दुई जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज

    2951

    district myagdiबाबियाचौर (म्याग्दी), फागुन २ -ऊर्जा मन्त्रालयले विद्युत् उत्पादनका लागि अनुमति लिएर काम नगरेका म्याग्दीका दुई जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरेको छ।

    विद्युत् विकास विभागका अनुसार यसै हप्ता ९३.२ मेघावाट क्षमत्ताका दुईवटा आयोजनाको अनुमतिपत्र खारेज गरिएको हो। दिनबन्धु अग्रवाल प्रवर्द्धक रहेको ६१ दशमलब २ मेघावाटको माथिल्लो म्याग्दी र सनराइज हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको ३२ मेघावाट क्षमत्ताको म्याग्दीखोला जलविद्युत् आयोजनाको अनुमति खारेज गरिएको विभागले जनाएको छ।

    तोकेको शुल्क तिरेर नवीकरण नगरेको र मागेको विवरण नबुझाएकाले अनुमतिपत्र खारेज गरिएको विभागका वरिष्ठ इञ्जिनियर एवम् सूचना अधिकारी गोकर्णराज पन्तले बताए। उनका अनुसार मन्त्रालयले एक हप्ताको अवधिमा म्याग्दीका दुईसहित १४० मेघावाट क्षमत्ताका छ वटा आयोजनाको अनुमतिपत्र खारेज गरेको छ।

    म्याग्दी जिल्लाका २६ खोला विद्युत् उत्पादनका लागि सर्वेक्षण भन्दै दर्ता भए पनि आधादर्जनले मात्र अहिलेसम्म काम अघि बढाएको जिविसले जनाएको छ। अनुमतिपत्र लिएर एक दशकभन्दा बढी समयदेखि काम नगरेका आयोजना खारेजीमा परेपछि नयाँ लगानीकर्ताको लागि बाटो खुल्ने बताइएको छ।

    म्याग्दी जिल्लाका विभिन्न नदीमा एक हजार मेघावाट विद्युत् उत्पादनको सम्भावना रहेकाले लगानीकर्तालाई आकर्षित गर्न जलविद्युत् आयोजनामा अवरोध नगर्ने प्रतिबद्धतासहित जलविद्युत् घोषणापत्रसमेत जारी गरिएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले बताए। रासस