उनले बताए । आयोजनाका अनुसार हेड वक्र्स कंक्रिट गर्ने काम ८५ दशमलव ३ प्रतिशत, मुख्य सुरुङ खन्ने काम ८१ दशमलव २ प्रतिशत र टेलरेस सुरुङ निर्माणको काम शतप्रतिशत पूरा भएको छ । यस्तै, अडिट टनेललगायतका सहायक सुरुङ मार्गहरू खन्ने काम ९९ दशमलव २ प्रतिशत सकिएको छ भने विद्युत्गृह र ट्रान्सफर्मर क्यार्भन खन्ने काम शतप्रतिशत पूरा भएको छ । विद्युत्गृह र ट्रान्सफर्मर क्यार्भनमा कंक्रिट गर्ने काम भने ८८ दशमलव २ प्रतिशत मात्रै पूरा भएको छ । भूकम्प, नाकाबन्दीलगायतका कारण आयोजना निर्माण सम्पन्न हुने समय २ वर्ष धकेलिएको छ । १० पुस ०७२ मा ३ सय ९ मेगावाट र ३० असार ०७३ मा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिए पनि आगामी असार ०७५ मा मात्रै आयोजना सम्पन्न हुने अनुमान गरिएको छ । विनाशकारी भूकम्पले सिँगटीदेखि लामाबगरसम्मको प्रवेश मार्गमा क्षति पुगेपछि माथिल्लो तामाकोसीको काम लामो समयसम्म सुचारु हुन सकेको थिएन । भूकम्पले क्षतिग्रस्त भएको गोँगरस्थित विद्युत्गृहदेखि लामाबगरस्थित बाँधस्थलसम्मको ११ किलोमिटर सडकमध्ये करिब ४ किलोमिटर खण्ड अझै खुल्न बाँकी रहेको छ । बाँकी खण्डको काभ्रेभिरनजिकै ३ सय ३० मिटर लामो सुरुङ मार्ग खन्न सुरु गरिए पनि अहिलेसम्म १ सय ८८ मिटर मात्रै खन्ने काम पूरा भएको छ । सुरुङ मार्गसहित प्रवेश मार्गको पुनर्निर्माणको काम आगामी मंसिर महिनाभित्र सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । आयोजनाको विद्युत्गृहमा कंक्रिट गर्ने काम धमाधम भइरहे पनि माथिल्लो पेन स्टक स्याफ्टको ‘पाइलट होल’ खन्ने काम अझै अघि बढ्न सकेको छैन । यसअघि स्याफ्टको पुछारबाट ‘पाइलट होल’ खन्ने कार्य भइरहेकामा १ सय ८७ मिटर सम्पन्न भएपछि कमजोर चट्टानका कारण स्थगित गरिएको थियो । बाँकी खन्ने काम माथिबाट ‘डाउन द होल’ प्रविधिबाट गरिने लक्ष्य रहेको आयोजनाले जनाएको छ । यसैगरी मुख्य सुरुङको तल्लो खण्डबाट सुरुङ खन्ने काम गत असार महिनाबाट सुरु गर्ने लक्ष्य राखिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन । आयोजना प्रमुख श्रेष्ठले मुख्य सुरुङको तल्लो खण्ड जाने सहायक मार्ग भूकम्पका कारण भत्किएकाले रोकिएको काम अब आउँदो वर्षापछि मात्रै सुरु गर्न सकिनेछ । ३५ अर्ब २९ करोड कुल लागत रहेको ४ सय ५६ मेगावटको माथिल्लो तामाकोसी आयोजना निर्माणमा लागत अनुमान गरिएको रकममध्ये अब ३ अर्ब ४५ करोड मात्रै खर्च हुन बाँकी रहेको छ । भूकम्प, नाकाबन्दी, बन्दहडताललगायतका कारण निर्माण कार्य दुई वर्ष पछि धकेलिँदा माथिल्लो तामाकोसीको प्रक्षेपित लागत ४१ अर्ब ७२ करोड अनुमान गरिएको छ ।

    Source: Naya Patrika