वर्षा सुरु भएपछि बढ्यो विद्युत् उत्पादन

    3177

    पानी पर्न थालेपछि जिल्लाका विद्युत्गृहमा विद्युत् उत्पादन बढेको छ । जेठको दोस्रो सातादेखि वर्षा भएपछि र हिउँ पग्लन थालेपछि देउपुरस्थित मोदीखोला जलविद्युत् केन्द्र र चुवास्थित तल्लो मोदीखोला–१ जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन बढेको हो ।

    अहिले मोदीखोला जलविद्युत् केन्द्रमा १० मेगावाट र तल्लो मोदीखोला—१ जलविद्युत् आयोजनामा ८ मेगावाट विद्युत् उत्पादन भइरहेको जलविद्युत् केन्द्रहरूले जनाएका छन् । केही दिनयता वर्षा भएको र हिउँ पग्लन थालेकाले खोलामा पानीको सतहसमेत बढेको छ । देउपुरस्थित १४ दशमलव ८ मेगावाट क्षमताको केन्द्रमा अहिले ११ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ । ‘एक साताअघि करिब ८ मेगावाट मात्र उत्पादन हुन्थ्यो,’ केन्द्रका प्रमुख तारादत्त भट्टले बताए । प्रमुख दत्तका अनुसार बिहान–दिउँसो ९ मेगावाट र बेलुका ११ मेगावाटसम्म उत्पादन हुने गरेको छ ।

    यसैगरी चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनामा पनि ९ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ । वर्षा र हिउँ पग्लेका कारण विद्युत् उत्पादन बढेको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका निर्देशक उपेन्द्र गौतमले बताए ।

    निर्देशक पौडेलका अनुसार एक साताअघि ४ मेगावाटसम्म मात्रै उत्पादन हुँदै आएको थियो । ‘हिउँदमा पानीको बहाव कम हुने भएकाले एउटा मात्र टर्वाइनले काम गर्ने र वर्षायाम सुरु भएपछि दुईटै टर्वाइन चल्ने भएकाले पनि विद्युत् उत्पादन बढ्छ,’ निर्देशक गौतमले भने ।

    गत वर्षको साउनमा आएको बाढीले क्षतिग्रस्त भएको तल्लो मोदी–१ को मर्मत सकिएको छ । त्यसैगरी देउपुरमा रहेको १ मेगावाट क्षमताको पातीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन बढेको छ । खोलामा पानीको बहाव बढेकाले उत्पादनमा सुधार आएको आयोजनाले जनाएको छ ।

    @ राजधानी