कागजमै सीमित विद्युत् आयोजना

    1632

    भाद्र १०, २०७४- टक्सारस्थित खोलामा २.५ मेगावाटको तल्लो पिखुवा जलविद्युत् आयोजना निर्माण सुरु भएको ७ वर्ष बित्यो । विद्युत् विकास विभागबाट ०६७ चैतमा इस्टर्न हाइड्रोपावर कम्पनीले उत्पादन अनुमति लिएको थियो । पूर्वी अरुण गाउँपालिका याकुका स्थानीय अम्बिका ढकाल उक्त आयोजना निर्माण समितिका अध्यक्ष थिए । कम्पनीभित्र लगानी विवादले केही समय निर्माण कार्यले गति लिएन । ढकालले समिति छाडे र उक्त आयोजनाकै तलतिर ८ मेगावाटको टक्सार पिखुवा हाइड्रोपावर दर्ता गरे ।

    विद्युत् विकासले ०७६ मा सम्पन्न गर्ने गरी ०७३ असारबाट उत्पादन गर्ने अनुमति दिएको छ । अनुमति पाएको वर्ष दिन बिते पनि निर्माण थाल्ने सुरसार छैन । इस्टर्नले २.५ मेगावाटलाई गत वर्षदेखि ५.५ मा अपग्रेड गरेर काम थाले पनि सुस्त छ ।

    आयोजना सम्पन्न गर्ने सम्झौताको मिति छोटिँदै गएको छ । अब चाँडै आयोजना निर्माण थाल्ने ढकालले जनाए । हालसम्म लगानीको जोहो नहुँदा समस्या भएको ढकाल बताउँछन् । यो जलविद्युत् १ अर्ब ६० करोड रुपैयाँको योजना हो । राष्ट्रिय वाणिज्य बैंकलगायतबाट ७० प्रतिशत रकमको सम्झौता भए पनि बाँकी ३० प्रतिशत प्रवद्र्धनात्मक सेयरबाट जुटाउनुपर्ने बाध्यता छ । प्रवद्र्धनात्मकको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीय र बाँकी २० प्रतिशत डेभलोपरले व्यवस्थापन गर्नुपर्छ । असोज मसान्तसम्ममा लगानी जुटाइसकेर संरचना निर्माणका काम थाल्ने ढकालले बताए । विद्युत् उत्पादन भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोड्नेबारे टुंगो नलागेका कारण ढिलाइ भएको उनले सुनाए । ‘हामीले त उत्पादन गरौंला तर भोजपुर सबस्टेसनमा जोड्ने या कोसी करिडोरमा जोड्ने निश्चित नभएकाले काम थाल्न अलमल भएको हो,’ उनले भने ।

    यस खोलामा यी आयोजनाको माथितिर थप दुई योजना छन् । तिम्मा, छिनामखु र गुप्तेश्वरमा पर्ने माथिल्लो पिखुवा निजी कम्पनी सुम्निमा हाइड्रोपावरले २ मेगावाटको आयोजना सर्भेका लागि विद्युत् विकासबाट ०७३ मंसिरमा सर्भेक्षण अनुमति पाएको छ । यसैगरी ३.३ मेगावाटको आयोजनाका लागि पिखुवा पशुपति हाइड्रोपावरले लाइसेन्सका लागि आवेदन दिएको छ । कागजी प्रक्रिया पुरा गरे पनि विभिन्न बहानामा आयोजनाको निर्माण सम्पन्न नगर्ने क्रम बढ्दो छ ।

    उत्तरी षडानन्द र साल्पासिलिछोमा चिर्खुवा र इर्खुवा खोलामा वर्षौंदेखि दर्ता भएका आयोजनाको पनि हालत उस्तै छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना कोसी करिडोर नबन्दा सुरु हुन नसकेको बताउँछन्, आयोजना निर्माण कम्पनी । चिर्खुवा खोलामा तल्लो र माथिल्लो गरी दुई आयोजना छन् । माथिल्लो ४.७ मेगावटले ०७३ मंसिर र तल्लो ४ मेगावाटले ०७३ फागुनमा विद्युत् विकासबाट सर्भेक्षण सकेर उत्पादनका लागि अनुमति पाइसकेका छन् । दुवै आयोजना ०७६ सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता छ । यी आयोजना १ अर्ब ६२ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेका छन् । विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको एक वर्ष बिते पनि लगानी व्यवस्थापन गर्न नसक्दा निर्माणका काम थाल्न नसकेको कम्पनीका गणेश बुढाथोकीले बताए ।

    यसैगरी इर्खुवा खोलामा ५ आयोजना छन् । सिस्नेदेखि गोथेबजारसम्म फैलिएको १५.५ मेगावाटको इर्खुवा ‘बी’ दर्ता भएको दशकांै बितेको छ । सम्भाव्यता तथा सर्वेक्षण अध्ययन सकेर गत वैशाख महिनामा विद्युत् विकासमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ । बराह मल्टिपावर कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ लगानीमा उक्त आयोजना निर्माण गर्न लागेको हो । चौकीडाँडाका स्थानीयले उपभोग गर्दै आएको २८ किलोवाटको लघुजलविद्युत्मा असर पुग्ने गरी सर्भे गरेपछि विवादित भएको छ । असर नपर्ने गरी आयोजना सञ्चालन गर्ने सहमति भएपछि उत्पादन अनुमतिका लागि आवेदन दिएको मल्टिपावरका दीपेन्द्र भण्डारीले बताए ।

    इर्खुवाकै सिस्ने खोलादेखि अरुण नदीसम्म फैलिएको १४ मेगावाटको तल्लो इर्खुवाले ०६९ मा सर्भेका लागि अनुमति लिएको हो । तल्लो इर्खुवा हाइड्रोपावर कम्पनी प्रालिका कुमार पाण्डेका अनुसार सर्भेक्षण सकिएकाले असार २५ देखि उत्पादन अनुमतिका लागि आवेदन दिएको जनाए । ‘करिडोरअन्तर्गत संखुवासभा, तुम्लिङटारको २ सय २० केभीको मेनग्रिडमा जोड्नुपर्नेछ,’ उनले भने, ‘तर, मेनग्रिड निर्माणकै क्रममा रहेकाले निर्माणका अन्योलता रहेको छ ।’

    गोथेबजारदेखि दोभानेसम्म माथिल्लो इर्खुवा १४.५ मेगावाटको आयोजनाका लागि आरती पावर कम्पनी लिमिटेडले ०७३ मा सर्वेक्षणको अनुमति पाएको थियो । सम्भाव्यता अध्ययन प्रतिवेदन सकेर पीपीएका लागि विद्युत् प्राधिकरणमा पठाएको आरती कम्पनीका प्रकाश दुलालले बताए । उक्त आयोजना कोसी करिडोरकै संखुवासभा, सिटलपाटीस्थित १ सय ३२ केभी ग्रिडलाइनमा जोड्नुपर्ने हुन्छ । प्रसारण लाइनसम्म पुर्‍याउनका लागि कम्पनी आफंैले ८ किलोमिटर जोड्ने सम्झौता भएको छ ।

    मंसिरसम्ममा पीपीए सम्पन्न हुने ग्रिड कनेक्सन तथा वातावरणीय प्रभाव मूल्यांकन (आईई) का लागि प्रक्रिया अगाडि बढाउने उनले जनाए । अन्य आयोजनाको तुलनामा यसको काम केही अगाडि रहेको छ ।

    स्रोत : कान्तिपुर