एक वर्षमा ‘सुपर माई ए’को ७० प्रतिशत प्रगति

1816

पुष १४, २०७६

इलामनिर्माण सुरु भएको एकै वर्षमा ९.६ मेगावाटको सुपर माई ए जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत बढी भएको छ । २०७५ मंसिरदेखि पूर्वाधार काम थालेको आयोजनाले हेडवक्सको काम अन्तिम चरणमा पुगेको छ भने अहिले पेन स्टकपाइप जडान र विद्युत् गृहको काम धमाधम भइरहेको छ ।

आयोजनाको बाँध क्षेत्रमा डिसेन्डर (बालुवा थिग्राउने पोखरी), पहुँच नहरको काम पूरा भएको छ । अहिले नदीलाई फर्काएर बायाँतर्फ बाँध निर्माणको काम भइरहेको छ । हेडवक्स क्षेत्रमा अब एक महिनाभित्र सबै काम पूरा गरी परीक्षणसमेत गर्ने कार्यतालिका रहेको आयोजनाको प्रवद्र्धक कम्पनी सगरमाथा जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक मोहनविक्रम कार्कीले बताए ।

सर्ज ट्याङको निर्माण पूरा भएको छ । यो आयोजना एक्कासी बन्द हुँदा पानी जम्मा हुने ट्यांक हो । आयोजनाको ४ हजार १ सय मिटर पेनस्टक पाइपका लागि जग खन्ने र पाइप जडानको काम तीव्र गतिमा भइरहेको छ । पाइप जडानको काम पनि आधाभन्दा बढी पूरा भएको छ । भिरालो जग्गामा पाइप अड्याउनका लागि बीमहरुसमेत तयार भइसकेका छन् ।

कम्पनीका निर्देशक माधवप्रसाद मैनालीले आयोजनाबाट २०७७ वैशाखबाट विद्युत् उत्पादन गर्नेगरी काम भइरहेको बताए । नेपाल विद्युत् प्राधिकरणले २०७७ पुससम्मको अवधि तोकेको भएपनि ९ महिनाअघि नै सम्पन्न हुने मैनालीको दाबी छ । विद्युत् गृहको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

३ मेगावाटको सुपर माई क्यासकेटसमेत समानान्तर रुपमा अघि बढाएको यही समूहले दुवै आयोजना एकै समयमा पूरा गर्ने लक्ष्य राखेको छ । गत असोजबाट पूर्वाधारको काम सुरु गरेको आयोजना ७ महिनाभित्रै पूरा गर्ने लक्ष्य राखेको छ । आयोजनाको हेडपोनसम्मको २४० मिटर क्यानल निर्माण पूरा भएको छ ।

क्यासकेट आयोजनाको सिभिलतर्फको भवन निर्माण भइरहेको छ । १२ सय मिटर पेनस्टक पाइपको काम केही समयमै सुरु हुने आयोजना व्यवस्थापक उत्तम पौडेलले जानकारी दिए । केही दिनमै दुवै आयोजनाको पावर हाउसका उपकरण ढुवानी सुरु हुने भएकाले माघ एक महिनापछि पावर हाउसको उपकरण जडानको कामसमेत सुरु हुने उनले बताए ।
इलाम नगरपालिका र जोगमाई गाउँपालिकाको सिमाना भएर बग्ने माइ खोलाको पानी प्रयोग गरी यी आयोजना निर्माणाधिन छन् । दुवै आयोजनामा सानिमा बैंक, सिद्धार्थ बैंक, एनसिसी बैंक, सेञ्चुरी बैंक र ज्योती विकास बैंकले ऋण लगानी गरेका छन् ।

सुपर माई एको लागत १ अर्ब ८९ करोड रहेको छ भने सुपर माई क्यासकेटको लागत ५६ करोड रुपैयाँ रहेको छ । दुवै आयोजना नेपाल विद्युत् प्राधिकरणको गोदक सवस्टेशनमा जोडिने छन् । दुवै आयोजनाबाट गोदकसम्मको ३३ केभी प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ ।

जलविद्युत् क्षेत्रमा छिरेको यही समूहले ६ वर्षको अवधीमा साढे १२ मेगावाट बराबरका ३ आयोजनाको निर्माण सम्पन्न गरेर प्रसारण प्रणालीमा जोडिसकेको छ । यसअघि माई खोलामै सुपरमाई ७.८ मेगावाटको जलविद्युत् आयोजनाबाट १३ महिनादेखि विद्युत् उत्पादन सुरु गरेको छ । यो आयोजना १८ महिनामा पूरा गरेको हो ।
नेपालमै पहिलो पटक सबैभन्दा छोटो समयमा जलविद्युत् आयोजना पूरा गरी केन्द्रीय प्रसारण लाइनमा जोडेपछि नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागबाट सम्मानित भएका छन् । यी सबै आयोजना नदी प्रवाहमा आधारित आयोजना हुन् ।

 

 

दिलबहादुर केसी

 

स्रोत:कारोबार