ताप्लेजुङका खोलानदीले धान्न सक्छन् देशकै बिजुली माग

1602
– १४३८ मेगावाटका लागि अध्ययन र निर्माण अनुमति
– ४० मेगावाट उत्पादन सुरु
– ७३ मेगावाटको मध्य तमोर निर्माणाधीन
पुस १५, २०७६
ताप्लेजुङ— जिल्लामा बग्ने विभिन्न नदी र खोलाको पानी उपयोग गरे मुलुकको बिजुलीको माग धान्ने गरी ऊर्जा उत्पादन हुने पाइएको छ । ऊर्जा मन्त्रालयको तथ्यांकअनुसार यहाँका खोलानदीबाट १ हजार ४ सय ३८ मेगावाट विद्युत् उत्पादनका लागि सरकारले केही कम्पनीलाई अध्ययन र कतिपयलाई निर्माणको अनुमति दिइसकेको छ ।
यीमध्ये ४० मेगावाट उत्पादन भइसकको छ भने ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजना निर्माणाधीन छ । तमोर जलाशय पनि निर्माण भए ७६२ मेगावाट थपिन्छ । यसले अहिलेको मुलुककै विद्युत् माग धान्न सक्छ । तमोर जलाशयमा जम्मा हुने पानीको ठूलो हिस्सा ताप्लेजुङबाट बग्ने नदी नै रहेको काबेली ‘ए’का पूर्वप्रबन्धक तथा इलेक्ट्रोनिक इन्जिनियर वीरेन्द्र श्रेष्ठले बताए । जलाशयसमेत गर्दा विद्युत्को कुल उत्पादन २२ सय मेगावाट हुन्छ ।
मन्त्रालयबाट कम्पनीहरूले ५ देखि ४ सय १५ मेगावाटसम्मको उत्पादन प्रस्ताव गरेका छन् । किलोवाटका हिसाबले डेढ मेगावाट विद्युत् जिल्लाका ससाना खोलावाट उत्पादन भई गाउँमा सञ्चालनमा छन् । अढाईदेखि पाँच सय किलोवाट उत्पादनका क्रममा छन् ।

ऊर्जा मन्त्रालयमा दर्ता भएका मध्ये ताप्लेजुङको सबैभन्दा ठूलो ४ सय १५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजना हो । यसको निर्माणका लागि तमोर सानिमा इनर्जी प्रालिले प्रस्ताव गरेको छ । ०६८ मंसिर २९ मा प्रारम्भिक सर्वेक्षणको अनुमति मागेको कम्पनी निर्माण सुरु गर्ने चरणमा छ । फक्ताङलुङ गाउँपालिकाका वडा नम्बर १ देखि ४ का तापेथोक, सावादिन, खेजेनिम र लिंखिम यसको प्रभावित क्षेत्रमा पर्छन् । यही कम्पनीले मध्य तमोर जलविद्युत् आयोजना (७३ मेवा) निर्माण गरिरहेको छ । अपर आयोजनाका लागि पनि कामदारका लागि बस्ने ठाउँ मित्लुङमा बनाइएको आयोजना प्रमुख मणिराज पोखरेलले जानकारी दिए ।

मध्यदेखि अपर तमोरसम्मको सडक स्तरोन्नतिको काम पनि आयोजनाले नै गर्ने सम्झौता भइसकेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले बताए । अपर तमोरका लागि जग्गा व्यवस्थापन गर्ने, त्यहाँ रहेको तापेथोक प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत सरकारी संरचना सार्नेलगायतको तयारी पनि भइरहेको उनको भनाइ छ ।

फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाको टिप्ताला भन्ज्याङबाट सुरु भएको तमोर नदीबाट मात्रै ७ सय ८९ मेगावाट विद्युत् उत्पादन गर्न सकिने मन्त्रालयको तथ्यांक छ । यो काबेली नदीमा नमिसिँदै उत्पादन हुने मेगावाट हो । यसका लागि उत्पादक कम्पनीहरूलाई अध्ययनको जिम्मा दिइएको छ । युनियन हाइड्रोपावर लिमिटेड ललितपुरले ओलाङचुङगोला प्रभावित क्षेत्र हुने गरी ७२ मेगावाटको प्रस्ताव गरेको छ । उसले अपर तमोर ‘ए’ जलविद्युत् आयोजनाअन्तर्गत प्रस्ताव गरेको हो । रिभर साइड हाइड्रोइनर्जी प्रालिले तमोरखोला ५ प्रस्ताव गरेको छ ।

