तामाकोसीको उत्पादनमा सघाउने रोल्वालिङ आयोजना बन्न अझै ५ वर्ष लाग्ने

1862

२२ मेगावाटको रोल्वालिङ आयोजना तामाकोसी सञ्चालनमा आएको ४ वर्षपछि मात्रै बन्ने

श्रावण १, २०७६

अपर तामाकोसी जलविद्युत् आयोजनालाई पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सघाउने रोल्वालिङ खोला–माथिल्लो तामाकोसी डाइभर्सन जलविद्युत् आयोजना बन्न अझै कम्तीमा ५ वर्ष लाग्ने भएको छ । अपर तामाकोसीलाई ४ सय ५६ मेगावाटमा डिजाइन गरी निर्माण सुरु गर्दा नै (२०६८ मै) रोल्वालिङको पानी तामाकोसीमा ‘डाइभर्ट’ गरी पूर्ण क्षमतामा उत्पादन अवधि बढाउने योजना थियो । डाइभर्सनको पानीलाई बीचमा प्रयोग गरी २२ मेगावाटको छुट्टै रोल्वालिङ आयोजनासमेत निर्माण गर्ने योजना बनाइयो ।

तर, २०७७ को असारभित्र अपर तामाकोसी सञ्चालनमा ल्याउने तयारी भए पनि अहिलेसम्म रोल्वालिङ आयोजनाको डिपिआर नै तयार नभएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । ‘आयोजनाको सम्भाव्यता अध्ययन अनुमति लिएर हाल डिपिआर निर्माणको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘अबको ३ महिनामा डिपिआर निर्माण सकिन्छ, त्यसैका आधारमा ०७७ को असारपछि निर्माणमा जाने गरी अनुमति लिने, वित्तीय व्यवस्थापन गर्ने र ठेक्का प्रक्रिया पूरा गर्ने काम हुन्छ ।’ उक्त आयोजनाको डिपिआर नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ लिमिटेडले बनाइरहेको छ । अपर तामाकोसीले १८ महिनामा निर्माण गरिसक्ने गरी २९ फागुन ०७३ मा एनइए इन्जिनियरिङलाई डिपिआरको जिम्मा दिएको हो । सोअनुसार डिपिआर निर्माण गर्ने समयसीमा ६ असोज ०७६ सम्म छ ।

६ किलोमिटर सुरुङ, १३.४ क्युमेक्स पानी खसालिने 
डाइभर्सन आयोजनाअन्तर्गत रोल्वालिङ खोलाको १३.४ क्युमेक्स पानी अपर तामाकोसी जलविद्युत् आयोजनाको जलाशयमा खसालिनेछ । यसका लागि रोल्वालिङ खोलामा सानो आकारको डाइभर्सन बाँध, इन्टेक र करिब ६ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माण गर्नुपर्नेछ । सुरुङबाट निस्किएको पानीलाई २ सय २० मिटर लामो हेडरेस सुरुङबाट रोल्वालिङ जलविद्युत् आयोजनाको पावर हाउसमा पुर्‍याइनेछ । आयोजनाको भूमिगत पावरहाउसमा ठाडो सुरुङ (पेनस्टक) मार्फत पानी खसाली टर्बाइन चलाउने गरी डिजाइन गर्न लागिएको छ । उक्त पावरहाउसमा विद्युत् उत्पादनका २ वटा युनिट रहनेछन् ।

लगानीका कारण तामाकोसी र रोल्वालिङ एकैसाथ सुरु गर्न सकिएन 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना बनाउन ठूलो लगानी चाहिएको छ । एउटै कम्पनीले २२ मेगावाटको रोल्वालिङ पनि बनाउँदा कम्पनीसँग स्वपुँजी अभाव भयो । माथिल्लो तामाकोसीले उत्पादन सुरु गरेपछि हामीलाई उक्त आयोजनाबाट स्वपुँजी प्राप्त हुँदै जान्छ । बाँकी लगानीका लागि बैंकसँग ऋण लिन सक्ने अवस्था पनि बन्छ । तामाकोसी सञ्चालनमा आएपछि ऋण दिन बैंकका लागि पनि एउटा बलियो आधार तयार हुन्छ । त्यसो हुँदा माथिल्लो तामाकोसी र रोल्वालिङ एकसाथ सुरु गर्न नसकिएको हो ।

