खिम्ती–२ मा चिनियाँ कम्पनीको लगानी

    1181

    ४९ मेगावाट क्षमताको आयोजनामा ९ अर्ब लगानी भित्रिँदै

    चिनियाँ कम्पनीले नेपालको निजी क्षेत्रले प्रवद्र्धन गरिरहेको खिम्ती २ जलविद्युत् आयोजनामा ९ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । यो निजी क्षेत्रबाट प्रवद्र्धित नेपालको जलविद्युत् आयोजनामा चिनियाँ सरकारी कम्पनीबाट हुन लागेको ठूलोमध्येको एक लगानी हो ।

    चीनको छोङछिङ वाटर एन्ड टर्बाइन वक्र्स कम्पनी (सिडब्लुटिसी)ले नेपालको पिपुल्स इनर्जी लिमिटेडद्वारा प्रवद्र्धित खिम्ती–२ आयोजनामा लगानी गर्ने भएको हो । ४९ मेगावाट क्षमताको यो आयोजना नेपालको निजी क्षेत्रले प्रवद्र्धन गरेको ठूलोमध्येको एक आयोजना हो । सिडब्लुटिसी चीनको सरकारी जलविद्युत् कम्पनी हो ।

    लगानीसम्बन्धी सम्झौतापत्रमा आगामी १४ मार्चमा हस्ताक्षर हुने भएको छ । त्यसका लागि पिपुल्स इनर्जी लिमिटेडका प्रतिनिधि चीन जाने भएका छन् । चिनियाँ सरकारी कम्पनीले नेपालको निजी क्षेत्रले प्रवद्र्धन गरेको जलविद्युत् अयोजनामा लगानी गर्ने भएसँगै निजी क्षेत्रले प्रवद्र्धन गरेका अन्य आयोजनामा पनि लगानी भित्रिने अपेक्षा गरिएको छ ।

    बुढीगण्डकीलगायतका ठूला आयोजनामा लगानी गर्न चाहिरहेको चिनियाँ सरकारी कम्पनीहरूले निजी क्षेत्रबाट प्रवद्र्धन गरेको जलविद्युत् आयोजनामा पनि लगानी सुरु गरेर नेपालको निजी क्षेत्रसँगसमेत सहकार्य गर्न तयार रहेको सन्देश दिएको नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले बताए । चीनसँग लगानीका लागि प्रशस्त पैसा र प्रविधि भएको भन्दै उनले चिनियाँ लगानी आकर्षित गर्न सकिए नेपालको जलविद्युत् क्षेत्रलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।

    पछिल्लो समय नेपालको जलविद्युत्मा चिनियाँ लगानी बढ्दै गइरहेको छ । सिनो हाइड्रो कर्पोरेसनले नेपालीसँगको साझेदारीमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    यो आयोजनामा चितवन कोई समूहको १० र बाँकी ९० प्रतिशत लगानी सिनो हाइड्रोको छ । त्यस्तै, चाइना थ्री गर्जेज कर्पोरेसनको सहायक कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्ल्युई)ले २५ मेगावाटको मादी–१ आयोजना निर्माण गरिरहेको छ । मादीमा सिडब्ल्युईको ८० र नेपालको गोरखा कन्ट्रक्सन कम्पनीको २० प्रतिशत लगानी छ ।

    चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरसनले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती आयोजना बनाउने तयारी पनि गरिरहेको छ । लगानी बोर्डले १ खर्ब ६० अर्ब रुपैयाँ वैदेशिक लगानी ल्याउन थ्री गर्जेजलाई अनुमति दिइसकेको छ । नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेजबीच संयुक्त आयोजना विकास सम्झौता (पिडिए)मा हस्ताक्षर भइसकेको छ ।

    स्रोत:नयाँपत्रीका