४० मेगावाट उत्पादन हुने यसको प्रभावित क्षेत्र फक्ताङलुङ ६ लेलेप मात्रै हुन्छ भने लेलेपमै संरचना बन्ने गरी अपर तमोर हाइड्रोपावर प्रालिले ३२.५ मेगावाटको प्रस्ताव गरेको छ । ओलाङचुङगोला र लेलेप प्रभावित क्षेत्र हुने गरी १ सय ५५ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनाले पनि प्रस्ताव गरेको छ । क्रिस्टल पावर डेभलपमेन्ट प्रालिले यसको अध्ययन अनुमति पाएको छ ।
तमोर नदीसँग संयुक्त आयोजनाका रूपमा घुन्सा तमोर जलविद्युत् आयोजना प्रस्ताव गरिएको छ । ४३ मेगावाटको यो आयोजना ब्लुस्टार होटल कम्प्लेक्स थापाथली काठमाडौंले प्रस्ताव गरेको हो । उसले फक्ताङलुङ ६ लेलेपमै संरचना बनाउने बताएको छ । मिक्वाखोला १ र २ को खोक्लिङ र फुङलिङ नगरपालिका १, २, ३, र ७ नम्बर वडामा संरचना बन्ने गरी १ सय २८ मेगावाटको तमोर मेवा जलविद्यत् आयोजना प्रस्ताव गरिएको छ । स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्ने यो आयोजनाले यसै वर्षदेखि निर्माण सुरु गर्ने जानकारी दिएको छ । अन्तिम सर्वेक्षणको काम भइरहेको सञ्चालक समिति अध्यक्ष भानेन्द्र लिम्बूले बताए । त्यो सकिएपछि निर्माण अनुमति लिएर काम सुरु गर्ने उनको भनाइ छ । तमोर नदीमा मिसिने मेवाखोलामा उत्पादनका लागि अपर मेवाखोला ए २८, मिडिल मेवा ४९, मेवाखोला ५०, मेवाखोला ए २३ र अपर मेवाखोला १५.५ मेगावाट छन् ।

मिक्वाखोला गाउँपालिका ४ साँवा र ५ पापुङमा संरचना बनाउने गरी सूर्य होल्डिङ कम्पनी र मिक्वाखोला, मैवाखोला गाउँपालिकाका लिवाङ, साँवा, नाल्वु, पापुङ र थुकिम्बामा संरचना बनाउने गरी मेवा डेभलपमेन्ट कम्पनीले मिडिल मेवा निर्माण गर्ने भएका हुन् । यी कम्पनीले यसै महिनाबाट निर्माण सुरु गर्ने बताएका छन् ।

मिक्वाखोला र मेरिङदेन गाउँपालिकाका खाम्लुङ, खोक्लिङ, लिङतेप, लिबाङ र थुकिम्बामा संरचना रहने गरी मेवाखोला हाइड्रोपावर प्रोजेक्टले पनि काम सुरु गर्ने तयारी गरेको छ । मिक्वाखोलाको पापुङमा युनियन मेवा हाइड्रोले प्रस्ताव गरेको छ । मैवाखोला र मेरिङदेन गाउँपालिकाको फाकुम्वा, साँघु, ढुङगेसाँघु र थिङलावु प्रभावित क्षेत्र हुने गरी जयकुमार लिम्बूले प्रस्ताव गरेका छन् ।

ताप्लेजुङ र तल्लो केही भाग ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीबाट एक सय २४ मेगावाट उत्पादन हुन्छ । २४ मेगावाटको काबेली बी उत्पादन सुरु भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ । सुपर काबेली ‘ए’ १५, सुपर काबेली २०, काबेली तीन २१, अपर काबेली ९.५, काबेली ‘ए’ ३४ मेगावाट उत्पादन हुन बाँकी छन् । काबेली ‘ए’ निर्माणाधीन छ ।

सिरिजंघा गाउँपालिका–८ याम्फुदिनमा निर्माण हुने सुपर काबेली ‘ए’ स्नो रिभर प्रालिले बनाउँदै छ । खेवाङ, मामांखे र याम्फुदिनमा संरचना बन्ने गरी युनियन हाइड्रो इनर्जी प्रालिले सुपर काबेली, खेवाङ, मामांखे, पेदाङ, मेहेले र तेल्लोकमा संरचना बन्ने गरी काबेली हाइड्रोपावर कम्पनीले काबेली ३ निर्माण गर्ने जनाएका छन् । सिदिङवा र सिरिजंघा गाउँपालिकाअन्तर्गत साब्लाखु, सिनाम र थुम्बेदिनमा संरचना बन्ने गरी अपर काबेली निर्माण गरिनेछ ।

तमोर, काबेली, मैवाबाहेक घुन्साखोलाबाट घुन्सा रेमिट हाइड्रोपावरले लेलेपमा ७१, सिम्बुखोलाबाट रेमिट हाइड्रोपावरले नै तापेथोकमा ५४, तापेथोक र याम्फुदिनमा संरचना रहने गरी सिम्बुखोलाबाट सिम्बुवा हाइड्रोपावरले ४७, पालुङखोला हाइड्रोपावरले पापुङमा २१, एमए इनर्जी भेन्चरले सुरुमखिम र खेवाङमा १० मेगावाट निर्माणका लागि ऊर्जा मन्त्रालयबाट अनुमति लिएका छन् ।

साब्लाखुमा लंवाखोलाबाट श्रीराम न्यौपाने र सिर्जना खड्काले ६.९, लम्बाखोलाबाट गोपाल मैनालीको मिडिल लम्बाखोला हाइड्रोपावरले १५ मेगावाट निर्माण गर्ने भएका छन् । यो ताप्लेजुङको आंखोप र पाँचथरको फलैंचा तथा च्याङथापुमा संरचना बनाएर निर्माण हुन्छ । पापुङमा पालुङखोला हाइड्रोपावर प्रालिले २१ मेगावाटको प्रस्ताव गरेको छ । जिल्लामा अहिलेसम्म काबेली बी (२४), रैराङ (१०) र फावाखोलाबाट ५ मेगावाट उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यहाँ उत्पादित बिजुली विस्तारका लागि काबेली करिडोर सञ्चालनमा आइसकेको छ भने कोसी करिडोर निर्माण सुरु भइसकेको छ ।
आनन्द गौतम
स्रोत:कान्तिपुर