पूर्वमा घट्यो करिव चार प्रतिशत विद्युत चुहावट

    1574

     काठमाडौं । प्रदेश नम्बर एकका नौ जिल्लामा चालू आर्थिक वर्ष २०७४/७५ को माघसम्ममा  नम्बर एकमा विद्युत चुहावट करिब ४ प्रतिशत घटेको छ ।

    नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गतका १७ बितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्ष ०७३÷७४मा रहेको १७.६५ प्रतिशत चुहावटलाई माघसम्ममा ३.९१ प्रतिशतले  घटाएर १३.७४ प्रतिशत कायम गरेका हुन् । क्षेत्रीय कार्यालय अन्तर्गतको बितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ । प्रणालीबाट सात करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ । विराटनगर बितरण केन्द्रले १४.०५ प्रतिशत रहेको चुहावटलाई ४.२१ प्रतिशतले घटाएर ९.८४ प्रतिशत कायम गरेको छ । ८.९५ प्रतिशत रहेको विद्युत चुहावटलाई दुहवी बितरण केन्द्रले ३.०७ प्रतिशतले घटाएर ५.८८ प्रतिशत कायम गरेको छ । बिराटनगर र दुहवी कार्यालय अन्तर्गत ठूला औद्योगिक ग्राहकहरु छन् । दमक बितरण केन्द्रले ४.७३ प्रतिशतले चुहावट घटाएको छ । केन्द्रले असारसम्मको २३.२२ प्रतिशतको चुहावटलाई घटाएर १८.४९ प्रतिशतमा झारेको हो । मोरङको रंगेली बितरण केन्द्रको चुहावट भने अझै ३२.३० प्रतिशत छ । असासम्ममा ३६.४२ प्रतिशत चुहावट रहेको माघसम्ममा ४.१२ प्रतिशत मात्रै घटेको छ । इनरुवा बितरण केन्द्रको ३६.५९ प्रतिशतको चुहावट १०.०७ प्रतिशतले घटेर २६.५२ प्रतिशत पुगेको छ । यसैगरि, वेलबारी बितरण केन्द्रको २६.१३ प्रतिशत चुहावट १.२४ प्रतिशतले घटी २४.८९ प्रतिशतमा सीमित भएको छ । विद्युत चोरी नियन्त्रणका लागि चालिएका कदम, ट्रान्सफर्मर तथा बितरण लाइनको सदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यासम्पादन सम्झौता लगायतका कारण चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चोरी नियन्त्रण तथा बक्यौता असुली अभियानले गैर प्राविधिक चुहावटमा कमी आएको छ, ओभरलोडमा रहेको ट्रान्सफर्मर फेरिरहेका छौं जसले गर्दा प्राविधिक चुहावटमा क्रमिकरुपमा कमी आइरहेको छ’,उनले भने,‘अझै चुहावट नियन्त्रण अभियानलाई हामी अझै शसक्तरुपमा अगाडि बढाउँछौं ।’ चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्राधिकरणको यही अभियानलाई साथ दिंदै झापाको कनकाई नगरपालिकाले आफ्नो क्षेत्रलाई ‘विद्युत चुहावट मुक्त’ घोषणा गरिसकेको छ ।

    पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले गर्मी सुरु भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने बताए । ‘माघसम्मको तथ्याङ हेर्दा विद्युत चुहावट नियन्त्रणका लागि हामीलाई दिइएको टार्गेटभन्दा कम छ, तर गर्मी सुरु हुनासाथ ट्रान्सफर्मर र ३३ केभी लाइन ओभरलोड हुँदा नियन्त्रणमा चुनौती थपिन्छ’,उनले भने,‘तर,हामीलाई दिइएको टार्गेट पूरा गर्ने प्रयासमा क्रियाशील छौं ।’ क्षेत्रीय कार्यालयलाई गत आबमा रहेको १७.६५ प्रतिशत चुहावटलाई घटाएर  १४ प्रतिशतमा झार्ने टार्गेट दिइएको छ । गत असारसम्म प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालू
    आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये बितरणतर्फ रहेको १६.८२को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।