Kulekhani III period extended by nine month

    1161

    कुलेखानी तेस्रो को म्याद ९ महिना थप

    Kulekhani-powerhouse हेटौंडा, फाल्गुन ६ – स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको म्याद फेरि ९ महिना थपिएको छ । निर्माण कार्य चालू आर्थिक वर्षभित्र सक्नुपर्ने गरी निर्माण कम्पनीलाई थप म्याद दिइएको हो । प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले आगामी जुलाई २० तारेखसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।’निर्माण कम्पनीले १ वर्षभन्दा वढी म्याद थप गर्न प्राधिकरणसँग माग गर्दै आएको थियो । परामर्शदाता र आयोजनाको रायअनुसार ९ महिना म्याद थप गरेका हौं,’ बोर्डका एक सदस्यले भने, ‘अहिलेको जसरी काम भयो भने असार मसान्तमै सकिन्छ ।’ कुलेखानी ३ का आयोजना प्रमुख मधुसुदनप्रताप मल्लले ९ महिना म्याद थप गर्न गत असोजमा प्राधिकरणमा सिफारिस गरेका थिए । सिफारिसपश्चात प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आयोजना स्थलगत अध्ययन गरेका थिए ।

    आयोजना २०६८ पुसमा सञ्चालनमा आउनुपर्ने थियो । उक्त अवधिमा नसकिएपछि सिभिल वर्कका ठेकेदार सिनो हाइड्रो कर्पोरेसनले थप ३० महिना समय पाएको थियो । थपिएको समय गत असोज ५ मै सकिएको छ । तोकिएको सयममा सिनो हाइड्रो र इलेक्ट्रोमेकानिकलले निर्माण सम्पन्न नगरेपछि म्याद थप गर्न आग्रह गर्दै आएका थिए । कमजोर भूवनोटका कारण आयोजनाको ‘इन्क्लाइन्ड साफ्ट’ खन्ने क्रममा सुरुङ भत्किएर पुरिएको भन्दै सिनो हाइड्रोले निर्माण अवधि थप गर्न माग गरेको थियो । भत्किएको इन्क्लाइन्ड साफ्ट खनिसक्न अब २० मिटर मात्र बाँकी छ ।

    सिभिल र इलेक्ट्रोमेकानिकलको काम तीव्र गतिमा अगाडि बढेको बोर्डका सदस्य लक्ष्मण अग्रवालले बताए । ‘कुलेखानी तेस्राेबाट असारसम्ममा विद्युत् उत्पादन हुनेछ,’ उनले भने । प्राधिकरणले सम्झौताअनुसार इलेक्ट्रोमेकानिकल काम नगर्ने ठेकेदार कम्पनी जेजियाङ जिन्लुङबाट लिक्विडेटेड ड्यामेजको क्षतिपूर्तिबापत दैनिक ४ लाख रुपैयाँ क्षातिपूर्ति लिइरहेको छ । हालसम्म लिक्विडेटेड ड्यामेजबापत २ करोड रुपैयाँ उक्त कम्पनीले तिरिसकेको आयोजनाले जनाएको छ । ठेक्का सम्झौताअनुसार लिक्विडेटेड ड्यामेजबापत ठेक्का रकमको १० प्रतिशतसम्म क्षतिपूर्ति लिन सकिन्छ ।

    ड्यामेजबापत रकम लिन थालेपछि इलेक्ट्रोमेकानिकल कम्पनीले युद्धस्तरका काम गरिरहेको छ । कुलेखानी तेस्रो १४ मेगावाट जलाशय बनाउन नपर्ने ‘क्यास्केड प्रोजेक्ट’ हो । तोकिएको समयमा निर्माण सम्पन्न नभएकाले आयोजनाको लागत बढेको छ । कुलेखानी ३ को सुरु निर्माण लागत २ अर्ब ४३ करोड अर्थात प्रतिमेगावाट १७ करोड ३६ लाख रुपैयाँ थियो ।

    अहिले यसको लागत बढेर ४ अर्ब २२ करोड अर्थात प्रतिमेगावाट ३० करोड रुपैयाँ पुगेको छ । सिभिलतर्फको निर्माण ९० प्रतिशत सकिएको छ । हाइड्रो इलेक्टोमेकानिकलतर्फको भने ७५ प्रतिशत मात्र सकिएको छ ।

    Source : eKantipur