अपर तामाकोसीको पूर्ण क्षमता समय बढ्ने 
माथिल्लो तामाकोसी क्यू ३२ मा डिजाइन गरिएको पिकिङ रन अफ रिभर (पिआरओआर–अर्धजलाशययुक्त) आयोजना हो । यो आयोजनाले ३ सय ६५ दिनको ३२ प्रतिशत दिन (११६ दिन) चौबिसै घन्टा ४ सय ५६ मेगावाट उत्पादन गर्न सक्छ । ‘जुन, जुलाई, सेप्टेम्बर र अक्टोबरमा आयोजनाबाट पूर्ण क्षमतामै उत्पादन हुन्छ,’ अपर तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने, ‘त्यसपछि आयोजनाको उत्पादन दैनिक २० घन्टा, १६ घन्टा, १० घन्टा हुँदै फेब्रुअरीमा (सुक्खा मौसम) दैनिक ४.६ घन्टासम्म मात्रै पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ ।’ रोल्वालिङबाट ल्याइने १३ क्युमेक्स पानीको सहयोगले सुक्खा याममा घट्ने उत्पादनलाई बढाउन सहयोग पु¥याउँछ । सबैभन्दा कम उत्पादन हुने सुक्खा मौसममा पनि रोल्वालिङको थप पानीले मात्र दैनिक १.२ घन्टा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्न सघाउँछ । यसरी सुक्खा मौसमको कुल उत्पादन कम्तीमा ४.६ बाट बढेर ५.८ घन्टासम्म पूर्ण क्षमता पुर्‍याउन सकिन्छ । रोल्वालिङको पानी तामाकोसीमा मिसाउँदा वार्षिक २ सय गिगावाट आवर थप ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा तामाकोसीको वार्षिक ऊर्जा उत्पादन २४ सय ८१ गिगावाट आवर पुग्नेछ । समग्रमा रोल्वालिङले आफ्नै र तामाकोसीमा बढाउने कुल वार्षिक इनर्जी ३ सय १८ गिवावाट आवर हुन्छ । २२ मेगावाटको रोल्वालिङ आयोजनाबाट मात्रै वार्षिक १ सय १८ गिगावाट आवर इनर्जी उत्पादन गर्छ ।

पहुँच मार्ग नहुँदा रोपवे र हेलिकोप्टरकै भर     
रोल्वालिङ आयोजनाको पावरहाउस माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलभन्दा तल्लो तटमा निर्माण हुनेछ । उक्त पावरहाउसस्थलमा जान पहुँचमार्गको समस्या छैन । तर, आयोजनाको बाँधस्थल तथा सुरुङको प्रवेशस्थल (इन्टेक) भने तामाकोसीको पावरहाउस रहेको स्थानभन्दा ७ किलोमिटर माथि छ । आयोजनास्थल दोलखाको गोगरबाट लामाबगर हुँदै ७ घन्टाको पैदल दूरीमा पुग्न सकिन्छ । सो क्षेत्र गौरीशंकर संरक्षित क्षेत्रभित्र पर्ने भएकाले मोटरबाटो बनाउन समस्या भइरहेको कम्पनीले जनाएको छ । एक किलोमिटर मोटरबाटो र बाँकी स्थानमा रोपवेमार्फत सामान लैजान सकिने विकल्पबारे आयोजनाले अध्ययन गरिरहेको छ । ‘मोटरबाटो बनाइरहनु र निर्माण गरिरहनुभन्दा रोपवे र ठूला सामान हेलिकोप्टरमार्फत लैजाँदा सस्तो पर्ने देखिन्छ,’ तामाकोसीका प्रवक्ता न्यौपानेले भने ।

 

स्रोत:नयाँपत्रीका