नेपालका ठूला परियोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न विनोद चौधरीको आग्रह

    1297

    काठमाडौं ।  चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालका ठूला परियोजनामा लगानीका लागि चिनियाँ लगानीकर्तालाई  प्रोत्साहित गर्न नेपालका लागि चिनका राजदूत यु होङलाई आग्रह गरेका छन् । मंगलबार चौधरी ग्रुपको अवलोकन भ्रमणमा आएका चिनियाँ राजदूतावासका उच्च पदस्थ अधिकारीहरुलाई स्वागत गर्दै अध्यक्ष चौधरीले चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने यो उपयुक्त समय रहेकोमा पनि जोड दिए ।

    ‘पक्कै पनि नेपालमा चिनियाँ लगानी बृद्धि भईरहेको छ । तर, जलस्रोत, पूर्वाधार र वित्तिय क्षेत्रका वृहत परियोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्नु जरुरी छ’, अध्यक्ष चौधरीले भने, ‘नेपाल चिनियाँ लगानीकर्तालाई स्वागत गर्न तयार छ ।’

    नेपालका वृहत परियोजनामा चिनियाँ र नेपाली लगानीकर्ताबीचको साझेदारी प्रभावकारी हुने धारणा राख्दै अध्यक्ष चौधरीले त्यसका लागि दुवै देशका सरकारले आ–आफ्नो देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

    नेपालमा लगानीको वातावरण कमजोर रहे पनि लगानी पश्चातको प्रतिफल अन्य राष्ट्रहरूकोभन्दा उच्च रहेकाले विश्वभर लगानी फैलाईरहेका चिनियाँ लगानीकर्ताका लागि छिमेकी देश नेपाल आकर्षक गन्तब्य बन्ने उनले बताए ।

    नेपालको आर्थिक विकास एवं सामाजिक सेवाका क्षेत्रहरुमा निरन्तर सहयोग गर्दै आएकोमा अध्यक्ष चौधरीले चीन सरकारलाई धन्यवाद पनि दिए ।

    उक्त अवसरमा चिनियाँ राजदूतावास र चौधरी ग्रुपका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती थियो ।

    चिनियाँ राजदूत होङले नेपाल र चिनबीचको आर्थिक सम्वन्ध थप बलियो बन्दै गएकोमा खुसी ब्यक्त गर्दै दुई देशका निजी क्षेत्रबीच सहजीकरण गर्न आफु तयार रहेको बताए ।

    उनले चीनसँगको व्यवासायिक कारोबारमा कुनै समस्या छ कि भन्ने चासो समेत राख्नु भएको थियो । नेपालमा चौधरी ग्रुपले सामाजिक क्षेत्रमा पु¥याएको योगदान सकारात्मक रहेको उनले बताए ।

    नेपाल र चीनका विभिन्न शहरहरूवीच सिधा हवाई सम्पर्क कायम हुनुले दुई देशवीचको आर्थिक सम्वन्ध पनि विस्तार हुदै जाने विश्वास उनले व्यक्त गरे ।

    स्रोत:बाह्रखरी